म येशूको पछि लाग्छु— करोडौँ फ्यान बटुल्न सफल युवा गायक जस्टिन

फोर्ब्स पत्रिकाअनुसार संसारका सबैभन्दा शक्तिशाली दस शीर्ष सेलिब्रेटीको सूचीमा जस्टिन बिबरको नाउँ तीन पटक (२०११, २०१२ र २०१३) परेको थियो । १९९४ मा क्यानडामा जन्मेका तिनी गायक, अभिनेतासाथै सङ्गीतकार हुन् । जस्टिन सामाजिक सञ्जालमा यति प्रसिद्ध छन्, कि ट्विटरमा तिनलाई पछ्याउनेहरूको सङ्ख्या १० करोडभन्दा बेसी छन्; फेसबुकमा तिनका फ्यानहरू करिब ८ करोड छन् भने युटुबमा तिनका झन्डै ४ करोड सबस्क्राइबर छन् ।

ख्रीष्टियान परिवारमा हुर्केका भए तापनि येशूले बचाउनुहुन्छ; परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ आदिजस्ता आधारभूत बाइबलीय सिद्धान्तहरूलाई जस्टिनले निस्क्रियतापूर्वक सिकेका थिए । तिनको जीवनमा यी कुराहरू कहिल्यै वास्तविक भएका थिएनन् । तिनी ख्रीष्टियान विश्वासबाट तर्किन चाहन्थे । यस अवधिमा तिनी “बेचैन चरण” मा थिए र तिनको आत्मा “डरलाग्दो स्थान” मा भएकोले तिनले हराएको महसुस गरेका थिए भनी तिनी स्वीकार गर्छन् ।

न्युयोर्कस्थित हिलसङ्ग चर्चका वरिष्ठ पास्टर कार्ल लेन्जसित २-३ हप्तासम्म बिताएपछि परमेश्वरले जस्टिनको जीवनमा काम गर्न थाल्नुभयो । तिनी सिद्ध थिए वा असिद्ध, त्यो चासोको विषय थिएन । महत्त्वपूर्ण कुरो त परमेश्वरको सिद्धता र उहाँको प्रेम हो । १ यूहन्ना ४:१९ ले जस्टिनको कडा हृदयलाई नरम बनायो, “हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो ।” पहिले परमेश्वरको प्रेम आउँछ अनि त्यसपछि उहाँले मानवीय प्रेमलाई प्रेरित गर्नुहुन्छ भनी जस्टिनले सिकेपछि तिनको सम्पूर्ण जीवनमा नाटकीय परिवर्तन आयो ।

जस्टिनलाई यो प्रकाशले नयाँ मोडमा लग्यो । अब ख्रिस्टियमत कुनै धर्म नभएर सम्बन्ध हो भनी तिनले सिके । मानव-जाति सम्बन्धमा जिउने प्राणी हुन्, र परमेश्वर त्योभन्दा फरक हुनुहुन्न । प्रार्थनाद्वारा तिनी परमेश्वरसित बातचित गर्छन् र भन्छन्, “मेरो अस्तित्वको कारण उहाँ नै हुनुहुन्छ ।” तिनका भिडियोहरूले तिनको विश्वासलाई प्रतिबिम्बित गर्छन् ।

नयाँ जन्मको अनुभव गरेपछि पास्टर कार्ल लेन्जले २०१४ मा जस्टिनलाई बप्तिस्मा दिए । सामाजिक सञ्जालमा तिनको विश्वासको बारेमा पोस्ट गरिएका थुप्रै भनाइहरू पाइन्छन् जसमध्ये यो निकै सामान्य तर निर्भिक भनाइ हो, “म येशूको पछि लाग्छु ।”

Facebook Comments

Powered by Youth Circle