ख्रिस्टमसबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१.   नेपाली रूप ‘ख्रिस्टमस’ अङ्ग्रेजी भाषा Christmas को लिप्यन्तरण हो । यो ख्रीष्टियानहरूले प्रयोग गर्ने हिज्जे हो भने गैरख्रिस्टियानहरू साधारणतया ‘क्रिसमस’ भन्छन् । अङ्ग्रेजी भाषामा यो संयुक्त संज्ञा हो जुन पुरानो अङ्ग्रेजी भाषाको Crīstesmæsse बाट व्युत्पन्न हुन्छ जसको अर्थ हुन्छ, Christ’s Mass । यसको नेपाली अर्थ हुन्छ, ‘ख्रीष्टको समारोह ।’

२.   ख्रिस्टमस जिजस क्राइस्ट अर्थात् प्रभु येशू ख्रीष्टको जन्मको सम्झनामा मनाइने वार्षिक पर्व हो जुन डिसेम्बर २५ अर्थात् पौष १० गते मनाइन्छ । यो वर्ष भने ख्रिस्टमस पौष ९ गते परेको छ । यो मूलत: ख्रीष्टियानहरूको बडादिन भए तापनि संसारका ख्रीष्टियानसाथै गैरख्रिस्टियान दुवै थरीका अरबौँ मानिस उहाँको जन्मोत्सवमा रमाउँछन् ।

३. ख्रिस्टमससँग गाँसिएका थुप्रै चलनहरू विभिन्न समयमा विभिन्न देशबाट आएका छन् । ख्रिस्टमसको समयमा उपहारहरू साँटासाँट गर्ने चलन प्राचीन रोमबाट आएको हो । अठारौँ शताब्दीको अन्त्यसम्ममा परिवारका सदस्यहरूबिच उपहारहरू साँटासाँट गर्ने अभ्यास राम्ररी नै स्थापित भइसकेको थियो । उपहार लेनदेनले हामीलाई परमेश्वरले आफ्ना एकमात्र पुत्र दिनुभएको तथ्यको सम्झना गराउँछ । बुद्धिमान् मानिसहरूले बालक येशूलाई किम्मती उपहारहरू चढाएका थिए— सुन, सुगन्धित धूप र मूर्र ।

४.   ख्रिस्टमस वृक्ष अर्थात् ख्रिस्टमस ट्री समयको मार्गमा थपिएको अर्को परम्परा हो जसलाई जर्मनीले भित्र्याएको थियो । पुनर्जागरणकालीन मानवअधिकारवादी लेखक सेबास्टिएन ब्रान्टद्वारा ख्रिस्टाब्द १४९४ मा लिखित आफ्नो कृतिमा तिनले घरहरूमा देवदारु वृक्षका हाँगाहरू राख्ने चलनलाई अभिलिखित गरेका छन् । ख्रिस्टमस वृक्षको परम्पराको सुनिश्चित मिति र उत्पत्तिबारे अनिश्चयत भए पनि स्याउहरूसँग सजाइएका देवदारु रूखहरू पहिलो पटक १६०५ मा स्ट्रासवर्गमा जानकारीमा आएजस्तो देखिन्छ ।

५.   ब्रिटिस नागरिक जे. सी. हर्सले १८४३ मा पहिलो ख्रिस्टमस कार्डको रचना गरेका थिए । यो आधुनिक पोस्टकार्डजस्तै थियो र यसमा लेखिएका शब्दहरू यस्ता थिए, ‘Merry Christmas and a Happy New Year to You’ ।

६.   क्यारल शब्दको अर्थ हुन्छ, ‘गीत वा भजन ।’ ख्रिस्टमसको अवसरमा गाइने क्यारलका गितका शब्दहरू ख्रीष्टियान विषयवस्तुसित जोडिएका हुन्छन् । वर्तमान समयमा क्यारलमा गाइने थुप्रै भजनहरू अठारौँ र उन्नाइसौँ शताब्दीमा रचना गरिएका थिए जसमध्ये केही नेपाली भाषामा पनि अनुवाद भएका छन् भने क्यारलसम्बन्धी कतिपय भजनहरू नेपालीहरूले पनि रचना गर्न थालिसकेका छन् ।

७.   ख्रिस्टमसको केन्द्रिय सन्देश येशूको देहधारण हो । यो ख्रिस्टियमतको अद्वितीय पक्ष हो जुन अन्य धर्महरूमा पाईंदैन । हाम्रा बिचमा जिउन र हाम्रो पापको निम्ति मर्न परमेश्वरले मानव चोला धारण गर्नुभयो । योभन्दा महान्‌तम सन्देश के हुन सक्छ र ?

Facebook Comments

Powered by Youth Circle