पूर्वी एसियाको जङ्गलमा बस्ने एउटा जातिको बिचमा मिसनरीहरूले येशूको फिल्म देखाउँदै थिए । त्यहाँका स्थानीयहरूलाई सुसमाचार सुनाउने हेतुले यो फिल्म देखाइएको थियो । यी मानिसहरूमध्ये केहीले येशूको बारेमा कहिल्यै सुनेका थिएनन् । तिनीहरूले कहिल्यै चलचित्र देखेका थिएनन् । पहिलो पटक तिनीहरूले आफ्नो जीवन कालमा फिल्म हेर्न पाएका थिए । त्यो तिनीहरूको आफ्नै भाषामा थियो ।
येशूका ती आश्चर्यपूर्ण कामहरूलाई तिनीहरूले निकै ध्यान लगाएर हेरिरहेका थिए । येशूलाई कोर्रा लगाइको दृश्य देख्दा तिनीहरू ती क्रुर सिपाहीहरूको विरुद्धमा यति धेरै चिच्च्याए कि तिनीहरूले त्यसलाई रोक्न आदेश दिए ।
केही पनि नभएपछि तिनीहरू मिसनरीमाथि आइलाग्न थाले । सायद मिसनरीले गर्दा पो यस्तो अन्याय भएको थियो कि! मिसनरी फिल्म रोक्न बाध्य भए । कथा सकिएको छैन भनी जब मिसनरीले व्याख्या गरे त्यसपछि आफ्ना भावनालाई काबुमा राख्दै तिनीहरू फेरि भुइँमा बसे ।
क्रुसारोहणको दृश्य आयो । तिनीहरूले आफूलाई नियन्त्रण गर्न सकेनन् । तिनीहरू यति ठुलो सोरमा रुन र चिच्च्याउन थाले कि पुनः फिल्मलाई बन्द गरिनुपर्यो । कथा अझै सकिएको छैन भनी व्याख्या गर्दै मिसनरीले तिनीहरूलाई शान्त पार्ने प्रयत्न गरे । तिनीहरू फेरि बसेर बाँकी भाग हेर्न थाले ।
त्यसपछि पुनरुत्थानको दृश्य आयो । त्यहाँ कोलाहल मच्चियो । तर यस पटक फरक उद्देश्यको लागि थियो । त्यो भेला एकै छिनमा भोजमा परिणत भयो । त्यो हर्षोल्लास र विजयको ध्वनि थियो । त्यहाँ गुञ्जायमान भएको थियो । मानिसहरू नाच्दै थिए, रमाउँदै थिए किनकि येशू वास्तवमै पुनरुत्थान हुनुभएको थियो ।