बाइबलप्रति कट्टरवादी दृष्टिकोण राख्ने ब्रिटिस दार्शनिक जोन लकले बाइबलको बारेमा यस्तो अभिव्यक्ति दिएका थिए, “बाइबल परमेश्वरले मानिसहरूलाई दिनुभएको एउटा महानत्म आशिष् हो । यसको लेखक परमेश्वर स्वयम् हुनुहुन्छ; … यो पूर्णत: शुद्ध छ; पूर्णत: इमानदार छ; यो अधीक पनि छैन र कम पनि छैन ।”
सत्रौँ र अठारौँ शताब्दीमा युरोपेली इतिहासमा देखा परेको दर्शनशास्त्रसम्बन्धी अभियानलाई प्रबोधन काल भनेर चिनिन्छ जुन कालका एक सर्वाधिक प्रभावशाली विचारक थिए, जोन । तिनी “उदारवादका पिता” को रूपमा पनि व्यापक परिचित छन् । उदारवाद स्वतन्त्रता र समानताको अवधारणामा स्थापित एउटा राजनीतिक दर्शनशास्त्र हो जसले वाक्स्वतन्त्रता, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, खुला बजार, नागरिक हक, लोकतान्त्रिक समाज, धर्म निरपेक्ष सरकार, लैङ्गिक समानता र अन्तर्राष्ट्रिय सहकार्यको अवधारणाको समर्थन गर्छ ।
ख्रिस्टाब्द १६३२ मा इङ्गल्यान्डमा जन्मेका जोन १६४७ मा लन्डनस्थित प्रतिष्ठित वेस्टमिन्स्टर स्कुलमा पठाइए । त्यहाँ आफ्नो अध्ययन पूरा गरेपछि बिस वर्षको उमेरमा तिनी अक्सफोर्डस्थित क्राइस्ट चर्च नाउँ गरेको कलेजमा भर्ना भए ।
जोनका रचनाहरूले ज्ञानशास्त्र र राजनीतिक दर्शनशास्त्रको विकासमा उल्लेखनीय प्रभाव पारे । तिनको धार्मिक विश्वासबाट तिनको राजनीतिक अवधारणाको उद्भव भएको थियो भनी विचार गर्ने विद्वान्हरू पनि प्रशस्त छन् । तिनले बाइबलको ईश्वरीय प्रेरणामाथि विश्वास गर्थे । आश्चर्यकर्महरू बाइबलीय सन्देशका ईश्वरीय स्वभावका प्रमाणहरू थिए । बाइबलको सम्पूर्ण विषयवस्तुसित मानवीय तर्क मेल खान्छ भनी तिनी विश्वस्त थिए । तिनी धार्मिक सहिष्णुताको पक्षपोषक भए तापनि नास्तिकवादप्रति असहिष्णु थिए किनकि परमेश्वरको अस्तित्वको इन्कारले सामाजिक अमन चैनलाई खलबल्याउँछ भन्ने तिनको तर्क रहेको थियो ।
जोनको राजनीतिक विचारधारा प्रोटेस्टेन्ट ख्रीष्टियान पूर्वानुमानमा आधारित थियो । मानिसबारे तिनको धारणा सष्टिमाथिको विश्वासद्वारा आरम्भ भएको थियो । हामी उहाँका हातका सिप हौँ । तिनको राजनीतिक सिद्धान्तबारे आधारभूत अवधारणा सृष्टि (उत्पत्ति १-२०), दसाज्ञा (प्रस्थान २०), स्वर्णीम नियम (मत्ती ७:१२), येशूका शिक्षाहरूसाथै पावलीय पत्रहरूजस्ता बाइबलीय पाठ्यांशहरूबाट नै प्रादुर्भाव भएको थियो । तिनकै अवधारणालाई पछ्याउँदै अमेरिकाको स्वतन्त्रताको घोषणापत्रले मानव अधिकारवादलाई स्थापित गरेको थियो । हामी सबै समान रूपमा सृजित छौँ, सृष्टिकर्ताले सबै मानिसलाई जीवन, स्वतन्त्रता र खुसीको खोजीजस्ता अधिकारहरू दिनुभएको छ ।