बाइबलको विश्वव्यापी प्रभावबारे १८ ओटा शानदार भनाइ

हामी बाइबलमाथि भरोसा गर्न सक्छौँ किनकि यसले जे गर्ने छु भनी दाबी गर्छ, यसले त्यो गर्छ अर्थात् यसले जीवन परिवर्तन गर्छ । दसौँ लाख मानिसले क्षमा पाएका र अनन्त जीवन पाएका गवाही दिएका छन् । तिनीहरूका प्रार्थनाका जवाफहरू दिइएका छन् । तिनीहरूका सबैभन्दा गहन आवश्यकताहरू पूरा भएका छन् । जीवनमा आमूल परिवर्तन आएको छ । चोरहरू अब चोर्दैनन्; झुट बोल्नेहरू इमानदार बन्छन्; व्यभिचारीहरूले पवित्र जीवन जिउँछन्; लोभीहरूले आफ्नो लोभ त्याग्छन् । येशू ख्रीष्टको सुसमाचारले मानिसहरूलाई पारेको हितकर प्रभावको प्रमाणको रूपमा मण्डली, स्कुल र अस्पतालहरू उदय भएका छन् ।

हारोल्ड लिन्डसेल, लेखकसाथै विद्वान्

प्रेरणा पाएको पुस्तक बाइबल पनि प्रेरणाको एउटा स्रोत हो । सामाजिक र नैतिक धरातलसाथै साहित्यिक सिर्जनामा यसको प्रभावको लागि कुनै समानता छैन ।

एली विजेल, नाटककारसाथै नोबेल शान्ति पुरस्कार विजेता

विज्ञानको परीक्षणात्मक विधिलाई स्पष्ट र स्वच्छ तरिकाले जन्म दिने त ख्रीष्टियान जगत् नै हो ।

लोरेन ऐज्ले, लेखक

पाश्चात्य जगत्‌का सारा प्रमुख भाषाहरूमा बाइबलले परमेश्वर, विश्व र मानव–जातिबारे यसको धारणालाई ल्यायो ।

ग्रडी डेभिस

हाम्रो समाजमा हामीले प्राप्त गरेको हरेक असल आशिष् प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परमेश्वरको अनुग्रह र बाइबलको प्रभावबाट आउँछ ।

बेट्टी मिलर, अमेरिकी लेखक

बाइबलकै आधारमा दासत्व, सतीप्रथा, बालविवाह, अनमेल विवाह, बहुविवाह हटेका हुन् भने विधवा–विवाहले प्रोत्साहन पाएको छ ।

रमेश खत्री, लेखक

बाइबलले स्वतन्त्रताका योद्धाहरूलाई शक्ति दिएको छ; सतावटमा परेकाहरूलाई नयाँ हृदय प्रदान गरेको छ; सामाजिक सुधारकहरूलाई भावी योजनाको रूपरेखा जुटाइदिएको छ भने लेखक र कलाकारहरूलाई प्रेरणा दिएको छ ।

गब्रिएल सिभान

यसमा कुनै शङ्का छैन कि मानवीय संस्कृतिको वर्तमान स्तरमा भएको सिद्धताको मुख्य कारण ख्रीष्टियान प्रणालीमा भएको नैतिकता र यसको शिष्ट प्रभाव नै हो ।

अर्नेस्ट हेकल, वैज्ञानिक

सभ्यताको आरम्भदेखि लेखकहरूको बिचमा बाइबलले भन्द अन्य कुनै पुस्तकले यति धेरै सृजनशील प्रयत्नको लागि प्रेरणा दिएको छैन ।

गब्रिएल सिभान

पाश्चात्य साहित्य अन्य कुनै पुस्तकहरूद्वारा भन्दा बाइबलद्वारा बढी प्रभावित छ ।

नर्थरोप फ्राएर

संसारमा कुनै एकल पुस्तक वा पुस्तकहरूको शृङ्खलाद्वारा भन्दा यहूदी–ख्रीष्टियान धर्मशास्त्र बाइबलद्वारा सभ्यतालाई बढी प्रभाव पारिएको छ ।

बर्नाड र्‍याम, रक्षाशास्त्रीसाथै ईश्वरशास्त्री

केही पुस्तकहरूले जानकारी दिन्छन् भने अरू पुस्तकहरूले सुधार्ने काम गर्छन्, तर केवल बाइबलले रूपान्तरण गर्दछ ।

बिल्ली ग्राहम, सुसमाचार प्रचारक

मेरा आँखाकै सामुन्ने (उहाँले ख्रीष्टमाथि भरोसा गरेपछि) मेरा बुबाको जीवन परिवर्तन भयो । कोही उहाँकहाँ आएर उहाँभित्र ज्योति चम्काइदिएको जस्तो देखिन्थ्यो । त्यसपछि उहाँले केवल एक पटक मद्यपान गर्नुभयो । त्यही पनि उहाँले आफ्नो ओठसम्म मात्र पुर्‍याउनुभयो, त्यो पनि चालिस वर्षसम्म खाने बानी परेको मान्छेले । त्यस पछि उहाँलाई त्यसको आवश्यकता परेन । मद्यपानको कारणले गर्दा देखा परेका रोगहरूको कारणले चौध महिनापश्चात् उहाँको निधन भयो । तर त्यो चौध महिनाको अवधिमा मेरो सानो सहरको वरिपरि भएका सयभन्दा बढी मानिसले आफ्नो जीवन येशू ख्रीष्टमा समर्पित गरे किनकि तिनीहरूले सहरको पियक्कड व्यक्ति अर्थात् मेरा बुबाको जीवनमा परिवर्तनहरू देखेका थिए ।

जोस म्याकडोल, रक्षाशास्त्रीसाथै लेखक

अङ्ग्रेजले कसैलाई “महान्” भनेका छन् भने ती हुन्, राजा अल्फ्रेड । ख्रिस्टाब्द ८९० मा तिनले मोशाको दसाज्ञा र येशूको स्वर्णीम नियमलाई इङ्गल्यान्डको कानुनको आधार र ब्रिटिस स्वतन्त्रताको जग बनाएका थिए ।

डा. वल्फ

बाइबल जीवित छ, यो मसित बोल्छ; यसका गोडा छन्, यो मेरो पछिपछि दौडन्छ; यसका हातहरू छन्, यसले मलाई पक्रन्छ ।

मार्टिन लुथर, सुधारवादी, ईश्वरशास्त्रीसाथै लेखक

बाइबललाई अझै दसौँ लाखले प्रेम गर्छन्; दसौँ लाखले पढ्छन् र दसौँ लाखले अध्ययन गर्छन् ।

बर्नाड र्‍याम, ख्रीष्टियान रक्षाशास्त्रीसाथै ईश्वरशास्त्री

मेरो समयमा मैले संसारका पन्चानब्बे जना महान् मानिसलाई चिनेको छु र तीमध्ये सतासी जना बाइबलका अनुयायीहरू थिए ।

विलियम ग्ल्याडस्टोन, इङ्गल्यान्डका पूर्वप्रधानमन्त्री

चाहे सामाजिक क्षेत्रमा होस् या नैतिक या साहित्यिक रचनामा होस् बाइबलको प्रभाव अतुलनीय छ ।

एली विजेल, नाटककारसाथै नोबेल शान्ति पुरस्कार विजेता

Facebook Comments

Powered by Youth Circle