दास भएर जन्मेका जर्जलाई बाइबलले परिचित वैज्ञानिक बनाइदियो

ख्रिस्टाब्द १८६० तिर अमेरिकामा जन्मेका थिए जर्ज, दासको रूपमा । तिनको पुरा नाउँ हो— जर्ज वासिङ्टन कार्भर । तिनी केवल एक हप्ताको हुँदा तिनी, तिनकी दिदी र तिनकी आमा अपहरणमा परे । केही समय बितेपछि जर्जको कोही एक जना नातेदारले जर्जलाई लिएर आयो । तर आमा भने सधैँको लागि कतै गायब भई । परिणाम स्वरूप जर्जको बुबा को थियो आजको दिनसम्म अज्ञात छ । जुन दम्पत्तिले तिनलाई हुर्काए त्यही दम्पत्तिको घरमा तिनी प्रकृति प्रेमीको रूपमा हुर्कंदै गए ।

तिनले बाइबलमा उल्लिखित सृष्टिसम्बन्धी खण्डहरूलाई निकै गम्भीरतापूर्वक लिए । पछि तिनी विश्वकै विख्यात वैज्ञानिक बने । तिनी वनस्पति विज्ञ, शिक्षक र अन्वेषक बने । तिनी एक महान्‌तम अश्वेत वैज्ञानिक बने । तिनले बदामका ३०० र गुलियो गोलभेडाका ११८ भन्दा बेसी बेग्लाबेग्लै उत्पादनको विकास गरे ।

किसानहरूको जीवन सुधारको निम्ति काम गर्नुका अतिरिक्त जर्ज पर्यावरण संरक्षणको प्रवर्द्धनका पनि अगुवा थिए । तिनको कामको कदर गर्दै तिनलाई विभिन्न सम्मान प्रदान गरियो । श्वेत र अश्वेत जातिको बिचमा ध्रुवीकरण बढिरहेको समयमा तिनको ख्याति काला जातिको समुदायभन्दा परसम्म फैलिएको थियो । तिनका मनग्गे प्राप्ति र प्रतिभाहरूका लागि गोरा जातिको समुदायमा पनि तिनको व्यापक प्रशंसा गरिन्थ्यो । १९४१ मा अङग्रेजी पत्रिका टाइमले तिनलाई “अश्वेत लिओनार्दो” भन्ने नाम दिएको थियो ।

जर्ज महान् वैज्ञानिक मात्रै थिएनन्, महान् ख्रीष्टियान पनि । जर्ज इमानदार र विनम्र ख्रीष्टियान थिए । बाइबलको परमेश्वरमाथिको विश्वासबारे खुलेर बोल्न तिनी कहिल्यै हिच्किचाएनन् । तिनले आफ्नो सम्पूर्ण सफलताको श्रेय परमेश्वरलाई नै दिन्थे ।

एक पटक अमेरिकी संसदको समितिमा तिनलाई बदामबारे तिनका परीक्षणहरूको व्याख्या गर्न अनुरोध गरिएको थियो । तिनलाई सोधियो, “यी सबै कुरा तपाईंले कसरी सिक्नुभयो ?” तिनको उत्तर थियो, “एउटा प्राचीन किताबबाट ।” सभाध्यक्षले पुन: सोध्यो, “कुन पुस्तक ?” तिनले जवाफ फर्काए, “बाइबल ।”

Facebook Comments

Powered by Youth Circle