येशू मेरा चङ्गाइकर्ता पनि हुनुहुन्छ— कोरोनामाथि विजय प्राप्त पास्टर

युनाइटेड किङ्गडमलाई युके वा ब्रिटेन पनि भनिन्छ । इङ्गल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आएरल्यान्ड मिलेर बनेको यो राज्य युरोपको मुख्य भूभागबाट उत्तर-पश्चिममा अवस्थित छ । यहाँ अनुमानित ६ करोड ७८ लाख जनसङ्ख्यामध्ये ६०% ख्रीष्टियान छन् ।[i]

कोरोना भाइरस (कोभिड-१९) प्रभावित मुलुकहरूको सूचीमा युके आठौँ स्थानमा छ ।[ii] यहाँ हालसम्म ३८,१६८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने ३,६०५ जनाको निधन भइसकेको छ । १३५ जना निको भएका छन् ।[iii] निको हुनेहरूको सूचीमा एक जना पास्टरको गवाही घतलाग्दो छ ।

तिनको नाउँ हो, मार्क म्याकक्लर्ग । तिनी उत्तरी आएरल्यान्डस्थित न्युटाउनवार्ड्स एलिम चर्चका पास्टर हुन् । ४० वर्षका तिनी तीन सन्तानका पिता हुन् ।

खोकी नलागे तापनि पास्टर मार्कलाई श्वासप्रश्वासमा समस्या देखियो । आफ्नो सामुदायिक नर्सलाई सम्पर्क गरेपछि उनको सल्लाहअनुसार तिनी अस्पताल भर्ना भए । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि तिनी आईसीयुमा भर्ना भए ।

२५ मार्चमा पास्टरले आफ्नो ट्विटरमा लेखे, “मलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । आईसीयुमा मेरो जीवनको लागि सङ्घर्ष गर्दै मैले गत हप्ता बिताएको छु । यो कति घातक र खतरनाक छ भन्ने बारेमा म आफ्नो व्यक्तिगत भिडियो सेएर गर्न चाहन्थेँ ।”[iv] यसै सन्देशसँगै पास्टर मार्कले आफ्नो भिडियो पनि पोस्ट गरेका थिए ।[v] भाइरल बनेको पास्टरको भिडियोमा तिनले हरेकलाई घरमै बसी सरकारको सल्लाह मान्न बिन्तीसमेत गरेका छन् ।

मण्डली परिवारको प्रेम र प्रार्थनाको लागि तिनीहरूलाई धन्यवाद दिएपछि पास्टरले येशू चङ्गाइकर्ता हुनुहुन्छ भनी घोषणा गरेका छन् । “गत हप्ता मलाई मन परेको कुरोचाहिँ यही हो कि मेरो मण्डली परिवारले मेरो लागि प्रार्थना गर्दै आएको छ । तपाईंहरूका प्रार्थनाको लागि धेरै-धेरै धन्यवाद छ,” पास्टरले जारी राखेका छन्, “म येशूको हुँ; म येशूमा विश्वास गर्दछु; म येशूलाई प्रेम गर्दछु । ठिक अहिले म सबै महिमा उहाँलाई दिन्छु । प्रभु येशू ख्रीष्ट मेरा मुक्तिदाता मात्र हुनुहुन्न तर मेरा चङ्गाइकर्ता पनि हुनुहुन्छ । उहाँ वास्तविक हुनुहुन्छ ।”[vi]

अस्पतालमा आफ्नो जीवनको लागि सङ्घर्ष गरिरहँदा पनि पास्टर मार्कले आफ्ना शुभचिन्तकहरूलाई आशाको सन्देश दिन भ्याए । भिडियोमा तिनले यशैया २६:२० उद्धृत गरेका थिए, “हे मेरा मानिस हो, जाओ, तिमीहरू आफ्‍ना कोठाहरूमा पसेर ढोकाहरू थुन । उहाँको क्रोध शान्‍त नहोउञ्‍जेल, केही क्षणको निम्‍ति लुकिबस ।”

अन्तत: पास्टर मार्कले कोरोना भाइरसमाथि जित हासिल गरे र तिनी अस्पतालबाट डिस्चार्ज भए । २९ मार्चमा तिनले ट्विट गरे, “मसँग उदेकको खबर छ । म उल्स्टर अस्पतालबाट आउँदै छु । प्रार्थनाको लागि म हरेकलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । मेरो जीवन बचाएकोमा उल्स्टर अस्पतालका कर्मचारीहरूलाई म धन्यवाद दिन चाहन्छु । जीवनमा रमाउन म उत्सुकतापूर्वक प्रतीक्षा गर्दै छु । कोरोना भाइरसमाथि विजय हासिल गरियो । दयालु हुनुहोस् । येशू मेरा चङ्गाइकर्ता हुनुहुन्छ ।”[vii]

 

सन्दर्भ स्रोतहरू:

[i]   https://en.wikipedia.org/wiki/United_Kingdom Accessed on 4 April 2020

[ii]   https://www.worldometers.info/coronavirus/#countries Accessed on 4 April 2020

[iii] https://www.worldometers.info/coronavirus/country/uk/ Accessed on 4 April 2020

[iv] https://twitter.com/Mark_McClurg/status/1242738582596575232 Accessed on 4 April 2020

[v]   Ibid.

[vi] https://godtv.com/uk-pastor-battling-covid-19/ Accessed on 4 April 2020

[vii] https://twitter.com/Mark_McClurg/status/1244309375713411074 Accessed on 4 April 2020

Facebook Comments

Powered by Youth Circle