परमेश्वर मेरो साथमा हुनुहुन्थ्यो— कोरोनामाथि विजय प्राप्त ९० वर्षीया वृद्धा

वासिङ्गटन उत्तर-पश्चिममा अवस्थित एउटा अमेरिकी राज्य हो । प्रथम राष्ट्रपति जर्ज वासिङ्गटनको सम्मानमा यो राज्यको नाउँ वासिङ्गटन राखिएको हो । राजधानी वासिङ्गटन डी. सी. सित नझुक्कियोस् भन्नाका लागि यसलाई अक्सर वासिङ्गटन राज्य पनि भनिन्छ । भूगोलको आधारमा अमेरिकाको अठारौँ ठुलो राज्य वासिङ्गटनको जनसङ्ख्या ७६ लाख रहेको छ ।[i]

कोरोना सङ्क्रमणको दृष्टिकोणबाट वासिङ्गटन दसौँ स्थानमा रहेको छ र यहाँ हालसम्म ६,५८५ जना सङ्क्रमणमा परेका छन् भने २७२ जनाले ज्यान गुमाइसकेका छन् ।[ii]

यही राज्यमा कोरोनो भाइरसमाथि विजय हासिल गरेकी ९० वर्षीया वृद्धाले भने विस्मयकारी गवाही दिएकी छन् । उनले आफ्नो स्वास्थ्यलाभको श्रेय परमेश्वरलाई दिएकी छन् ।

उनको नाउँ हो, जेनेभा वुड । उनलाई स्ट्रोक भएकोले लाइफ केएर सेन्टरमा भर्ना गरियो । निको भएर घर जाने दिन आउँदै गर्दा उनमा ज्वरो देखियो । जाँच गर्दा पुष्टि भयो कि उनलाई कोरोना भारइस (कोभिड-१९) को सङ्क्रमण भइसकेको रहेछ । “ममा भाइरस नभएसम्म ममा भाइरस थियो भन्ने कुरो मलाई थाहै थिएन । ममा पहिले यसको कुनै लक्षण देखिएको थिएन,” ९० वर्षीया वुडले भनिन् ।

वुडका अनुसार उनको स्वास्थ्यलाभमा उनको विश्वासले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेको छ । परमेश्वरमाथि उनको विश्वास, परिवारसाथै परिवारका सदस्यहरूको प्रार्थना अनि मण्डलीको प्रार्थनाले उनलाई बाहिर ल्याउन उत्तिकै भूमिका खेलेको छ ।

वुड आइसोलेसनमा एकलै भए तापनि परमेश्वर उनको साथमा हुनुहुन्थ्यो भनी उनले गवाही दिइन् । एक रात उनलाई लाग्यो कि उनी बाँच्ने थिइनन् । उनले याद गरेकी छन्, “म परमेश्वरको उपस्थितिको महसुस गर्न सक्थेँ । उहाँका हात मेरो शरीरमाथि थिए । … म उहाँको अनुहार देख्न सक्दिनथेँ तर मलाई उहाँका हातको महसुस भएको थियो र उहाँ मसित हुनुहुन्थ्यो भनी मलाई थाहा थियो ।”

वुडले एक जना विशेष डाक्टरको पनि सम्झना गरेकी छन् । ती डाक्टरले उनलाई एउटा बाइबल ल्याइदिए र हरेक दिन तिनले वृद्धालाई मनपर्ने खण्डहरू पढेर सुनाउँथे ।

वुडको परिवारले उनको स्वास्थ्यलाभलाई “आश्चर्यपूर्ण” भनेको छ । अस्पतालमा भर्ना भएको १९ दिनपश्चात् कोरोना भाइरसमाथि विजय हासिल गरी उनी घर जान सफल भइन् । यस भाइरसको विरुद्धमा सङ्घर्ष गरिरहेको हरेक व्यक्तिलाई उनको सुझाव छ, “आश नमार्नुहोस् । परमेश्वर सधैँ यहीँ हुनुहुन्छ र आफ्नो भरोसा उहाँमाथि राख्नुहोस् । उहाँमा आड लाग्नुहोस् र आफ्नो जीवन उहाँलाई सुम्पनुहोस् । त्यसपछि तपाईंले पनि विजय हासिल गर्नुहुने छ, तर आशा र सङ्घर्षलाई भने नत्याग्नुहोस् ।”[iii]

“तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ । तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्‌, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌ । तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌” (यशैया ४०:३१) ।

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/Washington_(state) Accessed 03 April 2020

[ii] https://www.worldometers.info/coronavirus/country/us/ Accessed 03 April 2020

[iii] https://www1.cbn.com/cbnnews/us/2020/april/i-was-never-alone-he-was-with-me-all-the-time-90-year-old-woman-beats-covid-19-credits-god?fbclid=IwAR2zvyjIrNcaWhzOYEBq7F4HvrQXbBUN4qWbd6m3G_fvQ57UXX7atzfxwck Accessed 03 April 2020

Facebook Comments

Powered by Youth Circle