कोरोनाको कारण हजारौँ भोकाएकाहरूलाई खुवाउन चर्चले ढोका खोल्यो

येशू यस धरतीमा हुनुहुँदा उहाँले भन्नुभयो, “‘किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ । म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियौ । म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियौ । नाङ्गै थिएँ, तिमीहरूले मलाई वस्त्र लगाइदियौ । बिरामी थिएँ, तिमीहरू मलाई हेर्न आयौ । झ्यालखानमा थिएँ, तिमीहरू मकहाँ आयौ ।’ तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्‌, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्‍यौं, र खान दियौं ? अथवा तिर्खाउनुभएको देख्‍यौं, र पिउन दियौं ? कहिले हामीले तपाईंलाई परदेशी देख्‍यौं, र तपाईंलाई आश्रय दियौं ? अथवा नाङ्गो देख्‍यौं र वस्‍त्र लगाइदियौं ? र कहिले हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंकहाँ आयौं ?’ तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्‍नेछन्‌, साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यी मेरा भाइहरूमध्‍ये सबैभन्‍दा सानामा एक जनालाई जे-जति गर्‍यौ, त्‍यो तिमीहरूले मलाई नै गर्‍यौ’“(मत्ती २५:३५–४०) । कोरोना कहरको बिचमा आज लस एन्जलसस्थित चर्चले येशूको वचनलाई जीवनमा उतारेको छ ।

अमेरिकाको पश्चिममा अवस्थित एउटा राज्यको नाउँ हो, क्यालिफोर्निया । नेपालभन्दा झन्डै तीन गुणा ठुलो यो अमेरिकाकै तेस्रो ठुलो राज्य हो । यहाँ लगभग चार करोड जनसङ्ख्या रहेको छ ।[i]

अमेरिकाका ५० ओटा राज्यमध्ये क्यालिफोर्निया कोरोना सङ्क्रमणको दृष्टिकोणबाट तेस्रोमा परेको छ । हालसम्म सबैभन्दा प्रभावित राज्य न्युयोर्क हो भने दोस्रोमा न्यु जर्सीको नाउँ आउँछ । क्यालिफोर्नियामा हालसम्म ८,५४८ जना कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने १८१ जनाको मृत्यु भइसकेको छ ।[ii]

लस एन्जलस क्यालिफोर्निया राज्यकै सबैभन्दा बाक्लो आबादी भएको सहर हो जुन सहरमा एङ्गेलुस टेम्पल नाउँ गरेको एउटा मेगाचर्च छ ।[iii] कोरोना भाइरसको फैलावटको कारण यस चर्चले आफ्ना सबै सार्वजनिक सेवा बन्द गरेको छ । तर मण्डली निष्क्रिय भएर बसेको छैन । मण्डलीका मान्छेहरूले आफ्नो क्षेत्रका भोकाएकाहरूलाई खुवाउन तत्परता देखाएको छ ।

कोरोना कहरले धेरै सङ्घ-संस्था बन्द गरिदिएको छ । कैयौँले आफ्ना रोजगारी गुमाउन पुगेका छन् । सुरक्षाको कारण स्कुलसाथै रेस्टुरेन्टहरू बन्द गरिएका छन् । परिणामस्वरूप कैयौँको दैनिक गुजारा चल्न पनि हम्मेहम्मे भएको अवस्था सृजना भएको छ । यो नेपालको तस्बिर मात्र होइन, अमेरिकाको पनि हो ।

लस एन्जलसस्थित मेगाचर्चले सुरक्षाको कारण मात्र आफ्ना सेवाहरू बन्द गरेको होइन, तर यस्तो विषम परिस्थितिमा अरूहरूको सहायतामा ध्यान केन्द्रित गर्नलाई पनि हो । चर्चका पास्टर मेथ्यु बर्नेटका अनुसार तिनको मण्डली यस बेला खाँचोमा परेकाहरूलाई सहायता गर्न सक्रिय छ ।

तिनीहरूले भोकाएका परिवारहरूलाई खाना उपलब्ध गराएका छन् । बिहान ७:३० देखि बेलुका ६:३० सम्म तिनीहरूले सेवाको ढोका खुला गरेका छन् । मण्डलीद्वारा सञ्चालित ड्रिम सेन्टर नामक मुनाफारहित संस्थाले दैनिक सरदर ५,००० खाना वितरण गर्नुका अतिरिक्त तिनीहरूले व्यक्तिगत रूपमा भेटघाट गर्ने वृद्धवृद्धालाई पनि १५० ओटा प्याकिङ्ग खाना उपलब्ध गराएका छन् । मानिसहरूले दिएका चन्दा मात्र यसको लागि खर्च गरिएको छैन, तर मण्डलीमा सङ्कलित रुपियाँ-पैसा पनि यस्तो अवस्था प्रयोग गरिएको हो ।[iv]

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/California Accessed on 1 April 2020

[ii] https://www.worldometers.info/coronavirus/country/us/ Accessed on 1 April 2020

[iii] https://en.wikipedia.org/wiki/Angelus_Temple Accessed on 1 April 2020

[iv] https://godtv.com/los-angeles-church/ Accessed on 1 April 2020

Facebook Comments

Powered by Youth Circle