२४ मार्च १९८० को मिति थियो । साँझ बिशप ओस्कार रोमेरोले अस्पतालद्वारा सञ्चालित एउटा मण्डलीमा प्रभु-भोजको अगुवाइ गरे । आफ्नो प्रवचन सकेर तिनी वेदीको बिच भागमा गए । तिनी बोलिरहँदा मण्डलीको सडकको सामुन्ने रहेको सडकमा रातो रङको एउटा कार आएर रोकियो । बन्दुकधारी गाडिबाट निस्केर मण्डलीको ढोकातर्फ अगाडि बढे र एक वा दुई गोली प्रहार गरे । रोमेरोको छातिमा गोली लाग्यो । त्यसपछि गाडी हुइँकियो । उक्त दिन तिनको हत्यापश्चात् कसैलाई पनि अपराधको दोषी नठहराइएको भए तापनि संयुक्त राष्ट्रसङ्घद्वारा गरिएको अनुसन्धानले निष्कर्ष निकालेको थियो कि अतिवादी राजनीतिज्ञ रोबर्ट डी. अरिएट्टाले हत्या गर्ने आदेश दिएका थिए । ६ दिनपछि तिनको अन्त्येष्टि सभामा सारा संसारबाट २,५०,००० मानिस ओइरिए । तिनको अन्त्येष्टि साल्भाडोरको इतिहासमै सर्वाधिक ठुलो प्रदर्शनी थियो । तिनको अन्त्येष्टिमा उच्च अधिकारीका प्रतिनिधिले भनेका थिए कि तिनी “प्रिय, परमेश्वरका मेलमिलापकर्ता थिए” र “तिनको रगतले भाइचारा, प्रेम र शान्तिको फल फलाउने छ ।”
ख्रिस्टाब्द १९७७ मा रोमेरो सान साल्भाडोरको प्रधान बिशपमा नियुक्त भएदेखि नै तिनलाई नियमित रूपमा धम्की आइरहन्थ्यो । आफ्नो देशमा थिचोमिचोमा परेकाहरूको पक्षमा तिनले आवाज बुलन्द पारेकाले तिनले यो खतरा मोल्नुपरेका थियो । व्याप्त हत्या र अपहरणको तिनले खुलेरै विरोध गर्थे । सरकार वा सेनाको नाउँमा मानव अधिकार उल्लङ्घन हुनुहुँदनथ्यो भनी तिनले जोड दिन्थे । मृत्यु तिनको लागि वास्तविक सम्भाव्यता थियो । तिनीभन्दा अगि अन्य केही पादरीहरूलाई मृत्युको मुखमा पुर्याइएको थियो । परमेश्वरको इच्छा विपरीत भएको काममा सरकारको आज्ञा नमान्न तिनले सेनालाई बिन्ती गर्थे ।
१९१७ मा रोमेरोको जन्म मध्य अमेरिकाको सबैभन्दा सानो मुलुक एल साल्भाडोरमा भएको थियो । तिनी मुलुकको क्याथोलिक मण्डलीका बिशप थिए जसले सान साल्भाडारोमा चौथा बिशप बनेर सेवा पुर्याएका थिए । तिनले गरिबी, सामाजिक, अन्याय, हत्या र यातनाको विरुद्धमा बोल्थे । भित्री सुधारद्वारा सामाजिक क्रान्ति आओस् भन्ने तिनको चाहना थियो । तिनले मानव अधिकार उल्लङ्घनको खुलेरै भत्सर्ना गर्थे । तिनी सबै किसिमका हिंसा विरोधी थिए । २०१५ मा तिनलाई सहिद घोषणा गरियो ।