येशूले किन आफ्नी आमा मरियमलाई “हे नारी” भनी सम्बोधन गर्नुभयो (यूहन्ना २:४) ?

गालीलको काना नगरमा भएको एउटा विवाह भोजमा येशू र उहाँका चेलाहरूलाई पनि निमन्त्रणा थियो । येशूकी आमा मरियम पनि त्यहाँ थिइन् । दाखमद्य सकिएपछि येशूले त्यसको समाधान गर्न सक्नुहुन्छ भन्ने आशा लिएर मरियमले येशूलाई अवगत गराइन्, “तिनीहरूसित दाखमद्य छैन ।” यही प्रसङ्गमा येशूले भन्नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस् । मेरो समय अझसम्म आएको छैन ।”

येशूले आफ्नी आमालाई सम्बोधन गर्नुभएको “नारी” शब्द आधुनिक पाठकलाई अनादरजस्तो लाग्न सक्छ । तर त्यस बेला तत्कालीन समाजमा यो नम्र र दयालु सम्बोधन थियो ।

उदेकको विश्वास लिएर आएकी एउटी कनानी स्त्रीलाई येशूले भन्नुभयो, “ए नारी, तिम्रो विश्वास ठूलो रहेछ” (मत्ती १५:२८) । सामरी स्त्रीलाई पनि येशूले उही सम्बोधन गर्नुभयो, “ए नारी, मलाई विश्वास गर” (यूहन्ना ४:२१) । पुनरुत्थानपश्चात् येशूले मरियम मग्दलिनीलाई गर्नुभएको सम्बोधन पनि उही छ, “नारी, तिमी किन रुँदैछ्यौ” (यूहन्ना २०:१५) ? येशू क्रूसमा टाँगिनुहुँदा उहाँले आफ्नी आमालाई भन्नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो !” (यूहन्ना १९:२६) । यी सबै पदमा “नारी” को निम्ति उही नै ग्रिक शब्दको प्रयोग भएको छ । यो अनादरसूचक थिएन । यसको विपरीत, यसले आदर, शिष्टता र कोमलतालाई झल्काउँथ्यो ।

Facebook Comments

Powered by Youth Circle