बाइबलमा उल्लिखित तर काल्पनिक ठानिएको तलाउ पत्ता लाग्यो

बाइबलमा तीन पटक सिलोआमको तलाउको उल्लेख गरिएको छ (नहेम्याह ३:१५; यशैया ८:६ [शिलोको पानी] र यूहन्ना ९:७) । यहूदाका राजा हिजकियाले आठौँ शताब्दी ख्रिस्टपूर्वमा यस तलाउको निर्माण गरेका थिए (२ राजा २०:२०) । गीहोन नदीको माथिल्लो मूललाई थुनेर १,७७७ फिट लामो चट्टानको सुरुङमार्फत राजाले सिलोआमको तलाउमा पानी ल्याएका थिए (२ इतिहास ३२:३०) । अश्शूरीहरूको सम्भाव्य आक्रमणको बेलामा यरूशलेममा पानीको हाहाकार नहोस् भनी राजाले राम्ररी बुझेका थिए ।

बाइबलमा यो तलाउ प्रभु येशूद्वारा दृष्टिविहीनको चङ्गाइ गरिएको आश्चर्यकर्मसित बढी परिचित छ । येशूले एउटा जन्मैदेखिको दृष्टिविहीनलाई आँखामा माटोको लेप लगाइदिनुभएपछि त्यसलाई सिलोआमको तलाउमा गएर पखाल्ने आज्ञा दिनुभयो भनी यूहन्नाको सुसमाचारले बताउँछ, “अनि उहाँले त्यसलाई भन्नुभयो, ‘जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल ।’ त्यसले गएर पखाल्यो, र देख्ने भएर फक्र्यो” (यूहन्ना ९:७) ।

लामो समयसम्म यसको वास्तविक स्थान थाहा नभए तापनि ख्रीष्टियानहरूले यस तलाउलाई पवित्र स्थलको रूपमा लिँदै आएका थिए । ख्रिस्टाब्द २००४ सम्म यस तलाउको वास्तविक स्थल रहस्यको गर्भभित्र थियो । बाइबलले यस तलाउको उल्लेख गरे तापनि यो कहाँ थियो भनी पत्ता लाग्न सकेको थिएन । यरूशलेमस्थित अर्को तलाउलाई सिलोआमको तलाउ मानिएको थियो किनकि यी दुवै तलाउको पानीको स्रोत गीहोन नदी नै थियो । वास्तवमा लिवरल विद्वान्‌हरूले यूहन्नाको सुसमाचारमा उल्लिखित तलाउ काल्पनिकसिवाय केही होइन भनी प्रायः तर्क गर्दै आएका थिए ।

तर जुन २००४ मा पुरातत्त्वविद्‌द्वय रोनी रेक र एली सुकरोनले दाऊदको सहर अर्थात् यरूशलेमनजिकै पानीको पाइप मर्मत गर्दा दुई ओटा ढुङ्गाका प्राचीन खुड्किलाहरू फेला पारे । ती खुड्किलाहरूको उत्खनन गर्दा पत्ता लाग्यो कि ती एउटा तलाउमा पुगेर टुङ्गिदा रहेछन् । त्यो तलाउ सिलोआमको तलाउ नै हो भनी अहिले पुष्टि भएको छ । एली सुकरोन भन्छन्, “चार महिनाअगि जुन क्षणमा हामीले यसलाई पत्ता लगायौँ, त्यही बेलामा यो सिलोआमको तलाउ नै थियो भनी हामी शत प्रतिशत निश्चित थियौँ ।”

लिवरल विद्वान्‌हरूले यूहन्नाको सुसमाचारलाई इतिहाससित नगाँसिएको विशुद्ध ईश्वरशास्त्रको रूपमा मात्रै हेरेका भए तापनि यो सुसमाचार इतिहासमा नै आश्रित भएको पुष्टि भएको छ ।  यो खोजसँगै पुरातत्त्वविद्याले बाइबलको अर्को एउटा महत्त्वपूर्ण ऐतिहासिक स्थलको पुष्टि गरिदिएको छ । फेरि एक पटक बाइबलका आलोचकहरूले शिर झुकाउनु परेको छ ।

Facebook Comments

Powered by Youth Circle