सैयौँ मानिसको हत्यारा पिन येशूको सुसमाचारद्वारा परिवर्तन भए

क्रिस्टोफर लापेल क्याम्बोडियामा कम्युनिस्टहरूको अत्याचारबाट बाँच्न सफल भएका थिए । भागेर थाइल्यान्ड पुगेका लापेलले त्यहाँ येशू ख्रीष्टको बारेमा सुनेपछि आफ्नो जीवन येशूमा सुम्पे । पछि तिनी अमेरिका पुगे र पास्टर बने । क्याम्बोडियामा कम्युनिस्ट शासन ढलेको १५ वर्षपश्चात् अर्थात् ख्रिस्टाब्द १९९४ मा लापेल र तिनका मानिसहरूले उक्त मुलुकको उत्तर पश्चिममा पर्ने बट्टमबङ्ग प्रान्तमा एउटा मण्डली स्थापना गरे । पछिल्लो वर्ष लापेल तालिमको लागि त्यहीँ पुगे ।

तालिममा निम्त्याइएकाहरूमध्ये एक जनाको नाउँ थियो, हाङ्ग पिन । पिन गाउँका शिक्षक थिए । ख्रीष्टियान नभए तापनि तिनी लापेलको तालिममा सहभागी हुन राजी भए किनकि नैराश्यको भूमरीमा जेलिएकाले तिनले उत्साहको खोजी गरिरहेका थिए ।

लापेलको एउटा कक्षामा पिनले येशूलाई व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गरे र अर्को दिन तिनले साङ्गके नदीमा पानीको बप्तिस्मा लिए । तिनको जीवनमा नाटकीय रूपान्तरण देखा पर्‍यो । पछि तिनी आफ्नो गाउँमा फर्के र आफ्ना छोराछोरीहरूलाई येशू ख्रीष्टमा डोर्‍याए अनि बप्तिस्मा दिए । त्यहाँ चाँडै नै १४ परिवार ख्रीष्टियान बने ।

तर पिनको विगत डरलाग्दो थियो । वास्तवमा पिन को थिए ? पिन हत्यारा थिए । १९४२ मा क्याम्बोडियामा जन्मेका पिनको पहिलेको नाउँ डच थियो । तिनी कमरेड डच थिए । तिनी एस-२१ नाउँ दिइएको यातना केन्द्रका अगुवा थिए । त्यहाँ १४,००० जना मानिस बन्दी बनाइएका थिए जसमध्ये ७ जना मात्रै जीवितै फर्के । क्याम्बोडियामा कम्युनिस्टहरूको शासनकालमा झन्डै २० लाखले ज्यान गुमाएका थिए । सैयौँ मानिसको हत्याको लागि पिन जिम्मेवार थिए । अन्य कम्युनिस्ट अगुवाहरूले आफ्नो विगत लुकाए तापनि पिनले त्यसो गरेनन् । तिनले आफ्नो विगतका अपराधहरूलाई स्वीकार गरे । तिनको सुस्पष्ट पाप-स्वीकार अन्तर्राष्ट्रिय मिडियाहरूमा मुख्य समाचार बन्यो ।

हत्याको अभियोगमा जन्म कैद भोगिरहेका ७७ वर्षे पिन अहिले पनि झ्यालखानामा छन् तरै पनि तिनी यसो भन्छन्, “म कैदी होइनँ । म फुक्का मान्छे हुँ । मेरो जीवनको हरेक दिन म रमाउँछु । म मृत्युको लायक छु । म यस दण्डको लायक छु । तर मैले येशूलाई पाएको छु । त्यसैले मसित प्रेम छ । मैले पहिले नै येशूलाई पाएको भए मैले जे गरेँ त्यो मैले कहिल्यै गर्ने थिइनँ । मलाई उहाँको प्रेमको बारेमा कहिल्यै थाहा थिएन ।”

Facebook Comments

Powered by Youth Circle