प्रार्थनाको नतिजास्वरूप टाइटानिक दुर्घटनाबाट बाँचेका थिए कर्णेल ग्रेसी

आरएमएस टाइटानिक नाम गरेको बडेमाको पानी जहाज बेलायतबाट अमेरिकातर्फ जाँदै थियो । जहाज एटलान्टिक महासागरको उत्तरपट्टि आइपुग्यो । हिउँको ढिक्कामा ठक्कर खाएर पानी जहाज डुब्यो, १५ अप्रिल १९१२ मा । अनुमानित २,२२४ मानिसमध्ये १,५०० भन्दा बेसी मानिस जहाज दुर्घटनामा परेर मरे । तर उक्त अनपेक्षाकृत दुर्घटनामा परमेश्वरले एउटा उदेकको काम गनुभएको थियो ।

दुर्घटनाको थालनी भएको आइतबार बेलुका एक जना अमेरिकी स्त्री निकै चिन्तित थिइन् । डरको दबाबले उनी सुत्न सकिनन् । भित्री हृदयले प्रार्थनाको लागि ढकढकायो उनलाई । उनका पति टाइटानिकबाट यात्रा गरी आफ्नो घरतर्फ आउँदै थिए । उनले पूरा इमानदारीसाथ आफ्ना पतिको सुरक्षाको निम्ति परमेश्वरलाई पुकारा गरिन् । समय बित्दै थियो तर उनले कुनै निश्चयता पाइनन् । त्यसैले वेदनापूर्वक प्रार्थनालाई जारी राखिन्, ती महिलाले । बिहान पाँच बजेसम्मको निरन्तर प्रार्थनाको परिणामस्वरूप उनले चैनको महसुस गरिन् अनि शान्तिसँग सुत्न गइन् ।

आर्खिबाल्ड ग्रेसी उनका पतिको नाउँ हो जो टाइटानिक जहाजका एक यात्रु थिए । ख्रिस्टाब्द १८५८ मा अमेरिकामा जन्मेका आर्खिबाल्ड ग्रेसी लेखक, इतिहासकारसाथै लगानीकर्ता थिए । ओहोदाको दृष्टिकोणबाट तिनी कर्णेल थिए । त्यस दुर्घटनाबारे तिनले एउटा पुस्तक पनि लेखे जुन निकै लोकप्रिय भयो र त्यसको पुनः मुद्रण आजसम्म पनि जारी छ ।

हिउँको ढिक्कामा ठोक्किएर जहाज दुर्घटना भएपछि लाइफबोट (आकस्मिक स्थितिमा प्रयोग गर्नका लागि पानी जहाजमा राखिएको सानो डुङ्गा) मार्फत ज्यान जोगाउने कोसिस गरे सैयौँले । तर ग्रेसीले आफ्नो बाँच्ने आशा गुमाइसकेका थिए । आफू मर्ने भए तापनि स्त्री र केटाकेटीहरू बाँचुन् भन्ने उद्देश्यले तिनले आफूले सकेजति गरे । आफ्नी प्यारी पत्नीलाई “गुड बाइ माई डार्लिङ” भन्ने अन्तिम सन्देश दिने इच्छा थियो तिनको । पानी जहाज आफ्नो समुद्ररुपि चिहानमा डुब्दै थियो । तर पानीको भुमरीले कर्नेल ग्रेसीलाई यसरी पानीको सतहमा ल्याइदियो कि तिनी आफै नै छक्क परे । नजिकै तिनले लाइफबोट फेला पारे । अन्य केही यात्रुहरूसँगै तिनी पाखामा उत्रन सफल भए । यता पति मृत्युसँग मुकाबिला गरिरहेकै बेलामा उता पत्नीले तिनको सुरक्षाको निम्ति बिन्ती गरिरहेकी थिइन् ।

परमेश्वरसामु पत्नीले यस्तो बिन्ती बिसाएकी थिइन् जसमा उहाँले “भो” भन्नुभएन; स्वर्गका पर्खालहरू हल्लिए; नरकका शक्तिहरू धुजाधुजा भए र मृत्यु फिर्ता गर्न बाध्य भयो ।

Facebook Comments

Powered by Youth Circle