चन्द्र धरातलमा प्रभु-भोज खाएर इतिहास रचे बुजले

इतिहासमा २० जुलाई १९६९ अविस्मरणीय छ किनकि त्यही दिनमा चन्द्रमाको धरातलमा पाइला टेकी दुई जना अन्तरिक्ष यात्रीले इतिहास रचे । ती दुई जना मानिस थिएः निल आर्मस्ट्रङ्ग र बुज अल्ड्रिन । नासाद्वारा प्रक्षेपित अप्पोलो ११ नामक अन्तरिक्ष यानमार्फत तिनीहरूले चन्द्र धरातलमा पाइला टेकेका थिए । तर यी दुईमध्ये त्यही दिन बुजले चन्द्र धरातलमा प्रभु-भोज खाएर अर्को इतिहास पनि रचे जुन धेरैलाई थाहा नहुन सक्छ । त्यस बेला अमेरिकी सरकारले यसलाई सार्वजनिक गर्न चाहेको थिएन । हालसम्म चन्द्रमामा प्रभु-भोज खाइएको त्यही नै पहिलो र एक मात्र अभिलेख हो ।

ख्रिस्टाब्द १९३० मा अमेरिकामा जन्मेका बुज इन्जिनियरसाथै पूर्व-अन्तरिक्ष यात्री हुन् । तिनी टेक्सासस्थित वेब्स्टर प्रेसबिटेरिएन मण्डलीका एल्डर थिए । चन्द्रमामा तिनी आफ्ना सृष्‍टिकर्ता परमेश्‍वरको निम्ति कुनै स्मरणयोग्य काम गर्न चाहन्थे । आफ्नो मण्डलीका पास्टरसित परामर्श गरी चन्द्र धरातलमा प्रभु-भोज खानु नै सबैभन्दा उचित कार्य हुनेथियो भन्‍ने निष्कर्षमा पुगे तिनी । प्रभु-भोजको रोटी र पेय पदार्थ दैनिक जीवनका प्रतीक हुन् ।

बुजको भनाइअनुसार तिनले आफूसित लगेका सानो प्लास्टिकको पोको खोले जसमा सारा मानव-जातिको निम्ति आफ्नो प्राण अर्पण गर्नुहुने प्रभु येशूको शरीरको प्रतिनिधित्व गर्ने रोटी र रगतको प्रतिनिधित्व गर्ने पेय पदार्थ थिए । मण्डलीले तिनलाई पठाएको कचौरामा तिनले पेय पदार्थ खन्याए । त्यसपछि तिनले यूहन्‍नाको सुसमाचारबाट एउटा खण्ड पढे, “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ । यदि कोही ममा रह्‍यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ” (यूहन्‍ना १५:५) । तिनले रोटी खाए र पेय पदार्थ पिए ।

यसरी चन्द्र धरातलमा प्रभु-भोज खाई बुजले इतिहास रचेका थिए । रोचक तथ्य यो पनि हो कि चन्द्र धरातलमा पहिलो पटक खन्याइएको तरल पदार्थ र खाइएको पहिलो खाना प्रभु-भोजका तत्त्वहरू थिए । चन्द्रमामा बोलिएका सुरुका केही वचनहरू येशू ख्रीष्‍टका वचनहरू नै थिए जसले स्वर्ग र पृथ्वीलाई सृष्‍टि गर्नुभयो ।

Facebook Comments

Powered by Youth Circle