अब्राहाम लिङ्कनले राज्यको उन्नतिको श्रेय परमेश्वरलाई दिए

अमेरिकाका सोर्‍हौँ राष्ट्रपतिको नाउँ हो, अब्राहाम लिङ्कन । तिनले ख्रिस्‍टाब्द १८६१-१८६५ सम्म राष्‍ट्रपतिको पदमा रहेर देशको सेवा गरे । तिनले राज्यको एकता कायम राख्न उल्लेखनीय भूमिका खेले; दासप्रथालाई उन्मूलन गरे; सङ्घीय राज्यलाई मजबुत पारे र अर्थतन्त्रलाई आधुनिकीकरण गरे ।

१८०९ मा अमेरिकामा जन्मेका लिङ्कन एउटा धार्मिक परिवारमा हुर्केका थिए । आफ्नो युवावस्थामा तिनी धार्मिक सन्देहवादी भए तापनि जीवनको पछिल्लो घडीमा तिनले बारम्बार धार्मिक अलङ्कारहरूको प्रयोग गर्न थाले । तिनलाई बाइबलको विषयमा राम्रो ज्ञान थियो । तिनले येशू ख्रीष्टमाथि विश्वास गर्थे र आफ्ना भाषणहरूमा बारम्बार परमेश्वरको उल्लेख गर्थे अनि बाइबल धर्मशास्त्रबाट उद्धृत गर्थे । तिनी बाइबलका प्रशंसक थिए । तिनी आफ्नो विश्वासबारे निजी थिए र तिनले अरूहरूको विश्वासलाई आदर गर्थे । तिनी आफ्नी पत्नी र छोराछोरीसँगै मण्डलीमा उपस्थित हुन्थे । तिनले बाइबल धर्मशास्त्रको सत्यतालाई कहिल्यै इन्कार गरेनन् र तिनले सर्वशक्तिमान् परमेश्वरमाथि विश्वास गर्थे । ख्रिस्टाब्द १८६३ मा तिनले दिएको भाषण यस्तो थियोः

हामी स्वर्गका श्रेष्ठतम सीमाहरूका प्रापक भएका छौँ; यी मनग्गे वर्षहरूमा हामी शान्ति र उन्नतिमा जोगिएका छौँ; हामी सङ्ख्या, सम्पत्ति, र शक्तिमा बढेका छौँ जसरी अन्य कुनै राष्ट्र बढेको छैन । तर हामीले परमेश्वरलाई भुलेका छौँ । हामीलाई शान्तिमा राख्ने, गुणात्मक वृद्धि गर्ने, सम्पन्न तुल्याउने र मजबुत तुल्याउने अनुग्रही हातलाई हामीले भुलेका छौँ । यी सबै आशिष् हाम्रा आफ्नै वरिष्ठ बुद्धि र सद्गुणद्वारा उत्पादन गरिएका हुन् भनी हामीले हाम्रा हृदयको छल कपटमा व्यर्थैमा कल्पना गरेका छौँ । अटुट सफलताले मातेर हामी यति धेरै आत्मनिर्भर भएका छौँ कि छुटकारा दिने र बचाउने अनुग्रहको खाँचोलाई हामी महसुस गर्दैनौँ; यति धेरै घमण्डी भएका छौँ कि हामीलाई बनाउनुहुने परमेश्वरलाई हामी प्रार्थना चढाउँदैनौँ ।

Facebook Comments

Powered by Youth Circle