२९ अक्टोबर १८३७ मा नेदरल्यान्डका एक जना पास्टरको घरमा एक बालकको जन्म भयो । तिनको नाउँ थियो, अब्राहाम कुपर । परिवारले तिनलाई “ब्राम” भनेर डाक्थ्यो । कुपर विश्वविद्यालयमा भर्ना भए र त्यस बेलाका डच विश्वविद्यालका प्राध्यापकहरू आधुनिकवादबाट प्रभावित थिए जसले ईश्वरीय प्रकाशलाई भन्दा मानवीय तर्कलाई उचाल्थ्यो । कुपर यसबाट प्रभावित नहुने कुरै भएन । कट्टरवादी विश्वास लिएर विश्वविद्यालय प्रवेश गरेका तिनी साढे एक वर्ष बित्न नपाउँदै लिबरल (उदारवादी) बने । तर केही रचनाहरूको अध्ययनपश्चात् तिनले जीवनमा पहिलो पटक उदारवादी ईश्वरशास्त्रप्रति आशङ्का व्यक्त गर्न थाले । अन्त्यमा थप अध्ययनपश्चात् तिनी कट्टरवादी काल्भिनवादको पक्षपोषक बन्न पुगे जसलाई तिनले राजनीतिक शक्तिको लागि प्रयोग गरे ।
प्रतिक्रान्तिकारी पार्टीको प्रमुख हुँदै कुपरले संसदमा आफ्नो उपस्थिति जनाए । तिनले आफ्नो पार्टीको दैनिक अखबारको सम्पादन गर्थे र त्यसको लागि १६,८०० ओटा सम्पादकीय पनि लेखे । ख्रिस्टाब्द १८८० मा अरूहरूसित मिलेर तिनले एउटा विश्वविद्यालयको स्थापना गरे जुन सुधारवादी ईश्वरशास्त्रको लागि समर्पित थियो । तिनी आफै सुव्यवस्थित ईश्वरशास्त्रका प्राध्यापक बने ।
१९०१ मा कुपर नेदरल्यान्डका प्रधानमन्त्री बने जुन पदमा तिनी चार वर्षसम्म रहे । उक्त सालको सुरुतिर तिनले आफ्नो सरकारको अडानलाई औपचारिक विज्ञप्तिमार्फत प्रस्तुत गरे । तिनका अनुसार ख्रीष्टियान सिद्धान्तहरू दुई किसिमका छन्: (१) मुक्तिसित सम्बन्धित र (२) प्राकृतिक जीवनसित सम्बन्धित । यसरी तिनले ख्रीष्टियान सिद्धान्तहरूलाई नागरिक, परिवार, काम, विवाह, स्कुल, मण्डली र सरकारमा भित्र्याएका थिए । परमेश्वरले तिनलाई राज्यको मुहारमा परिवर्तन ल्याउन प्रयोग गर्नुभयो । पापका सामाजिक नतिजाहरूको विषयमा बाइबलले जे भन्छ, त्यसलाई राज्यले ध्यान दिनुपर्छ भन्ने कुपरको जोड थियो । प्रजातान्त्रिक समाजमा ख्रीष्टियान सिद्धान्तहरूको आधारमा विश्वासीहरू सङ्गठित हुनु उचित थियो भन्ने तिनको मनसाय थियो ।
सारांशमा भन्नुपर्दा, कुपर पत्रकार, राजनीतिज्ञ र ईश्वरशास्त्री थिए । तिनले नेदरल्यान्डमा सुधारवादी मण्डलीहरूको स्थापना गरे जुन मुलुककै दोस्रो ठुलो सुधारवादी सम्प्रदाय थियो । तिनले पत्रिकामा सम्पादकको काम गरे; विश्वविद्यालय स्थापना गरे; प्रतिक्रान्तिकारी पार्टी खोले र अन्त्यमा प्रधानमन्त्री बनी चार वर्षसम्म मुलुकको सेवा गरे ।