के येशूका चेला पत्रुसको घर फेला परेकै हो त ?

पत्रुस प्रभु येशू ख्रीष्टका १२ जना प्रेरितमध्ये एक थिए । तिनको घर कफर्नहुममा थियो (मर्कूस १:२९) जुन सहर गालील समुद्रको पश्चिमी किनारमा अवस्थित थियो । गालीलमा येशूले यो सहरलाई आफ्नो सेवाको केन्द्र–स्थलको रूपमा प्रयोग गर्नुभएको थियो । गालीलमा येशू कहाँ बस्नुभयो ? निश्चय नै पत्रुसको घरमा । येशूले यही घरमा पत्रुसकी सासूलाई चङ्गाइ गर्नुभएको थियो, “पत्रुसको घरमा आउनुभएपछि येशूले तिनकी सासूलाई जरोले थलिएर पस्रिएकी देख्नुभयो । उहाँले तिनको हात छुनुभयो, र जरोले तिनलाई छाड्यो । अनि तिनी उठिन्, र उहाँको सेवा गरिन्” (मत्ती ८:१४–१५) ।

इटालीका पुरातत्त्वविद्हरूले कफर्नहुममा एउटा घर फेला पारेका छन् जहाँ येशू बस्नुभएको हुन सक्छ । बाइबलीय विवरणअनुसार येशूले गालीलमा सेवा गर्नुहुँदा उहाँ पत्रुसको घरमा बस्नुभएको थियो जुन घर कफर्नहुममा परिचित सभाघर नजिकै थियो । हालसम्म उपलब्ध सबै साक्षीको आधारमा यो पत्रुसकै घर भएको निष्कर्ष निकालिएको छ ।

ख्रिस्टाब्द १८३८ मा एडवार्ड रोबिन्सन नाउँ गरेका अमेरिकी अन्वेषकले पहिलो पटक यस ठाउँको सर्वेक्षण गरेका थिए । त्यहाँ फेला परेका अवशेषहरू कुनै प्राचीन सभाघरको हुन् भनी तिनले सही निष्कर्ष निकालेका थिए ।

ख्रिस्टाब्द १८६६ मा चार्ल्स विलसनले उक्त क्षेत्रको उत्खनन गरी त्यो ठाउँ कफर्नहुम नै भएको पुष्टि गरे र पत्ता लागेका अवशेषहरू लूका ७:५ मा उल्लिखित सभाघरका अवशेषहरू हुन् भनी निष्कर्ष निकाले । त्यो सभाघर यहूदीहरूका निम्ति रोमी कप्तानले बनाइदिएका थिए (लूका ७:५) ।

अन्तमा, यस क्षेत्रका अनमोल अवशेषहरूको सुरक्षाको लागि ख्रिस्टाब्द १८९४ मा फ्रान्सिस्कान फादरहरूले यस जग्गालाई किने । त्यहाँका प्राचीन थोकहरू कतै नलगियोस् भन्ने हेतुले तिनीहरूले जग्गाको वरिपरि अग्लो पर्खाल लगाए ।

ख्रिस्टाब्द १९६८ सम्म कफर्नहुममा उत्खनन गर्दा ध्यान यही सभाघरमा केन्द्रित रहेको थियो । तर त्यसपछि भने पुरातत्त्वविद्हरूले वरिपरिका क्षेत्रहरूमा पनि उत्खनन गर्दै जाँदा तिनीहरूले एउटा घर फेला पारे जुन बाइबलीय शिमोन पत्रुसको हुनुपर्छ जहाँ येशू बस्नुभएको थियो भनिएको छ । उत्खननको क्रममा सभाघरभन्दा ८४ फिट पर अष्टकोण आकारको यो भवनको अवशेष पाइएको हो । पुरातत्त्वविद्हरूका अनुसार यो संरचनालाई पाँचौँ शताब्दीमा निर्माण गरिएको थियो ।

निश्चय नै येशूको मृत्यु र पुनरुत्थानपश्चात् पत्रुसको घरलाई मण्डलीको रूपमा प्रयोग गरिएको हुनुपर्छ । केही शताब्दीपछि त्यही ठाउँमा मण्डली भवन खडा गरी ख्रीष्टियानहरूले त्यसलाई पवित्र स्थलको रूपमा हेरे । आक्रमणको क्रममा पछि यसलाई नष्ट गरियो । पुरातत्त्वविद्हरूले मण्डली भवन र त्यसको मुनि भएको घर दुवैलाई उत्खनन गरेका छन् ।

Facebook Comments

Powered by Youth Circle