क्वारेन्टाइनको बेलामा ख्रीष्टियानहरूद्वारा झ्याल-झ्यालबाट परमेश्वरको आराधना

ब्राजिल दक्षिण अमेरिकासाथै ल्याटिन अमेरिका दुवैमा सर्वाधिक ठुलो मुलुक हो ।[i] भूगोलको हिसाबले संसारकै पाँचौँ ठुलो देश ब्राजिलमा झन्डै १७ करोड अर्थात् ८९% प्रतिशत मानिस ख्रीष्टियान छन् ।[ii]

सारा दुनियाँलाई प्रभावित तुल्याइरहेको कोरोना भाइरस (कोभिड-१९) बाट ब्राजिलमा हालसम्म ४,२५६ जना सङ्क्रमित भएका छन् र १३६ जनाले ज्यान गुमाइसकेको छ भने २९६ जना गम्भीर अवस्थामा छन् । केवल ६ जना निको भएका छन् ।[iii]

नेपालीमा एउटा उखान छ, “खाने मुखलाई जुङ्गाले छेक्दैन ।” वर्तमान परिस्थितिमा यो उखान ब्राजिलका ख्रीष्टियानहरूका हकमा लागु भएको देखिन्छ । कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण धेरैभन्दा धेरै मानिसहरू घरमै नै क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् । जमघट रोकिएका छन्; व्यापार ठप्प भएका छन् र मण्डलीमा गरिने नियमित भेलाहरू पनि केही समयको लागि प्रभावित भएका छन् । तथापि ब्राजिलका ख्रीष्टियानहरूले फरक तरिकाले आराधना गरेका छन् । तिनीहरू मण्डलीमा एकै ठाउँमा भेला हुन नसके तापनि आआफ्ना घरका झ्याल-झ्यालबाट एउटै स्वरमा परमेश्वरको आराधना गरिरहेका छन् ।

वर्तमान कठिनाइको बिचमा पनि ब्राजिलका ख्रीष्टियानहरूले परमेश्वरमा आशा राखेका छन् । मारिएना वेकफिल्डद्वारा फेसबुकमा लिखित अंशबाट यो छर्लङ्ग हुन्छ, “मित्रहरू, … यसले आज बिहान मेरो हृदय भरिपूर्ण पार्‍यो । ब्राजिलले केही दिनअगि क्वारेन्टाइनको सुरुआत गर्‍यो र सामाजिक सञ्जालद्वारा सबै ब्राजिलवासीहरूले बेलुका ८ बजे आआफ्ना झ्यालमा जाने भाइरल निमन्त्रणा पायो ।”[iv]

झ्याल-झ्यालबाट आराधना गर्न निमन्त्रणा गरिएको म्यासेज भाइरल बनेको थियो जसले शक्तिशाली अवसरको सृजना गरिदियो । धेरै ख्रीष्टियानले यस निमन्त्रणालाई स्वीकार गरे । ब्राजिलका तीनवटा बेग्लाबेग्लै ठाउँमा भिडियोसमेत रेकर्ड गरिएको थियो । (भिडियो हेर्नको लागि यस लिङ्कमा जानुहोस् ।)[v]

सहभागीहरूले उहाँ जीवित हुनुहुन्छ भन्ने गीत गाएका थिए । उहाँ जीवित हुनुहुन्छ भन्ने गीतले हामीले हाम्रो भविष्य परमेश्वरको हातमा सुम्पनुपर्छ भन्ने सन्देश दिन्छ ।

सङ्कटमय घडीको बिचमा पनि ब्राजिलका ख्रीष्टियानहरूको प्रयासले यही देखाउँछ कि मण्डली कुनै भवनको चारवटा भित्तामा सीमित हुँदैन । हामी ख्रीष्टको देह भएकाले हामी नै मण्डली हौँ र परिस्थितिअनुसार हामी जुनसुकै ठाउँबाट उहाँको नाउँ उचाल्न सक्छौँ ।

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/Brazil Accessed on 30 March 2020

[ii] https://en.wikipedia.org/wiki/Religion_in_Brazil Accessed on 30 March 2020

[iii] https://www.worldometers.info/coronavirus/country/brazil/ Accessed on 30 March 2020

[iv] https://www.facebook.com/829686177/posts/10158588141406178/?d=n Accessed on 30 March 2020

[v] https://godtv.com/brazilians-worship-god-windows-quarantine/ Accessed on 30 March 2020

Facebook Comments

Powered by Youth Circle