कोरोना महामारीको बिचमा विख्यात पास्टर लुकाडोको उत्साहपूर्ण सन्देश

ख्रिस्टाब्द १९५५ मा अमेरिकामा जन्मेका म्याक्स लुकाडो प्रभावशाली लेखकसाथै वक्ता हुन् । ६५ वर्षका लुकाडो अमेरिकाको टेक्सासस्थित ओक हिल्स चर्चका पास्टर हुन् ।[i] क्रिस्चियानिटी टुडे नामक पत्रिकाले तिनलाई “अमेरिकाका पास्टर” भनी सम्बोधन गरेको थियो भने रिडर्स डाइजेस्ट पत्रिकाले “अमेरिकाकै सर्वोत्कृष्ट प्रचारक” भनी उल्लेख गरेको थियो । झन्डै १०० ओटा कृति लेखिसकेका लुकाडोका पुस्तकहरू १३ करोडभन्दा बेसी छापिएका छन् ।[ii]

कोरोना भाइरसको त्रास विश्वव्यापी बनिरहँदा पास्टर लुकाडोले विश्वासकासाथ अगाडि बढी डरमाथि विजय हासिल गर्न ख्रीष्टियानहरूलाई उत्साह दिएका छन् ।

पास्टर लुकाडोले भनेका छन्, “यस्तो किसिमको समयमा हामी कहिल्यै बाँचेका छैनौँ । यो अभूतपूर्व छ । तथापि बाइबलले हामीलाई बताउँछ कि पहिले पनि अनौठा समयहरू आएका थिए । आफ्नो बाइबल खोल्नुहुँदा तपाईंले रुढी, डर, अन्धकारपूर्ण समयको बारेमा पढ्नुहुन्छ । बाइबल यस्तै समयको लागि लेखिएको हो ।”

“मेरो विचारमा यो हाम्रो विश्वासलाई तृप्त पार्ने समय हो,” परिचित पास्टरले जारी राखेका छन्, “तपाईंले आफ्नो विश्वासलाई तृप्त पार्नुभयो भने तपाईंको डर भोकभोकै मर्ने छ । तपाईंले आफ्नो डरलाई तृप्त पार्नुभयो भने तपाईंको विश्वास भोकभोकै मर्ने छ । हामीमा डरलाई तृप्त पार्ने झुकाव भए तापनि हामीले आफ्नो विश्वासलाई तृप्त पार्न जानजानी केही कुराहरू गर्नुपर्छ ।”[iii]

मिडियामा आएका नकारात्मक शीर्षकहरूले उत्पन्न गर्न सक्ने डरबाट भयभीत नभई विश्वासमा दरिलो हुन हरेक विश्वासीलाई लुकाडो उत्साह दिँदै छन् । कुनै विचार मनमा आउने बित्तिकै त्यसलाई हामीले स्वीकार गर्नैपर्छ भन्ने छैन, मिल्काउन सक्ने शक्ति हामीसँगै छ । “‘हामीले यसबाट कहिल्यै पार पाउने छैनौँ’ लगायत अन्य बढाइचढाइ गरिएका अभिव्यक्तिहरूमा ठिक अहिले थुप्रै झुट र असत्य कुराहरू बाहिर आएका छन् । त्यस्ता कुराहरूले हाम्रो हानि गर्ने भएकाले हामी तीबाट सुरक्षित हुनुपर्छ,” पास्टरले होसियार गराएका छन् ।

इभान्जलिकल पास्टर लुकाडोले प्रेरित पावलद्वारा कोरिन्थको मण्डलीलाई लिखित वचन स्मरण दिलाएका छन्, “परमेश्‍वरका ज्ञानको विरुद्धमा खडा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्‍टको आज्ञापालन गर्नलाई वशमा पार्छौं” (२ कोरिन्थी १०:५) । तिनले व्याख्या गरेका छन्, “यसको अर्थ हुन्छ कि हामी त्यो विचार सुन्छौँ अनि प्रार्थना गर्छौं, ‘मलाई थाहा छ कि परिस्थिति झन्झन् बिग्रँदै गएको देखिन्छ, तर हे प्रभु, तपाईं नियन्त्रक हुनुहुन्छ र म त्यसप्रति समर्पित हुने छैनँ । म आफ्नो डर तपाईंलाई सुम्पन्छु ।”

डर र चिन्ताले ग्रसित हुनुभन्दा परमेश्वरलाई हेर्न हरेक विश्वासीलाई लुकाडोले बिन्ती गरेका छन् । हामी परमेश्वरलाई यसो भनी सोध्न सक्छौँ, “हे प्रभु, यस सङ्कटमय परिस्थितिमा तपाईंले मलाई के भन्दै हुनुहुन्छ ?”

कठिन परिस्थिति आउँदा येशूले कसरी ५,००० मानिसलाई खुवाउनुभयो र लाजरसलाई बिउँताउनुभयो भन्ने उदाहरणहरू हेर्न पास्टर लुकाडो हामीलाई अनुरोध गर्छन् । यो विश्वव्यापी महामारीको स्रोत जोसुकै वा जेसुकै भए तापनि पास्टर लुकाडोले भनेका छन्, कि यो “हाम्रा हृदय परमप्रभुपट्टि फर्काई प्रार्थना गरिरहने समय हो ।”[iv]

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/Max_Lucado Accessed on 31 March 2020

[ii] https://en.wikipedia.org/wiki/Max_Lucado#Accomplishments Accessed on 31 March 2020

[iii] https://godtv.com/max-lucado-coronavirus-faith-over-fear-ask-god/ Accessed on 31 March 2020

[iv] https://www.christianpost.com/news/max-lucado-shares-how-to-choose-faith-over-fear-god-is-talking-to-the-world-amid-coronavirus.html Accessed on 31 March 2020

Facebook Comments

Powered by Youth Circle