येशूले मात्र निष्पाप जीवन जिउनुभयो

पिलातस बडाहाकिम थिए । त्यसैले राजनीतिक दृष्टिकोणबाट तिनी उच्च स्थानमा थिए । रोमीहरू र यहूदीहरूको बिचमा वैमनस्य थियो । येशू यहूदी हुनुहुन्थ्यो भने पिलातस रोमी । बडाहाकिम भएकाले येशूको जाँच पडताल गर्ने जिम्मा तिनको काँधसम्म आइपुग्यो । अनुसन्धानपश्चात् तिनले येशूको बारेमा उचित निष्कर्ष निकाले, “तिमीहरूकै सामुन्ने केरकार गर्दा तिमीहरूले यिनमाथि लाएका अभियोगको दोषी भेट्टाइनँ” (लूका २३:१४) । पिलातसको निर्णय इतिहासकै निर्णय भएको छ ।

येशूले आफ्नो जीवन दुष्ट र भ्रष्ट पुस्ताको बिचमा बिताउनुभयो । तथापि मानव चोलामा उहाँले जुन अनुकरणीय जीवन जिउनुभयो त्यो उच्चतम प्रशंसाको लायक छ । उहाँले कसैलाई चोट पुर्‍याउनुभएन; कसैबाट कुनै फाइदा लिनुभएन; कहिल्यै अनुचित वचन बोल्नुभएन; कहिल्यै गलत काम गर्नुभएन । यस मानव धरतीमा येशू मात्रै एक यस्तो अनुपम व्यक्तित्व हुनुहुन्छ जसले पापरहित जीवन जिउनुभयो । यो कुनै कथन मात्रै होइन तर गवाहीहरूमा आधारित उचित निष्कर्ष हो । उहाँका मित्रहरूले मात्र उहाँले सिद्ध जीवन जिउनुभयो भनेर गवाही दिएका छैनन्, तर उहाँका शत्रुहरूले पनि उहाँमा कुनै खोट देखाउन सकेनन् । उहाँले मात्र यसको दाबी गर्नुभएन, तर उहाँको जाँच पडताल गर्ने अधिकारीहरू पनि उही निचोडमा पुगे ।

येशूका केही शत्रुहरूले उहाँको विरुद्धमा झुटा दोषहरू अगाडि ल्याए । क्रूस नजिक भएका कप्तानले यसो भन्दै सहमति जनाए, “निश्चय नै यिनी धार्मिक मानिस थिए” (लूका २३:४७) । येशूलाई साढे तीन वर्षसम्म नजिकबाट राम्ररी अवलोकन गरेका यूहन्नाले येशूको बारेमा लेखे, “पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्ने कुरा तिमीहरू जान्दछौ । र उहाँमा कुनै पाप छैन” (१ यूहन्ना ३:५) । येशूसँग क्रूसमा टाँगिएको एक अपराधीले भन्यो, “यी मानिसले त केही अनुचित काम गरेका छैनन्” (लूका २३:४१) । येशू सबै कुरामा परीक्षित हुनुभए तापनि “पापरहित हुनुहुन्थ्यो” भनी हिब्रूका लेखकले गवाही दिए (४:१५) । आफूलाई दोष लागउनेहरूलाई येशू आफैले एक पटक चुनौती दिनुभयो, “तिमीहरूमध्ये कसले मलाई पापको दोष लाउन सक्छ ?” (यूहन्ना ८:४६), कसैले उहाँमा कुनै दोष भेट्टाएन । यथार्थत: येशू पापरिहत हुनुहुन्छ र कुनै मानिस पापरहित नभएकोले यस क्षेत्रमा उहाँ अद्वितीय हुनुहुन्छ ।

निष्कर्षमा, येशू संसारको निम्ति परमेश्वरको अवर्णनीय उपहार हुनुहुन्छ । उहाँको आश्चर्यमय गर्भधारणदेखि उहाँको अलौकिक स्वर्गारोहणसम्म; उहाँको निष्पाप चरित्रदेखि उहाँको अतुलनीय शिक्षासम्म येशू अन्य सबै धार्मिकसाथै नैतिक अगुवाहरूभन्दा माथि हुनुहुन्छ । उहाँको जन्मदेखि स्वर्गारोहणसम्मको पाटो-पाटोमा उहाँ अद्वितीय हुनुहुन्छ ।

Facebook Comments

Powered by Youth Circle