कसले लेखे व्यवस्था ३४ अध्याय ?

व्यवस्था ३४ अध्याय मोशाको मृत्यु र दफनको अभिलेख हो । पद ५ मा लेखिएको छ, “तब परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे ।” व्यवस्थाको पुस्तकका लेखक मोशा आफै हुन् । त्यसो हो भने मोशा आफैले आफ्नै मृत्यु र दफनको बारेमा अभिलिखित अध्याय कसरी लेखेका हुन सक्छन् ? यो एउटा तर्कसङ्गत प्रश्न हो ।

उत्पत्तिदेखि व्यवस्थासम्मका पाँचवटा पुस्तकलाई पन्चग्रन्थ भनिन्छ जसका लेखक मोशा हुन् भनी पवित्र धर्मशास्त्रमा घरीघरी व्यक्त गरिएको छ । “अनि मोशाले व्‍यवस्‍था” अर्थात् पन्चग्रन्थ लेखे (व्यवस्था ३१:९) । पुरानो करारका अन्य लेखकहरूका अनुसार पनि पन्चग्रन्थका लेखक मोशा नै हुन् (हेर्नुहोस् यहोशू ८:३२; २ इतिहास ३४:१४) । मोशाले नै व्यवस्थाका अगिल्ला पाँचवटा पुस्तक लेखे भन्नाका लागि नयाँ करारले पनि कन्जुस्याइँ गरेको छैन, “किनभने व्‍यवस्‍था मोशाद्वारा दिइयो, अनुग्रह र सत्‍यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए” (यूहन्ना १:१७) ।

पन्चग्रन्थका लेखक मोशा हुन् । तर व्यवस्था ३४ अध्यायका लेखकको पहिचानको सम्बन्धमा विविध सम्भावनाहरू अगाडि सारिएका छन् जसमध्ये एउटाले भन्छ कि यो अध्यायचाहिँ मोशाबाहेक अरू कसैले (सायद यहोशूले) लेखे । यहूदी परम्पराअनुसार पनि यहोशू नै यस अध्यायका लेखक हुन् ।

मोशाद्वारा लिखित पाँचवटा पुस्तकमा जम्माजम्मी १८७ ओटा अध्याय छन् जसलाई ५,८५२ ओटा पदमा विभाजन गरिएको छ । व्यवस्था ३४ अध्यायमा केवल १२ ओटा पद रहेका छन् । एकातिर यी पछिल्ला १२ ओटा पदबाहेक सबै मोशाद्वारा लेखिए भने अर्कोतिर यी पदहरू जोसुकैले लेखे तापनि व्यवस्थाको अन्त्यमा मोशाको मृत्युको अभिलेख सोर्‍है आना उपयुक्त निष्कर्ष होइन र ?

Facebook Comments

Powered by Youth Circle