विलियम सेक्सपिएरको जीवनमा बाइबलको औधी प्रभाव परेको थियो

विलियम सेक्सपिएर अङ्ग्रेज कवि, नाटककार र अभिनेता थिए । तिनलाई अङ्ग्रेजी भाषामा महान्‌तम लेखकको रूपमा आदर गरिन्छ । ५२ वर्षको आफ्नो जीवन कालमा सेक्सपिएरले साहित्यिक सङ्ग्रह नै तयार पारे जसमा तिनले ३७ ओटा नाटक, ६ ओटा कविता र १५४ ओटा सोनेट (चौध हरफको कविता) तयार पारे । तिनका नाटकहरू हरेक मुख्य भाषामा अनुवाद गरिएका छन् र कतिपय रचनाहरू नेपालीमा पनि आइपुगिसकेका छन् ।

ख्रिस्टाब्द १५६४ मा इङ्गल्यान्डमा जन्मेका सेक्सपिएरले आफ्ना अधिकांश कृतिहरू १५८९-१६१३ को बिचमा प्रकाशित गरेका थिए । आज पनि तिनका नाटकहरू अत्यधिक लोकप्रिय छन् र ती निरन्तर रूपमा अध्ययन गरिनुका अतिरिक्त संसारभरि नै विविध सांस्कृतिक र राजनीतिक सन्दर्भद्वारा तिनको अर्थ खोलिएका छन् । अङ्ग्रेजी नाट्य सम्राट्‌को रूपमा ख्याति कमाएका सेक्सपिएरलाई १५६४ मा बप्‍तिस्मा दिइएको थियो । अक्सर इङ्गल्यान्डको राष्‍ट्रकविको रूपमा चिनिएका तिनका रचनाहरूमा बाइबलबाट उद्धृत गरिएका लगभग आठ सयवटा भनाइ छन् । तिनका नाटकहरूले कुनै न कुनै रूपमा बाइबलका पुरानो र नयाँ करारका प्रायः हरेक पुस्तकको प्रतिनिधित्व गर्छन् । तिनी बाइबलसित परिचित थिए । तिनले आफ्ना नाटकहरूमा बाइबलका सन्दर्भहरूलाई आकस्मिक रूपमा मात्र उल्लेख गरेका छैनन्, तर तिनका नाटकहरू बाइबलीय विषयवस्तुहरूले ओतप्रोत छन् । केही लेखकहरूको भनाइअनुसार तिनको जीवनलाई आकार दिन बाइबल धर्मशास्‍त्र नै प्रभावकारी बनेको थियो ।

सेक्सपिएर ख्रीष्‍टियान थिए भन्ने कुरामा कुनै आशङ्का नभए तापनि तिनी प्रोटेस्टेन्ट थिए कि क्याथोलिक थिए भन्ने विषयचाहिँ विवादको घेरामा परेको छ । तिनको मृत्यु भएको साल अर्थात् १६१६ मा लिखित तिनको इच्छापत्रको भाषालाई विश्‍लेषण गर्दा तिनी प्रोटेस्टेन्ट ख्रीष्‍टियान थिए भन्ने मतमा बल पुग्छ जस्तो देखिन्छ । तिनले लेखेका छन्, “परमेश्‍वरको नाउँमा, आमेन । म विलियम सेक्सपिएर … सिद्ध स्वास्थ्य र स्मरणशक्तिमा … तलको ढाँचा र स्वरूपमा यो मेरो अन्तिम इच्छा र भनाइलाई व्यक्त गर्दै छु । मेरो भनाइको मतलब यही हो, कि मेरा मुक्तिदाता येशू ख्रीष्‍टको कामद्वारा अनन्त जीवनको भागिदार बन्ने आशा राख्दै र निश्‍चयतासाथ विश्‍वास गर्दै म मेरो आत्मा मेरा सृष्‍टिकर्ता परमेश्‍वरको हातमा सुम्पन्छु र मेरो शरीरलाई माटोमा नै सुम्पन्छु जसबाट यो बनेको थियो ।”

Facebook Comments

Powered by Youth Circle