अपोलोजेटिक्स (apologetics) एउटा अङ्ग्रेजी शब्द हो जसलाई नेपालीमा रक्षाशास्त्र भनिन्छ । रक्षाशास्त्र भनेको ख्रीष्टियान विश्वासको तर्कसङ्गत प्रस्तुतिकरण हो । यसलाई पक्षमण्डनशास्त्र पनि भनिएको पाइन्छ । अपोलोजेटिक्स ग्रिक शब्द अपोलोगिया (apologia) बाट व्युत्पन्न भएको हो । नयाँ करारको ग्रिक बाइबलमा यो शब्द आठ पटक देखा पर्छ— प्रेरित २२:१; २५:१६; १ कोरिन्थी ९:३; २ कोरिन्थी ७:११; फिलिप्पी १:७, १७; २ तिमोथी ४:१६ र १ पत्रुस ३:१५ । नेपाली भाषामा अनूदित पवित्र बाइबलमा यस शब्दको अनुवादमा एकरूपता पार्इंदैन । जवाफ, पक्ष, सुरक्षा, साबितजस्ता शब्दहरूद्वारा यसको अनुवाद गरिएको छ । अपोलोगियाको अक्षरशः अर्थ हुन्छ, “सुरक्षा ।”
ख्रीष्टियान रक्षाशास्त्र ख्रीष्टियान ईश्वरशास्त्रको एउटा हाँगा हो जसले ख्रिस्टियमतको पक्षमा वकालत गर्छ । यसले ख्रीष्टियान विश्वासको विरुद्धमा उठाइएका प्रश्नहरूको तर्कसङ्गत जवाफ दिने काम गर्छ ।
१ पत्रुस ३:१५ ख्रीष्टियान रक्षाशास्त्रको महान् आज्ञा हो जहाँ लेखिएको छ, “तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर । तिमीहरूमा भएका आशाको विषय कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर ।” यहाँ हामी चारवटा कुरा अवलकोन गर्न सक्छौँ ।
(१) हामीले ख्रीष्टलाई प्रभु मानेर हृदयमा श्रद्धा गर्नुपर्छ
हामीलाई ख्रीष्टलाई प्रभु मानेर हृदयमा श्रद्धा गर्न आज्ञा गरिएको छ । यो हाम्रो रक्षाशास्त्रको जग हो । यसको अर्थ हुन्छ कि हाम्रा इच्छा, मनसायसाथै हाम्रा सम्पूर्ण थोकको प्रभु हामीले येशू ख्रीष्टलाई नै बनाउनुपर्छ ।
(२) हामी सबै विश्वासी जवाफको लागि तत्पर बस्नुपर्छ
यो हरेक विश्वासीलाई दिइएको आज्ञा हो किनकि पत्रुसले “तिमीहरू” भनी प्रस्टसित लेखेका छन् । लेखकले पास्टर वा मण्डलीका अगुवाहरूलाई मात्र सम्बोधन गरिरहेका छैनन् । यो जुनसुकै भूगोलमा जुनसुकै युगमा बाँचेका ख्रीष्टियानलाई दिइएको आज्ञा हो । यो पास्टरलाई मात्र नभएर एउटा सिकर्मी पेसा अङ्गालेको ख्रीष्टियानलाई पनि लागु हुने आज्ञा हो ।
(३) हामी जवाफको लागि सधैँ तत्पर बस्नुपर्छ
हामीलाई हाम्रो आशाको विषय कसैले सोधपूछ गरे त्यसको जवाफ दिनलाई सधैँ तत्पर बस्न आज्ञा दिइएको छ । पत्रुसले “जवाफ” लागि प्रयोग गरेका ग्रिक शब्द अपोलोगिया हो । यो कानुनसित सम्बन्धित शब्द हो जुन केही हदसम्म वर्तमान समयमा अदालतमा वकिलले गर्ने कामसित मेल खान्छ । वकिलले अवरोधहरूको जवाफ दिने काम मात्र गर्दैन, तर आफूले लडेका मुद्दाको पक्षमा सकारात्मक साक्षीहरू पनि पेस गर्छ । अर्को शब्दमा भन्नुपर्दा, आफ्नो दृष्टिकोण सही छ भन्नाका लागि उसले तर्कहरू उपलब्ध गराउँछ । त्यसै गरी ख्रिस्टियमत साँचो छ भनी साक्षीहरू उपलब्ध गराउनका लागि तयार हुन विश्वासीलाई आज्ञा गरिएको छ ।
(४) हामीले नम्रता र श्रद्धासाथ जवाफ दिनुपर्छ
हामीमा भएको आशाको विषयमा कसैलाई बताउने मौका मिल्दा हामीले त्यो काम नम्रता र श्रद्धासाथ गर्नुपर्छ । हामीले पत्रुसको यो आज्ञालाई बेवास्ता गरिदियौँ भने हामीले तर्क त जितौँला, तर आत्मा गुमाउन सक्छौँ । हाम्रो विश्वासलाई चुनौती दिनेहरूलाई हामीले कुन तरिकाले जवाफ दिनुपर्छ भनी “नम्रता” शब्दले अङ्कित गर्छ । हामी जोसित बोलिरहेका छौँ उसलाई हामीले आदर देखाउनुपर्छ भनी “श्रद्धा” शब्दले उल्लेख गर्छ ।