ख्रिस्टमसको विरुद्धमा आवाज उठाउनेहरूको समूह विगतमा पनि थियो र वर्तमान पनि छ । ख्रीष्टियानहरूले ख्रिस्टमस मान्नुहुँदैन भन्नाका लागि विविध कारणहरू पेस गरिएका छन् । यस आलेखमा त्यस्ता ७ ओटा कारण पेस गरी तिनको खण्डन गरिएको छ ।
१. ‘ख्रिस्टमस मनाओ’ भनेर बाइबलमा लेखिएको छैन
बाइबलमा ‘ख्रिस्टमस मनाओ’ भनेर नलेखिएकोले हामीले ख्रिस्टमस मनाउनुहुँदैन भनी तर्क गरिन्छ ।
यस्तो तर्कलाई ‘अति-अक्षरानुसरण’ भनिन्छ । यस्तो तर्कले बाइबलमा शब्दको खोजी गर्छ तर त्यसको मर्मलाई पूर्णतः बेवास्ता गरिदिन्छ । यही तर्कको अनुसरण गर्ने हो भने मण्डलीमा अभ्यास गरिएका र प्रयोग गरिएका अन्य थुप्रै कुराहरूलाई पनि हामीले मिल्काइदिनुपर्छ । झन्डै विश्वव्यापी बनेको बुधबारको प्रार्थना सङ्गति, भजनपुस्तक, मण्डली भवन, ख्रीष्टियान पत्रपत्रिका आदिबारे बाइबल मौन छ । बाल सङ्गति, ख्रीष्टियान स्कुल, अस्पताल, विश्वविद्यालयजस्ता अवधारणाहरू धेरै पछि मात्र अस्तित्वमा आएका हुन् । तर आज यी सबै कुरामा हामी संलग्न हुन्छौँ । बाइबलमा ‘त्रिएकता’ शब्द पाईंदैन यद्यपि यसबारे भएको अवधारणा पाइन्छ र यो मण्डलीको एउटा मुख्य सिद्धान्त हो । निस्सन्देह, ख्रिस्टमसको विरोध गर्नेहरूले पनि यी कुराहरूको चाहिँ पक्कै विरोध गर्दैनन् यद्यपि यी बाइबलमा छैनन् ।
२. बाइबलले ख्रिस्टमसलाई निषेध गरेको छ
“यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्” (कलस्सी २:१६) । यो पदलाई उद्धृत गरी बाइबलले ख्रिस्टमसलगायतका पर्वहरूलाई निषेध गर्छ भनी तर्क गरिएको छ ।
यस पदमा पावल पुरानो करारका चाडपर्वहरूबारे बोलिरहेका छन् । ती येशू ख्रीष्टको व्यक्तित्व र कामका छायाँ मात्र थिए । नयाँ करारमा येशू ख्रीष्टको आगमन भइसकेकोले ती चाडहरू मानिरहनुको अर्थ उहाँको आगमनको सत्यतालाई अनादर गर्नुथियो वा उहाँ उद्धारको निम्ति अपर्याप्त हुनुहुन्थ्यो भन्नुजस्तै थियो । कलस्सी २:१६ ख्रिस्टमससित सम्बन्धित पद होइन, न त यसले विश्वासीलाई ख्रिस्टमस मान्नबाट रोक्छ ।
३. ख्रीष्टको जन्मदिन अनिश्चित छ
बाइबलमा ख्रीष्ट कहिले जन्मनुभयो भनेर नलेखिएकोले २५ डिसेम्बरलाई उहाँको जन्मदिनको रूपमा मनाउनु गलत हुन्छ भनी तर्क गरिन्छ ।
यो कुरो साँचो हो कि हामीलाई येशूको जन्मदिन प्रकट गरिएको छैन । यो पनि उत्तिकै साँचो हो कि येशू ठ्याक्कै डिसेम्बर २५ मै जन्मनुभएको थियो भनेर मण्डलीले दाबी गर्दैन । तर येशूको जन्मदिन मनाउने यो लगभग ठिक समय हो भन्नाका लागि जायज कारणहरू छन् ।
यरूशलेमस्थित मन्दिरमा प्रायश्चित्तको दिनमा जकरियाले सेवा गर्दा तिनका छोरा बप्तिस्मा-दिने यूहन्ना एलीशिबाको गर्भमा आए (लूका १:८-२५; १ इतिहास २४:५) । यो २५ सेम्टेम्बरको मिति थियो भनी दाबी गरिएको छ । त्यसको ६ महिनापछि येशू पवित्र आत्माको शक्तिद्वारा मरियमको गर्भमा आउनुभयो भनी प्रस्टसित लेखिएको छ (लूका १:२६-३८) । यो २५ मार्चको मिति थियो । गर्भधारणको ९ महिनापछिको मिति भनेको २५ डिसेम्बर हो ।
ख्रीष्ट ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ भन्ने कुरामा कुनै शङ्का छैन । त्यसो हो भने ख्रीष्ट एक न एक दिन त पक्कै जन्मनुभएको हो । एकातिर डिसेम्बर २५ को विरोध गर्नेहरूले विकल्पको रूपमा अर्को दिन निर्धारण गर्न नसक्ने भएकोले र उहाँको ऐतिहासिकता शंकारहित भएकोले ख्रिस्टमस ख्रीष्टको जन्मदिन होइन भन्नुमा पनि त्यति तुक देखिँदैन । अधिक वर्षको फेब्रुअरी २९ मा जन्मेको बालिकाको जन्मदिन चार वर्षमा एकचोटि मात्र मनाउने हो र ? कतिपय अवस्थामा मिति होइन विषय महत्त्वपूर्ण हुन्छ ।
४. ख्रिस्टमसको चलन गैरख्रिस्टियान जगत्बाट आएको हो
प्राचीन रोममा साटुरनालिया नाम गरेको चाड मनाइन्थ्यो । एक-हप्ते लामो (१७-२३ डिसेम्बर) यो चाडमा शनि देवताको आदर गरिन्थ्यो । सोल इन्भिक्टस नाउँ गरेको अर्को एउटा चाड पनि थियो जुन २५ डिसेम्बरमा मनाइन्थ्यो । यिनै चाडपर्वहरूको प्रभावमा ख्रिस्टमस मनाउने चलन सुरु भएकोले हामीले ख्रिस्टमस मनाउनुहुँदैन भन्ने दाबी गरिन्छ ।
हाम्रो प्रचलनमा रहेका अनगिन्ति नाउँहरूको उद्भव गैरख्रिस्टियान नै छन् भनेर हामीले भुल्नुहुँदैन । बारका नाउँहरू देवी देवताका नामहरूसँग सम्बन्धित छन् । आइतबार र सोमबार सूर्य र चन्द्रमाको पूजासित जोडिएका थिए भने मंगलबार युद्धको देवतासित सम्बन्धित थियो । बुधबार (अर्थात् वेनसडे) वुडनबाट व्युत्पन्न भएको हो जुन जर्मन मिथ्याशास्त्रमा एक प्रमुख देवता थियो । बिहिबार आकाश वा गर्जनको देवतासित सम्बन्धित थियो । शुक्रबार (अर्थात् फ्राइडे) फ्रियाबाट आउँछ जुन प्रेमकी देवी हो । त्यसै गरी, शनिबार शनि देवतासित सम्बन्धित थियो । तर यी सबै बारले आफ्नो मौलिक अर्थ गुमाइसकेका छन् । आज हामीले आइतबार भन्दा त्यो सूर्य देवतासित सम्बन्धित छैन । हाम्रो लागि आइतबारको अर्थ हुन्छ, हप्ताको पहिलो दिन । अहिले हामीले ख्रिस्टमस मान्दा न शनि देवतालाई पुजेका हुन्छौँ, न त अर्को कुनै देवतालाई । सुरुमा ख्रिस्टमसको अर्थ जेसुकै भए तापनि आज दुनियाँले यसलाई येशूको जन्मदिनको रूपमा बुझ्छ ।
५. ख्रिस्टमससित जोडिएका परम्पराहरू गैरख्रिस्टियान छन्
ख्रिस्टमससित विविध परम्पराहरू गाँसिएर आएका छन्— उपहार साटासाट गर्ने चलन, ख्रिस्टमस ट्री, ख्रिस्टमस कार्ड, क्यारल, झिलिमिलि पार्ने बत्ती, सान्ता क्लज आदि । निस्सन्देह, ख्रिस्टमससित गाँसिएका कतिपय चलनहरूको उद्भव गैरख्रिस्टियान थिए । यी गैरख्रिस्टियान भएकाले हामीले तिनलाई मण्डलीमा भित्र्याउनुहुँदैन भनी तर्क गरिन्छ ।
सुरुमा यी परम्पराको अर्थ जे भए तापनि आज हामी तिनलाई त्यही अर्थमा प्रयोग गर्दैनौँ बरु नयाँ अर्थसहित प्रयोग गर्छौं । बाइबलीय प्रयोगमा ‘मण्डली’ को अर्थ ‘विश्वासीहरूको समुदाय’ हुन्थ्यो तर इतिहासमा यसले नयाँ अर्थ धारण गरिसकेको छ । आज यसले थप अर्थ पनि दिन्छ— विश्वासीहरूले आराधना गर्ने भवन । पहिले ‘माउस’ को अर्थ मुसो भन्ने हुन्थ्यो तर आज यसले कम्प्युटर चलाउन प्रयोग गरिने उपकरण भन्ने अर्थ पनि दिन्छ ।
झिलिमिलि पार्ने बत्तीले ख्रीष्ट संसारको ज्योति हुनुहुन्छ भनी याद दिलाउँछ । ख्रिस्टमस वृक्षको टुप्पोमा तारा राखिन्छ जसले बेथलेहेमको ताराको सम्झना दिलाउँछ । ख्रिस्टमसको अवसरमा उपहारहरू साटासाट गरिन्छन् जसले हामीलाई बुद्धिमान् मानिसहरूद्वारा येशूलाई चढाइएका उपहारहरूको मात्र याद दिलाउँदैन, तर येशू स्वयम् नै परमेश्वरका महान्तम उपहार हुनुहुन्छ भनेर पनि स्मरण दिलाउँछ ।
६. ख्रिस्टमसलाई व्यापारीकरण गरिएको छ
ख्रिस्टमसको नाउँमा व्यापार हुने गरेको छ । यो अवसरमा पियक्कडपन र अनैतिकता बढी हुने गर्छ अनि ख्रिस्टमसको वास्तविक अर्थ नै गुमेको छ भनी तर्क गरिएको पाइन्छ ।
कसैद्वारा कुनै कुरोलाई गलत दृष्टिकोणबाट प्रयोग गरिएको छ भन्ने आधारमा हामीले त्यसलाई वञ्चित गर्यौँ भने हामीले प्रायः सबै कुरालाई मिल्काइदिनुपर्छ । उदाहरणको लागि, फेसबुकलाई नै लिऔँ । फेसबुकलाई एउटा चक्कुसित तुलना गर्न सकिन्छ । चक्कुलाई सदुपयोग गरी तरकारी काटेर खानुभयो भने भोक मेट्न सक्नुहुन्छ । दुरुपयोग गरी मान्छेको भुँडी रोपिदिनुभयो भने तपाईं झ्यालखानामा सड्न पनि सक्नुहुन्छ । फेसबुकलाई दुरुपयोग गर्ने मानिसहरू छन् भन्दैमा यसको प्रयोगलाई रोक्न मिल्दैन । शनिबार अनैतिकता वा दुर्घटना बढी भयो भन्दैमा हामी अर्को दिनमा आराधना गर्दैनौँ ? हवाइजहाजको दुर्घटनाले हवाइ विज्ञानलाई असफल तुल्याउँछ र ? दुर्घटना हुन्छ भनेर काठमाडौँदेखि झापासम्म हिँडेर जाने व्यक्ति कोही छ र ? संसारले कुनै कुरोलाई बङ्ग्यायो भन्दैमा त्यो वस्तु आफैमा खराब हुँदैन । त्यसमा जोडिएको खराबीलाई हटाई परमेश्वरले चाहनुभएअनुसार हामी त्यसलाई प्रयोग गर्न सक्छौँ । हामी ख्रिस्टमसका सकारात्मक पक्षहरूलाई निर्धक्कसँग परमेश्वरको महिमाको लागि प्रयोग गर्न सक्छौँ ।
७. ख्रिस्टमस मान्नु मूर्तिपूजा गर्नु हो
“परमप्रभु यसो भन्नुहुन्छ: ‘जाति-जातिहरूका चाल नसिक, अथवा उनीहरूझैँ आकाशका चिन्हहरूदेखि त्रासित नहोओ । किनकि जाति-जातिहरूका रीतिथिति त व्यर्थ हुन् । उनीहरू वनमा एउटा रूख ढाल्छन्, र सिकर्मीको हातले हतियारद्वारा कुनै आकार बनाइन्छ । उनीहरूले त्यसलाई सुन र चाँदीले सिँगार्दछन् । त्यो नहल्लिओस् भनेर उनीहरूले त्यसलाई घन र कीलाले ठोक्दछन्” (यर्मिया १०:२-४) । ख्रिस्टमसको मौसममा ख्रिस्टमस वृक्षलगायत अन्य सिङ्गारपटारहरूले पनि ठाउँ पाउने भएकाले हामीले त्यसो गर्दा मूर्तिपूजा गरेका हुन्छौँ भनी तर्क गरिएको छ ।
यर्मिया १० र ख्रिस्टमस वृक्षको बिचमा केही समानता देखिए तापनि निस्सन्देह यर्मियाले ख्रिस्टमस वृक्षको बारेमा बताएका होइनन् । ख्रिस्टमस वृक्षको चलन त यर्मियाको समयभन्दा झन्डै २,००० वर्षपछि अर्थात् ख्रिस्टाब्द पन्ध्रौँ शताब्दीपछि मात्र अस्तित्वमा आएको जस्तो देखिन्छ । यस खण्डमा यर्मियाले ख्रिस्टमस ट्रीको बारेमा नभई झुटा देवताको प्रतिनिधित्व गर्ने मूर्तिको बारेमा बताउँदै छन् ।
पावलले भनेका छन्, “कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा बढी महत्त्वको मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ । हरेक मानिस आफ्नै मनमा पूर्ण रूपले निश्चित हुनुपर्छ” (रोमी १४:५) । उही निष्कर्षमा नआउने अर्को भाइलाई हामीले उपेक्षा गर्नुहुँदैन, ” खानेले नखाने मानिसलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस् । किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ” (रोमी १४:३) । येशू संसारका मुक्तिदाता हुनुहुन्छ भन्ने सत्यताको घोषणा गर्न ख्रिस्टमसको अवसरलाई सदुपयोग गर्नु उपयुक्त हुँदैन र ? अनुग्रहको युगमा ख्रीष्टमा हामीले प्राप्त गरेका स्वतन्त्रताको कारण ख्रिस्टमस मनाउनलाई हामी फुक्का छौँ । बाइबलले कहीँ पनि ख्रिस्टमसको विरोध गरेको छैन भनेर बुझ्नु जरुरी छ । ख्रिस्टमस मान्नेले नमान्नेलाई उपेक्षा नगरोस्, न त नमान्नेले मान्नेलाई उपेक्षा गरोस् । ख्रिस्टमस मान्ने वा नमान्ने कुरो उद्धारजस्तो महत्त्वपूर्ण विषय नभई गौण विषय भएकोले यो मौसममा एकले अर्कोलाई आदर गर्न सिकौँ । ख्रिस्टमस मनाउने वा नमनाउने भन्ने कुरो व्यक्तिको स्वतन्त्रताको विषय हो ।