बाइबलीय पात्र बालामको शिलालेख पत्ता लाग्यो

गन्ती २२-२४ अध्यायहरूले बालामको कथालाई वर्णन गर्छन् । बओरका छोरा बालामसित भविष्यवाणी बोल्ने क्षमता थियो । बालाम एक गैरइस्राएली अगमवक्ता थिए ।

इस्राएलीहरू प्रतिज्ञाको देशतर्फ प्रस्थान गर्दै थिए । तिनीहरू अगाडि बढिरहेको खबरले मोआबका राजा बालाक भयभीत भए र इस्राएलीहरूलाई सराप दिन अगमवक्ता बालामलाई भाडामा लिने निधो गरे तिनले । तर परमेश्वर सपनामा बालामकहाँ देखा परी उहाँले इस्राएल जातिलाई सराप दिन बालामलाई मनाही गर्नुभयो । अन्ततः परमेश्वरको अनुमति पाएर बालाम आफ्नो गन्तव्यमा पुग्छन् र तिनले इस्राएलीहरूको पक्षमा सुन्दर ईश्वरवाणी बोल्छन् ।

बाइबलभन्दा बाहिर बालाम नाउँ गरेका कुनै अगमवक्ताको अभिलेख उपलब्ध थिएन । तसर्थ बाइबलका आलोचकहरूले बालाम र तिनीसित जोडिएका घटनालाई काल्पनिक कथाको दर्जा दिँदै आएका थिए । तर बिसौँ शताब्दीको उत्तरार्द्धमा फेला पारिएको पुरातात्त्विक खोजले आलोचकहरूको यस दृष्टिकोणलाई बद्लन बाध्य पारेको छ ।

ख्रिस्टाब्द १९६७ मा जोर्डनको पूर्वी तटमा अवस्थित डेर अल्ला नाउँ गरेको सहरमा एउटा खोज फेला पारियो जसलाई बालामको शिलालेख भनेर चिनिन्छ । यस शिलालेखमा बालाम र तिनको भविष्यवाणीबारे उल्लेख गरिएको छ । बाइबलीय अगमवक्ताबारे बताउने यो नै हालसम्म पत्ता लागेको प्राचीनतम पुरातात्त्विक खोज हो । करिब ८०० ख्रिस्टपूर्वको मिति दिइएको यस शिलालेखलाई अहिले जोर्डनको सिटाडेल सङ्ग्रहालयमा राखिएको छ ।

अगमवक्ताको रूपमा बालामको ख्याति बाइबलीय विवरणसित स्पष्टतः मेल खान्छ । जुन भवनमा यस लेखोटलाई फेला पारिएको थियो, त्यो सम्भवतः राजा उज्जियाह (यशैया ६:१) को शासनकालमा महाभूकम्पको कारणले नष्ट भयो । तर फेला पारिएको लेखोट निकै पुरानो जस्तो देखिन्छ र यो शिलालेख पहिले नै प्रचार-प्रसारमा आइसकेको पाठ्यांशको भागजस्तो देखिन्छ । जुन ठाउँमा बसेर बालामले इस्राएलीहरूको पक्षमा ईश्वरवाणी बोलेका थिए, त्यो ठाउँ यस शिलालेख पत्ता लागेको ठाउँबाट ३० माइल पनि टाढा छैन ।

बालामको शिलालेखको आविष्कारसँगै इस्राएलीहरूको प्रस्थान, उजाड–स्थानसाथै प्रतिज्ञा देशमाथिको कब्जासित जोडिएका घटनाहरूलाई काल्पनिक ठान्नेहरूलाई धक्का पुगेको छ । अब यो प्रस्ट भएको छ कि बाइबलले भनेझैँ बालाम एक ऐतिहासिक व्यक्ति थिए ।

Facebook Comments

Powered by Youth Circle