सीएमबी विकिरण— बाइबलीय अवधारणाको पुष्टि गर्ने मजबुत वैज्ञानिक साक्षी

विश्‍व (युनिभर्स) अनन्त नभई यसको आरम्भ भएको थियो भन्‍नाका लागि विभिन्न मजबुत वैज्ञानिक साक्षीहरू छन् जसमध्ये एउटा होः सीएमबी नाम गरेको विकिरण । सीएमबीको पूरा अर्थ हुन्छ— कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड । यो महाविस्फोटमा विश्वको थालनी भएपछि बाँकी रहेको विद्युत चुम्बकीय विकिरण हो ।

ख्रिस्टाब्द १९६५ मा यस विकिरणलाई सन्जोगवश पत्ता लगाइयो । अर्नो पेन्जिस र रोबर्ट विलसन नाम गरेका वैज्ञानिकद्वयले यो खोज पत्ता लगाएका थिए । न्यु जेरेसीस्थित हल्मडेलको बेल ल्याब्स्मा राखिएको तिनीहरूको एन्टिनामा तिनीहरूले अनौठो खालको विकिरण पत्ता लगाए । सुरुमा तिनीहरूले सोचे कि एन्टिनामा चराहरूले गुँड लगाएकाले ती चराका विष्टाका कारणले यस्तो भएको थियो । तर ती गुँड र विष्टालाई हटाउँदा पनि चारैतिरबाट विकिरण आइरहेका तिनीहरूले देखे ।

गत शताब्दीमा भएको यो एउटा यस्तो विस्मयकारी खोज थियो जसले यी वैज्ञानिकद्वयलाई भौतिकशास्‍त्रमा नोबेल पुरस्कार दिलायो । वास्तवमा यी वैज्ञानिकद्वयले महाविस्फोटबाट फैलिरहेको विकिरणलाई पत्ता लगाएका थिए ।

महाविस्फोट वास्तवमै घटेको थियो भने यो खालको विकिरण हुनैपर्छ भनी १९४८ मा नै तीन जना वैज्ञानिकले भविष्यवाणी गरेका थिए । तर पेन्जिस र विलसनभन्दा अगाडि कसैले पनि त्यो पत्ता लगाउने आँट गरेन । यो खोजको पुष्‍टि भएपछि यो सारा विश्‍व अनन्त छ भन्‍ने आँट प्रायः गरिएको छैन । खगोलविद् रोबर्ट ज्यास्ट्रोले यसरी लेखे, “यो विकिरणको व्याख्याको लागि महाविस्फोटभन्दा अन्य कुनै व्याख्या छैन । … स्थिरावस्थाको सिद्धान्तका समर्थकहरूले वैकल्पिक व्याख्या खोज्ने दुस्साहस गरेका छन्, तर तिनीहरू सफल भएका छैनन् । वर्तमान समयमा महाविस्फोट सिद्धान्तको कुनै प्रतिद्वन्द्वी छैन ।”

बाइबलसित यस खोजको के सम्बन्ध छ त ? यो सारा विश्‍व अनन्त नभई यसको थालनी भएको थियो भनी बाइबलले प्रस्टसँग सिकाउँछ । बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा नै लेखिएको छ, “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) । बिसौँ शताब्दीको यो विस्मयकारी वैज्ञानिक खोज विश्‍व अनन्त नभई यसको आरम्भ भएको छ भन्‍ने बाइबलीय शिक्षासित सोर्‍है आना मेल खान्छ ।

Facebook Comments

Powered by Youth Circle