शमूएलका पिता एल्काना को थिए— एफ्राइमी (१ शमूएल १:१) वा लेवी (१ इतिहास ६:१६-३०) ? 

१ शमूएल १:१ मा उल्लिखित सङ्क्षिप्त वंशावलीअनुसार शमूएलका पिता एल्काना एफ्राइमी थिए, “रामतैमबाट आएका एक जना मानिस थिए । तिनी एक सूपी तथा एफ्राइमको पहाडी देशका थिए । तिनको नाउँ एल्‍काना थियो । तिनी एफ्राइमी थिए, अनि तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र सूपका जनाति थिए ।” तर १ इतिहास ६:१६–३० मा उल्लिखित लामो वंशावलीमुताबिक तिनी लेवी थिए, “लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी । … तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्‍काना, र तिनका छोरा शमूएल ।” वास्तवमा एल्काना एफ्राइमी थिए कि लेवी ?

याकूब अर्थात् इस्राएलका १२ जना छोरामध्ये लेवी एक थिए र तिनका सन्तानहरू “लेवीहरू” भनेर चिनिन्थे । याकूबका योसेफ नाउँ गरेका एघारौँ छोरा थिए जसबाट एफ्राइम र मनश्शे दुई छोरा जन्मे । यो इतिहासलाई ख्याल गरिसकेपछि एल्काना लेवी थिए कि इफ्राइमी थिए भन्ने प्रश्नको बढि अर्थ लाग्छ ।

एल्काना इस्राएलका प्रसिद्ध अगमवक्ता शमूएलका पिता थिए । १ इतिहास ६:१६, २२–२८ ले बताउँछ कि एल्काना मोशा र हारूनजस्तै लेवीका तीन छोरामध्ये कहातका वंशका थिए अर्थात् तिनी लेवी थिए । एल्काना लेवी कुलका भएकाले तिनका पुत्र शमूएललाई नव सिकारुको रूपमा प्रधान पुजारी एलीले मन्दिरमा लगे । परिपक्व भएपछि शमूएलले पुजारीले गर्ने कामहरू गरे भनी १ शमूएलको पुस्तकले बताउँछ । तिनी लेवी कुलका नभएका भए शमूएलले पुजारीय सेवा गर्न पाउँदैनथ्ये ।

एल्काना रामतैम (जसलाई रामा भनी बेसी चिनिन्छ) को एफ्राइमको पहाडी देशका बासिन्दा थिए (१ शमूएल १:१) । यो ठाउँ यरूशलेमदेखि करिब २५ माइल टाढा उत्तरमा पर्थ्यो । सबै लेवीलाई बस्नको लागि अठचालिसवटा सहर तोकिएको थियो, “लेवीहरूलाई दिनुपर्ने सहर र तिनका खर्कहरू जम्‍मा अठचालीस वटा हुनुपर्छ” (गन्ती ३५:७) । निश्चय नै एल्कानाको बासस्थान रामतैम ती सहरहरूमध्ये एक थियो । तब हामी उचित किसिमले निष्कर्ष निकाल्न सक्छौँ कि एल्काना कुलअनुसार लेवी थिए भने भूगोलको दृष्टिकोणबाट एफ्राइमी थिए ।

Facebook Comments

Powered by Youth Circle