येशूले आफ्ना बाहृ जना चेलालाई यसो भनी सुसमाचार प्रचारको लागि पठाउनुभएको थियो, “अन्यजातिहरूका माझमा नजाओ, र सामरीहरूका सहरमा नपस । तर इस्राएल जातिका हराएका भेड़ाहरूकहाँ जाओ” (मत्ती १०:५-६) । अर्को ठाउँमा येशूले प्रस्ट रूपमा बताउनुभयो, “म इस्राएल जातिका हराएका भेडाहरूका निम्ति मात्र पठाइएको हुँ” (मत्ती १५:२४) । तर आफ्नो क्रुसारोहण र पुनरुत्थानपश्चात् येशूले आफ्ना चेलाहरूलाई सबै देशका जातिहरूलाई चेला बनाउन आज्ञा दिनुभयो, “यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८:१९-२०) । येशू कसका लागि आउनुभएको थियो— यहूदीहरूका लागि मात्र वा गैरयहूदीहरूका लागि पनि ?
यी दुई थरीका परस्परविरोधी आज्ञा भिन्नाभिन्नै कालमा दिइएका थिए भन्ने बुझाइमा उत्तर पाइन्छ । येशूको मूल मिसन यहूदीहरूका लागि मात्र थियो भन्ने कुरो साँचो हो । तर तिनीहरूले उहाँलाई स्वीकार गरेनन्, “उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्” (यूहन्ना १:११) । येशूलाई आफ्ना मसीहको रूपमा इन्कार गरी उहाँलाई क्रूसमा झुन्ड्याउनु यहूदीहरूको औपचारिक निर्णय थियो (मत्ती २७; लूका २२) ।
येशूको क्रुसारोहण र पुनरुत्थानपश्चात् मात्र चेलाहरूको मिसन गैरयहूदीहरू अर्थात् अन्यजातिहरूकहाँ जानु थियो । यसो हुँदा मसीहद्वारा गैरयहूदीहरू आशिषित हुनेथिए भन्ने पुरानो करारका भविष्यवाणीहरू पनि पूरा भए । मसीह गैरयहूदीहरूका निम्ति ज्योति हुनुहुनेथियो भनी यशैयाले भविष्यवाणी गरे (यशैया ४९:६) । अब सुसमाचार यहूदीहरूका निम्ति मात्र नभएर गैरयहूदीहरूका लागि पनि हो, “किनकि सुसमाचारसँग म शर्माउँदिनँ । किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि” (रोमी १:१६) । ख्रीष्टको सन्देश पहिले यहूदीहरूका लागि थियो त्यसपछि मात्र गैरयहूदीहरूका लागि । अब चाहे यहूदी होस् वा गैरयहूदी होस्, जोसुकै पनि येशू ख्रीष्टको क्रूसद्वारा परमेश्वरको सन्तान बन्न सक्छ ।