ख्रीष्टियान संस्था सामरिटन्स पर्सद्वारा कोरोना सङ्क्रमित इटलीमा उल्लेखनीय सहयोग

कोरोना भाइरसले विश्वभरि भयाभह स्थिति सृजना गरिदिएको छ । मृत्युदरको सवालमा युरोपेली मुलुक इटली पहिलो स्थानमा छ ।  यो लेख तयार पार्दासम्म कोरोना भाइरसको कारणले गर्दा इटलीमा ४,८२५ जनाको मृत्यु भइसकेको छ भने ५३,५७८ जना सङ्क्रमित भएका छन् । इटली कोरोना भाइरसको फैलावटसित जुधिरहँदा सामरिटन्स पर्सले ६८ शैय्याको अस्थायी पाल टाँगी सङ्क्रमितहरूको सेवा गरिरहेको छ ।

सामरिटन्स पर्स मानव सेवामा समर्पित ख्रीष्टियान संस्था हो । मानिसहरूको भौतिक आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले ख्रिस्टाब्द १९७० मा स्थापित यस संस्थाका वर्तमान संस्था प्रमुख हुन्, फ्र्याङ्कलिन ग्राहम । तिनी सुसमाचार प्रचारका महानायक बिल्ली ग्राहमका छोरा हुन् ।

संस्था प्रमुख ग्राहमले भनेका छन्, “इटलीको अवस्था भयावह छ । अस्पतालहरू खचाखच छन् र मानिसहरू मरिरहेका छन् । कठिन ठाउँहरूमा सेवा पुर्‍याउन हाम्रो बोलावट भएको हो । तसर्थ विपत् व्यवस्थापनमा लागेका हाम्रा विशेषज्ञहरूको टोली अग्रपङ्क्तिमा छ । तिनीहरूले चोट भोगिरहेका मानिसहरूलाई जीवन बचाउने औषधीको सेवा गर्नुका अतिरिक्त परमेश्वरको प्रेम पनि बाँडिरहेका छन् ।”

डाक्टर, नर्स तथा अन्य विशेषज्ञहरूसँगै २० टनभन्दा बेसी औषधीसम्बन्धी सामग्रीहरू इटली पठाइएका छन् । सङ्क्रमितहरूको सङ्ख्या बढेसँगै बेडको अभाव देखिएको छ । उपचारमा खटिएका डाक्टर केली सुटरको प्रतिक्रिया छ, “मसित कुरा गर्ने प्राय: हरेक व्यक्ति आँसुले लतपतिएको छ । तिनीहरू त्यागिएका छन् । तिनीहरू सहाराविहीन छन् । तिनीहरू आश्चर्यकर्मको खोजीमा छन् र हामी यहाँ आई तिनीहरूसँग बसेर भाइरससित लड्न तयार भएकोमा तिनीहरू पूर्णत: कृतज्ञ छन् ।”[i]

 

सन्दर्भ सामग्री

[i] https://www.christianpost.com/news/samaritans-purse-opens-field-hospital-in-northern-italy-to-aid-coronavirus-patients.html?fbclid=IwAR2FrJmzTXZiBnA2ak7h2hOzzi6SYbgqZRHE56fDufZXPCQXNIbvgvqr8z4

Facebook Comments

Powered by Youth Circle