वैज्ञानिक केप्लरले सबै महिमा र प्रशंसा परमेश्वरलाई दिएका छन्

ख्रिस्टाब्द १५७१ मा जर्मनीमा जन्मेका जोहानन केप्लर गणितज्ञसाथै खगोलविद् थिए । सत्रौँ शताब्दीको वैज्ञानिक क्रान्तिका मुख्य पात्र केप्लर ग्रहको चालसम्बन्धी नियमहरूका लागि प्रसिद्ध छन् । ग्रहको चालसम्बन्धी तिनका तीनवटा प्रसिद्ध नियमलाई विज्ञानमा प्रायश: अगिल्ला “प्राकृतिक नियमहरू” भनिन्छ । ग्रहहरू सिद्ध वृत्तमा रही घुम्छन् भन्ने प्राचीन अरस्तुको सिद्धान्त केप्लरको गणितीय गणनाको विपरीत देखिएको थियो । तिनका कृतिहरूले न्युटनको विश्यव्यापी गुरुत्वाकर्षणको नियमको लागि आधार तयार पारेका थिए । चन्द्रमाको शक्तिको कारणले गर्दा समुद्रमा ज्वारभाटा आउँछ भनी बताउने तिनी प्रथम वैज्ञानिक हुन् । अन्य थुप्रै खोजका प्रतिपादक केप्लर विश्व प्रसिद्ध वैज्ञानिक हुनुको एउटा कारण हो— तिनका खोजहरू क्रान्तिकारी थिए । क्रान्तिकारी यस अर्थमा कि प्राचीन वैज्ञानिक अरस्तुको पृथ्वी-केन्द्रित सिद्धान्तलाई तिनले बेठिक साबित गरिदिएका थिए ।

केप्लरका प्राप्तिहरूको सूची लामै हुन्छ । १५९६ मा २५ वर्षकै उमेरमा तिनले विश्वको रहस्य नामक पुस्तक प्रकाशित गरे । तिनको सर्वाधिक प्रसिद्ध कृति नयाँ खगोल विज्ञान १६०९ मा देखा परेको थियो ।

केप्लर एक भक्त ख्रीष्टियान थिए । पास्टर हुनको लागि तिनले तीन वर्षको अध्ययन गरे तापनि पछि तिनको रुचि खगोल विज्ञानतर्फ बढेको थियो । जीवनमा मनग्गे सङ्घर्णको अनुभूति गरेका केप्लरको कृति विश्वको रहस्यको निष्कर्षमा तिनले सबै महिमा र प्रशंसा परमेश्वरलाई दिएका छन् ।

तिनले एक पटक यसो भनी प्रार्थना चढाए, “कोपरनिकस [केप्लर अगिका वैज्ञानिक] ले जे साँचो थियो भनी भनेका थिए, म त्यसमा सफल हुन सकूँ भनी मैले परमेश्वरलाई निरन्तर रूपमा प्रार्थना चढाएको छु ।” आफ्नो एउटा पुस्तकमा तिनले लेखेका छन्, “प्रकृतिको पुस्तकको सम्बन्धमा हामी खगोलविद्हरू सर्वोच्च परमेश्वरका पुजारीहरू भएकाले हाम्रा आफ्नै समझको महिमाको लागि नभई परमेश्वरको महिमाको लागि चिन्तनशील हुनु हाम्रो लागि फाइदाजनक नै हुन्छ ।”

५८ वर्षको उमेरमा १६३० मा केप्लरको मृत्यु हुनुअगि एक जना पास्टरले तिनले कसमाथि विश्वास राखेका थिए भनी प्रश्न गर्दा जीवनमा मनग्गे वैज्ञानिक तथ्यहरू पत्ता लगाएका तिनले जवाफ दिए, “केवल हाम्रा उद्धारकर्ता येशू ख्रीष्टको काममा ।”

Facebook Comments

Powered by Youth Circle