उन्नाइसौँ शताब्दीको उत्तरार्द्धमा इङ्गल्यान्डका सर्वश्रेष्ठ प्रचारक थिए, चार्ल्स स्पर्जिन । “प्रचारकहरूका राजकुमार” भनेर चिनिने तिनले जीवनमा अनुमानित एक करोड मानिसलाई प्रचार गरे । तिनले लन्डनस्थित मेट्रोपोलिटन टेबरनेकल नाम गरेको मण्डलीमा ३८ वर्षसम्म पास्टर भई प्रभुको सेवा गरे । तिनका हजारौँ प्रवचन संसारको चारैतिर पुगेका छन् । तिनका रचनाहरू मनग्गे भाषामा अनुवाद गरिएका छन् । अनाथालय खोली सामाजिक सेवामा पनि होमिएका स्पर्जिन पत्रिकाका सम्पादक पनि थिए । प्रवचन, आत्मचरित्र, टिप्पणीसाथै विभिन्न साहित्यिक कृतिहरूमा कलम चलाएका स्पर्जिनले कविता, भजनसाथै प्रार्थनाको विषयमा पनि लेखेका छन् । स्रोताहरूले मन्त्रमुग्ध भएर तिनका प्रवचनहरू सुन्थे । धेरै ख्रीष्टियानहरूका लागि तिनका लिखित प्रवचनहरू सर्वोत्तम ख्रीष्टियान साहित्य बनेका छन् ।
मानिसहरूको जीवनमा उदेकको परिवर्तन ल्याउन परमेश्वरले तिनका वचनहरूलाई असाधारण रूपमा प्रयोग गर्नुभएका उदाहरणहरू मनग्गे पाइन्छन् । एक साँझ भएको एउटा घटना त्यस्तै उदाहरणहरूमध्ये एक हो ।
एक साँझ एक जना स्त्री (जो पेसाले वेश्या थिइन्) आत्माहत्या गर्ने हेतुले ब्ल्याकफ्रायर्स ब्रिजतर्फ अगाडि बढ्दै थिइन् । यो इङ्गल्यान्डको राजधानी लन्डनस्थित एउटा पुलको नाउँ हो । जाने क्रममा उनी मण्डलीमा आएर रोकिइन्, केही वचन सुन्ने आशाका साथ । विख्यात वक्ता चार्ल्स स्पर्जिनले लूका ७:३६-५० बाट प्रचार गरिरहेका थिए । यस खण्डमा येशूको पाउलाई आफ्ना आँसुले पुछ्ने एक पापी स्त्री अर्थात् वेश्याको बारेमा बताइएको छ । स्पर्जिनले खासमा पद ४४ लाई जोड दिँदै थिए जहाँ लेखिएको छ, “यस स्त्रीलाई देख्तछौ ?” वक्ताको प्रवचन सुनेपछि ती स्त्रीले आफूलाई हेरिन् र परमेश्वरको उदेकको अनुग्रहलाई देखिन् अनि उनले आफ्नो जीवन येशू ख्रीष्टमा अर्पण गरिन् ।
परमेश्वरको वचनले उनलाई आत्महत्या गर्नदेखि मात्र रोकेन तर अनन्त जीवन पनि प्रदान गर्यो । के यो मानव जीवनलाई परिवर्तन गर्नमा बाइबलको वचनमा असाधारण शक्ति छ भन्ने प्रस्ट नमुना होइन र ?