“ख्रीष्टियान” बारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. ग्रिक शब्द “ख्रिस्टियानोस” को अर्थ हुन्छ, “ख्रीष्टको अनुयायी ।” यो ग्रिक शब्द “ख्रिस्टोस” बाट आएको हो जसको अर्थ हुन्छ, “अभिषिक्त जन ।” हिब्रू भाषाबाट ग्रिक भाषामा अनूदित पुरानो करारको प्राचीनतम बाइबल सेप्टुजिन्टमा हिब्रू शब्द मसीहलाई “ख्रिस्टोस” भनी अनुवाद गरियो । हिब्रू शब्द मसीहले पनि “अभिषिक्त जन” भन्ने अर्थ नै दिन्छ ।

२. ख्रीष्टियान शब्द बाइबलमा केवल तीन पटक प्रयोग भएको छ (प्रेरित ११:२६; २६:२८ र १ पत्रुस ४:१६) । बारनाबासले शाऊल (जो पछि पावल कहलाइए) लाई एन्टिओखियामा ल्याए र तिनीहरूले चेलाहरूलाई एक वर्षसम्म सिकाएपछि “चेलाहरू पहिलो पटक एन्‍टिओखियामा नै ख्रीष्‍टियान भनिए” (प्रेरित ११:२६) । यस शब्दको दोस्रो उल्लेख प्रेरित २६ अध्यायमा पाइन्छ जहाँ हेरोद अग्रिपा द्वितीयले यसो भनी पावललाई जवाफ दिएका छन्, “के थोरै समयमा तिमी मलाई ख्रीष्‍टियान बनाउन चाहन्छौ ?” (प्रेरित २६:२८) । यसको तेस्रो वा अन्तिम प्रयोग पत्रुसद्वारा लिखित पहिलो पत्रमा पाइन्छ जहाँ विश्वासीहरूलाई अर्ती दिइएको छ, “तर कसैले ख्रीष्‍टियान भएको कारण दु:ख भोग्‍दछ भनेता उसले लाज नमानोस, तर त्‍यही नाउँमा उसले परमेश्‍वरलाई महिमा देओस्‌” (१ पत्रुस ४:१६) । यी तीनवटै प्रारम्भिक प्रयोगमा ख्रीष्टियानले त्यो व्यक्तिलाई उल्लेख गर्छ जो ख्रीष्टको अनुयायी हो ।

३. नयाँ करारमा ख्रीष्टियानको लागि विविध शब्दहरू प्रयोग गरिएका छन्— चेला (यो चारवटा सुसमाचार र प्रेरितको पुस्तकमा निकै नाउँ सामान्य हो), भाइ (प्रेरित १८:२७), सन्त (एफिसी १:१), विश्वासी (२ कोरिन्थी ६:१५), त्यस मार्गको अनुयायी (प्रेरित २४:१४), साथी (प्रेरित २७:३), नासरी (प्रेरित २४:५, ख्रीष्टियानलाई उल्लेख गर्नको लागि यो शब्द नयाँ करारमा केवल एक पटक प्रयोग भएको छ), चुनिएकाहरू (कलस्सी ३:१२) आदि ।

४. ख्रिस्टियमतलाई पछ्याउने व्यक्ति नै ख्रीष्टियान हो । दुनियाँभरका ख्रीष्टियानहरू जेजस्ता विषयहरूमा असहमत भए तापनि येशूको अद्वितीय महत्त्व छ भन्ने कुरामा चाहिँ सबैले विश्वास गर्छन् । यो येशू ख्रीष्टको जीवनी र शिक्षामा आधारित धर्म (वा मार्ग) हो । ख्रिस्टियमतका तीनवटा हाँगा छन्— क्याथोलक, प्रोटेस्टेन्ट र पूर्वीय अर्थोडक्स । विकिपिडियाअनुसार करिब आधाजसो ख्रीष्टियान क्याथोलिक छन्; एक-तिहाइभन्दा बेसी (३७%) प्रोटेस्टेन्ट छन् भने अर्थोडक्स १२% छन् । ख्रिस्टाब्द १०५४ मा पूर्व र पश्चिम गरी ख्रीष्टियान जगत् दुई चिरामा विभाजित भएको थियो जसलाई “महाविभाजान” भनिन्छ । पश्चिमी जगत् रोमन क्याथोलिक मण्डली बन्यो भने पूर्वीय जगत् ग्रिक अर्थोडक्स मण्डली बन्यो । १५१७ मा क्याथोलिक मण्डलीभित्र अर्को एउटा ठुलो विभाजनको थालनी भएको थियो जसलाई प्रोटेस्टेन्टवाद वा सुधारवाद भनेर चिनिन्छ ।

५. ख्रिस्टियमत एकेश्वरवादी धर्म (वा मार्ग) हो अर्थात् यसले एक परमेश्वरमा विश्वास गर्छ जसले विश्व (अर्थात् युनिभर्स) को सृजना गर्नुभयो । उहाँ तीन जना व्यक्तित्वमा प्रकट हुनुभएको छ— पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर । ख्रिस्टियमतको सारले येशूका जीवन, मृत्यु र पुनरुत्थानको वरिपरि चक्कर लगाउँछ । ख्रीष्टियानहरूको विश्वासअनुसार मानव-जातिको पापको छुटकाराको लागि येशू क्रूसमा टाँगिनुभयो र तेस्रो दिनमा पुनरुत्थान हुनुभयो । क्रूस ख्रिस्टियमतको प्रतीक हो ।

६. अपरेसन वर्ल्डको पछिल्लो संस्करण (२०१०) अनुसार संसारका २३३ ओटा मुलुकमध्ये १५९ ओटामा ख्रीष्टियानहरूको बाहुल्यता रहेको छ । दोस्रोमा इस्लाम धर्म आउँछ जसको ५२ ओटा देशमा बाहुल्यता छ । हिन्दु धर्मको बाहुल्यता केवल दुईवटा देश (भारत र नेपाल) मा रहेको छ । अफ्रिकाका ५६ ओटा मुलुकमध्ये ३३, एसियाका ५० ओटामध्ये ५, युरोपका ४७ ओटामध्ये ४३, अमेरिकाका ५३ ओटामध्ये ५३ र प्रशान्त महासागरीय क्षेत्रका २७ ओटामध्ये २५ ओटा मुलुकमा ख्रीष्टियानहरूको बाहुल्यता छ । एसियामा ख्रीष्टियानहरूको सङ्ख्या न्युन रहे तापनि विस्मयकारी ढङ्गमा बढिरहेको छ ।

७. प्यु रिसर्च सेन्टरको सर्वेक्षणअनुसार ख्रिस्टाब्द २०१० मा संसारमा २ अरब मानिस ख्रीष्टियान थिए । यो १९१० मा भएको ६० करोडबाट बढेको सङ्ख्या थियो । २०१५ मा ख्रीष्टियानहरू करिब ३२% थिए । २०५० सम्ममा ख्रीष्टियान जनसङ्ख्या ३ अरब नाघ्ने अपेक्षा गरिएको छ र यही वृद्धिदरले निरन्तरता पाइरह्यो भने त्यस बेला पनि ख्रिस्टियमत संसारकै सर्वाधिक ठुलो धर्म (वा मार्ग) कायम रहने छ जस्तो अहिले छ ।

Facebook Comments

Powered by Youth Circle