माइक्रोसफ्ट संस्थानका सहसंस्थापक बिल गेट्सले भनेका छन्, “पढ्नमा म धेरै समय बिताउँछु ।” जर्ज आर. आर. मार्टिन उपन्यासकार हुन् । २०११ मा अङ्ग्रेजी पत्रिका टाइमद्वारा प्रकाशित संसारका सर्वाधिक प्रभावशाली १०० जना मानिसको सूचीमा मार्टिनको नाउँ पनि परेको थियो । किताब पढ्ने सम्बन्धमा तिनको भनाइ छ, “एउटा पाठक मर्नुअगि उसले एक हजारवटा जीवन जिएको हुन्छ । कहिल्यै नपढ्ने मान्छेले एउटै मात्र जीवन जिउँछ ।” अमेरिकी एनिमेसन उद्योगका अग्रणी वाल्ट डिज्नीले भने, “लुटेराहरूद्वारा खजानाको टापुमा थुपारिएका सबै दौलतभन्दा पुस्तकहरूमा बेसी खजाना पाइन्छ ।” फ्रान्सेली सम्राट् नेपोलिएन बोनापार्टले व्यक्त गरे, “मलाई पाठकहरूको एउटा परिवार देखाउनुहोस् अनि म तपाईंलाई संसार हल्लाउने मानिसहरू देखाउने छु ।” पास्टरसाथै लेखक अस्टिन फेल्सले उन्नाइसौँ शताब्दीमै पुस्तकको महत्त्वबारे यसरी व्यक्त गरेका थिए, “पुरानो कोट लगाऊ र नयाँ पुस्तक किन ।”
मैले विगतमा कतिवटा पुस्तक पढेँ, त्यसको कुनै लेखाजोखा राखिनँ । तर यो वर्ष अर्थात् २०१९ मा भने २४ ओटा किताब पढेँ किनकि २०१८ को अन्त्यमा गरिएका सङ्कल्पहरूमध्ये एउटा सङ्कल्प थियो— ख्रिस्टाब्द २०१९ मा २४ ओटा किताब पढेर सिद्ध्याउने । सङ्कल्पअनुसार केही अपवादबाहेक मैले हरेक दिन कम्तीमा आधा घण्टा किताब पढ्नमा बिताएँ । महिनाको दुईवटा किताब पढ्ने अठोट थियो । फलतः वर्षभरिमा २४ ओटा किताब पढेँ र पढिएका पुस्तकहरू निम्न लिखित छन् ।
| S. N. | Name | Author/s or Editor/s |
| 1 | Defending Your Faith: An Introduction to Apologetics | R. C. Sproul |
| 2 | Hidden Treasures in the Book of Job: How the Oldest Book in the Bible Answers Today’s Scientific Questions | Hugh Ross |
| 3 | Mere Christianity | C. S. Lewis |
| 4 | Creation: Remarkable Evidence of God’s Design | Grant R. Jeffrey |
| 5 | The Goldilocks Enigma: Why Is the Universe Just Right for Life? | Paul Davies |
| 6 | God The Evidence: The Reconciliation of Faith and Reason in a Postsecular World | Patrick Glynn |
| 7 | The Physics of God | Joseph Selbie |
| 8 | Signposts to God: How Modern Physics & Astronomy Point the Way to Belief | Peter Bussey |
| 9 | Tactics: A Game Plan for Discussing Your Christian Convictions | Gregory Koukl |
| 10 | The Bible’s Answers to 100 of life’s Biggest Questions | Norman L. Geisler and Jason Jimenez |
| 11 | Cold-Case Christianity: A Homicide Detective Investigates the Claims of the Gospels | J. Warner Wallace |
| 12 | The Story of Reality: How the World Began, How it Ends, and Everything Important That Happens in Between | Gregory Koukl |
| 13 | How to Know God Exists: Scientific Proof of God | Ray Comfort |
| 14 | The Triumph of Christianity: How the Jesus Movement Became the World’s Largest Religion | Rodney Stark |
| 15 | The Christian Parenting Handbook: 50 Heart-Based Strategies for All the Stages of Your Child’s Life | Scott Turansky and Joanne Miller |
| 16 | How Christianity Saved Civilization … And Must Do So Again | Mike Aquilina & James L. Papandrea |
| 17 | This Book Changed Everything: The Bible’s Amazing Impact on Our World | Vishal Mangalwadi |
| 18 | Can Science Explain Every Thing? | John C. Lennox |
| 19 | Forces That Changed The World: Why Christianity Makes Sense | Michael & Lynn Borich |
| 20 | Impossible People: Christian Courage and the Struggle for the Soul of Civilization | Os Guinness |
| 21 | Victory of Reason: How Christianity Led to Freedom, Capitalism, and Western Success | Rodney Stark |
| 22 | God’s Philosophers: How the Medieval World Laid the Foundations of Modern Science | James Hannam |
| 23 | The Logic of God: 52 Christian Essentials for the Heart and Mind | Ravi Zacharias |
| 24 | Mini Habits: Smaller Habits, Bigger Results | Stephen Guise |
२५ नोभेम्बर २०१९ मा नेपालगञ्जस्थित होटल बाटिकामा आयोजित ख्रीष्टियान पुस्तक प्रदर्शनी एवम् गोष्ठीमा मलाई पनि वक्ताको रूपमा पुस्तक पठनबारे केही कुरो बोलिदिन आग्रह गरियो । मैले आफ्नो लेखन यात्रालाई सङ्क्षिप्त रूपमा व्यक्त गरी पुस्तक पढ्नुका फाइदाबारे प्रस्तुत गरेका थिएँ । निस्सन्देह, पुस्तक पढ्नुका विविध फाइदा छन् जसमध्ये यहाँ मैले ७ ओटालाई उल्लेख गरेको छु जुन मैले उक्त दिन प्रस्तुत गरेको थिएँ ।
१. तपाईंको दिमागको लागि फाइदाजनक छ
झन्डै ३०० वर्षअगि अङ्ग्रेज निबन्धकारसाथै नाटककार जोसेफ अडिसनले लेखेका थिए, “जसरी व्यायाम शरीरको लागि हो, त्यसै गरी पढाइ दिमागको लागि हो ।” आधुनिक वैज्ञानिक खोज र अनुसन्धानअगि पनि तिनी यस्तो दाबी गर्न सक्थे र तिनको दाबीलाई आजको वैज्ञानिक खोजले पुष्टि गरिदिएको छ । पढाइले दिमागमा प्रबल सकारात्मक प्रभाव पार्छ भनी अध्ययनले देखाएको छ । दिमाग एउटा मांसपेशी हो र शरीरका अन्य मांसपेशीजस्तै अभ्यासले यसलाई बलियो र तन्दुरुस्त बनाउँछ ।
२. तपाईंको प्रेरणाको लागि फाइदाजनक छ
पुस्तक पढ्नु भनेको प्रेरणा दिने व्यक्तिको वरिपरि बस्नुजस्तै हो । तपाईंले प्रेरणादायी गतिविधिहरूको अवलोकन गर्नुहुन्छ; सङ्क्रामक जोसको अनुभूति गर्नुहुन्छ अनि श्रेष्ठतर जीवन जिउने इच्छा गर्नुहुन्छ । दक्षिण भारतस्थित बाइबल कलेजमा हुँदा मेरो हातमा एउटा किताब पर्यो जसले मेरो रुचिको धारलाई सदाको निम्ति बद्लिदियो । म येशूको दोस्रो आगमनबारे जान्न खोज्ने व्यक्तिबाट ख्रीष्टियान विश्वासको पक्षमा वकालत गर्ने व्यक्तिमा रूपान्तरित भएँ । आधारभूत रूपमा पढाइले तपाईंलाई अझै असल पति, पत्नी, छोरी, छोरो, आमा, बुबा वा कामदार बन्न प्रेरित गर्छ ।
३. तपाईंको स्वास्थ्यको लागि फाइदाजनक छ
याले विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार पढाइले तपाईंको आयु बढाउँछ । तिनीहरूले ५० नाघेका ३,६३५ जना मानिसमा खोज गर्दा दैनिक ३० मिनेट किताब पढ्नेहरू किताब वा पत्र-पत्रिका नपढ्नेहरूभन्दा सालाखाला २३ महिना बढी बाँचेका पाए । किताबहरू पढ्ने अभ्यासले हाम्रो शब्दभण्डार मात्र फराकिलो हुँदैन, तर सोच्ने सिपसाथै मनन गर्ने क्षमता पनि वृद्धि हुन्छ । यसले समानुभूति, सामाजिक बोध र भावनात्मक बौद्धिकतामा पनि प्रभाव पार्छ । फलतः यी सबैको योगले मानिसलाई यस ग्रहमा लामो समयसम्म बस्न टेवा पुर्याउँछ ।
४. तपाईंको सृजनात्मकताको लागि फाइदाजनक छ
किताब पढ्नु र टेलिभिजन हेर्नुमा भएको सबैभन्दा ठुलो भिन्नता भनेको पढाइले तपाईंको सृजनात्मकतालाई स्वतन्त्रता गरिदिन्छ । जति धेरै पढ्नुहुन्छ, त्यति नै धेरै तपाईंले नयाँ-नयाँ कुरा सिक्दै जानुहुन्छ । नयाँ-नयाँ विचारले जीवनलाई अझै नयाँ र उत्तम तरिकाले पुनः खोज गर्न तपाईंको दिमागलाई तन्काउने छन् । हामीले संसारलाई नयाँ तरिकाले देख्न थाल्छौँ र नयाँ सृजनशील समाधान फेला पार्छौं ।
५. तपाईंको स्मरणशक्तिको लागि फाइदाजनक छ
हरेक पटक तपाईंले पुस्तक पढ्नुहुँदा तपाईंको पुस्तकका परिवेश, पात्रहरू, तिनीहरूका पृष्ठभूमि, कथा, तिनीहरूको व्यक्तित्वसाथै अन्य धेरै कुरालाई सम्झनुपर्ने हुन्छ । दिमागले यी सबै कुरालाई याद गर्न थाल्दा तपाईंको स्मरणशक्ति उत्तम हुँदै जान्छ । तर मानवीय दिमाग यति अद्भुत छ कि यसले सजिलैसित यी सबै कुरालाई याद गर्न सक्छ । दिमागलाई अझै कसरी तेजिलो बनाउन सकिन्छ भन्नेबारे मनग्गे पुस्तक लेखिएका छन् ।
६. तपाईंको ज्ञानको लागि फाइदाजनक छ
हामीले पुस्तक पढ्नुका विविध कारणहरूमध्ये एउटा हो— ज्ञान आर्जन गर्नु । पुस्तक जानकारीको विशाल स्रोत मात्रै होइन तर सस्तो मनोरञ्जनको स्रोत पनि हो । विविध विषयहरूबारे लेखिएका पुस्तकहरू पढ्दा तपाईं त्यस विषयको गहिराइमा डुबुल्की मार्नुहुन्छ । कुनै पनि पुस्तक पढ्नुहुँदा तपाईंले नयाँ जानकारी हासिल गर्नुहुन्छ जुन अन्यथा प्राप्त हुँदैन । जति धेरै ज्ञान बटुल्नुहुन्छ त्यति नै धेरै तपाईं आफूले सामना गर्नुभएका चुनौतीहरूसित लड्न सक्षम बन्नुहुन्छ । तपाईंले आफ्नो पेसा, सम्पत्ति, स्वास्थ्य गुमाउन सक्नुहुन्छ, तर कसैले तपाईंबाट तपाईंको ज्ञान खोसेर लैजान सक्दैन ।
७. तपाईंको लेखन कलाको लागि फाइदाजनक छ
राम्ररी लेखिएको पुस्तकले अझै उत्तम लेखक बन्ने तपाईंको क्षमतालाई वृद्धि गरिदिन्छ । जसरी कलाकारहरूले अरूलाई प्रभावित तुल्याउँछन्, त्यसै गरी पुस्तकहरूले पनि प्रभावित तुल्याउँछन् । अरूहरूद्वारा लिखित पुस्तकहरू पढेर सफल लेखक बनेका उदाहरणहरू मनग्गे छन् । तपाईं र म अझै उत्तम लेखक बन्न चाहन्छौँ भने हामीले अरूबाट सिक्नुपर्छ ।
अब २०२० का लागि मेरा विविध सङ्कल्पहरूमध्ये एउटा पुरानै सङ्कल्प छ— २४ ओटा नयाँ किताब पढेर सिद्ध्याउने । मैले ती पुस्तकहरूको सूची तयार पारिसकेको छु । अहिलेसम्म पुस्तक पढ्ने आदत बनाउनुभएको छैन भने तपाईंले २०२० बाट थालनी गर्न सक्नुहुन्छ । तपाईंको आदत बसिसकेको छ भने त्यसलाई निरन्तरता दिनुहोस् । हामी मोबाइल रिचार्ज, इन्टरनेट, टेलिभिजन, पेट्रोल, घरभाडा, घुमघाम, बच्चाबच्चीको ट्युसन फी, रासन आदिको लागि बजेट छुट्ट्याउँछौँ भने हरेक महिना किताबको लागि भनेर किन बजेट नछुट्ट्याउने ? राम्रो संस्कारको लागि लगानी गर्यौँ भने नतिजा पनि राम्रै हात लाग्छ । तीन हजार वर्षअगि दार्शनिक सोलोमनले सल्लाह दिएका थिए, “बुद्धि अति श्रेष्ठ हो, त्यसैले बुद्धि प्राप्त गर् । तँसँग भएका सबै कुराले मूल्य चुकाउनुपरे तापनि, समझशक्ति प्राप्त गर्” (हितोपदेश ४:७) ।
Reasons to Believe KamalAdhikari.com.np 


