परिचित डाक्टरले स्वीकार गरे, “म पापी हुँ र येशू ख्रीष्ट मेरा मुक्तिदाता हुनुहुन्छ”

जेम्स सिम्पसोनले १८ वर्षको उमेरमा आफ्नो अन्तिम परीक्षा सके । तर तिनी निकै जवान भएकाले मेडिकल अभ्यासको लागि लाइसेन्स हात पार्न तिनले दुई वर्ष पर्खनुपरेको थियो । २८ वर्षकै उमेरमा तिनी एडिनवर्ग विश्वविद्यालयको मेडिकल शाखाको प्रमुखमा नियुक्त गरिए ।

ख्रिस्टाब्द १८११ मा स्कटल्यान्डमा जन्मेका सिम्पसोनलाई चिकित्सा इतिहासमा एक महत्त्वपूर्ण प्रतिभाको रूपमा आदर गरिन्छ । गर्भवती महिलाहरूलाई सहायता गर्न अस्पतालमा सुँडेनीहरूको प्रयोग गरिनुपर्छ भनी वकालत गर्ने तिनी एक अगिल्ला डाक्टर हुन् । कैयौँ स्त्रीहले तिनीसित परामर्शसमेत लिने गर्थे । विभिन्न क्षेत्रमा तिनको प्राप्ति र रुचिको कारण तिनको घर बौद्धिक वर्गका मानिसहरूको जमघट गर्ने थलोसमेत बनेको थियो । तिनी डाक्टर मात्र थिएनन्, तर एक भक्त ख्रीष्टियान पनि ।

चिकित्सा क्षेत्रमा ख्रिस्टाब्द १८४७ को साल सम्झनलायक साबित भयो । किनकि त्यही सालमा सिम्पसोनले एउटा अद्‌भुत खोज पत्ता लगाएका थिए । शल्यक्रिया गर्दा मान्छेलाई अचेत पार्न क्लोरोफर्मको प्रयोग गर्न सकिन्छ भन्ने धारणालाई तिनले अगि सारे । क्लोरोफर्म बेहोस पार्न प्रयोग गरिने एक प्रकारको तरल पदार्थ हो । खतराभन्दा खतरा परिस्थितिमा पनि कुनै डरविना यसको प्रयोगद्वारा मान्छेको शल्यक्रिया गर्न सकिन्छ भनी तिनको परीक्षणले पुष्टि गर्‍यो । यस खोजको सम्बन्धमा केही मानिसहरूले त यसो पनि भनेका थिए, “यो त आधुनिक विज्ञानकै एउटा अत्यधिक महत्त्वपूर्ण खोज हो ।”

आफ्नो खोज पत्ता लगाएका केही वर्षपश्चात् एडिनवर्ग विश्वविद्यालयमा सिम्पसोनले पढाइरहँदा एक जना विद्यार्थीले सोधे, “तपाईंको विचारमा तपाईंले जीवनमा गर्नुभएका खोजहरूमध्ये कुनचाहिँ सबैभन्दा महत्त्वपूर्ण छ ?” डाक्टरले क्लोरोफर्मलाई उल्लेख गर्ने थिए भनी प्रश्नकर्तासाथै अन्य विद्यार्थीहरूले अपेक्षा गरेका थिए । तर सबै जनालाई चकित पार्दै सिम्पसोनले जवाफ दिए, “म पापी हुँ र येशू ख्रीष्ट मेरा मुक्तिदाता हुनुहुन्छ भनी जब मैले पत्ता लगाएँ, त्यो नै मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण खोज थियो ।”

१८७० मा यस धरती छाडेका सिम्पसोनको अन्त्येष्टिको दिनमा स्कटल्यान्ड सरकारले बिदाको घोषणा गरेको थियो । तिनको अन्त्येष्टिमा १,००,००० भन्दा बेसी नागरिकको लस्कर लागेको थियो ।

Facebook Comments

Powered by Youth Circle