येशू परमेश्वर-मानव हुनुहुन्छ

येशू मात्र एक यस्तो व्यक्तित्व हुनुहुन्छ जसमा मानवीय र ईश्वरीय दुवै स्वभाव थिए । पवित्रशास्त्र बाइबलको साक्षीअनुसार उहाँ आधा मानिस र आधा परमेश्वर हुनुहुन्न, तर पूर्ण मानिस र पूर्ण परमेश्वर हुनुहुन्छ ।

येशू अनन्त परमेश्वर हुनुहुन्थ्यो जसले समयको मार्गमा मानवीय चोला धारण गर्नुभयो । एकातिर, बेथलेहममा जन्म लिनुभन्दा अगाडि उहाँमा मानवीय स्वभाव थिएन भने अर्कोतिर मानवीय स्वभाव धारण गरेर उहाँले ईश्वरीय स्वभाव गुमाउनुभएको होइन । उहाँको जन्ममा उहाँले थप स्वभाव अर्थात् मानवीय स्वभाव धारण गर्नुभयो । त्यसैले उहाँ परमेश्वर-मानव हुनुहुन्छ ।

उहाँले मानव-जातिको प्रतिनिधित्व गर्नुपर्ने भएकोले उहाँ मानिस भएर जन्मनुपर्थ्यो । उहाँ मानिस पनि हुनुहुन्थ्यो भन्ने साक्षी बाइबल धर्मशास्त्रबाट प्रस्ट छः

१. उहाँ कन्याबाट जन्मनुभयो

“हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ” (मत्ती १:२३) । इम्मानुएल येशू हुनुहुन्थ्यो ।

२. उहाँ सामान्य तवरले हुर्कनुभयो  

अरू मानिसहरूजस्तै उहाँ मानसिक, शारीरिक, आत्मिक र सामाजिक रूपमा हुर्कनुभयो, “अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो” (लूका २:५२) ।

३. उहाँमा मानवीय गुणहरू थिए

  • उहाँ भोकाउनुभयो (मत्ती ४:२) ।
  • उहाँ थाक्नुभयो (यूहन्ना ४:६) ।
  • उहाँ तिर्खाउनुभयो (यूहन्ना ४:७) ।
  • उहाँ रुनुभयो (यूहन्ना ११:३५) ।

४. उहाँका मानवीय नाउँहरू थिए  

उहाँलाई “दाऊदका पुत्र” भनिएको छ जसले उहाँ राजा दाऊदको वंशबाट आउनुभएको थियो भनी अङ्कित गर्छ । उहाँलाई “येशू” (मत्ती १:२१), “मानिस” (१ तिमोथी २:५) भनिएको छ ।

एकातिर येशू पूर्ण मानिस हुनुहुन्थ्यो भने अर्कोतिर उहाँ पूर्ण परमेश्वर हुनुहुन्थ्यो ।

१. उहाँमा परमेश्वरमा मात्र हुने गुणहरू थिए  

उहाँ अनन्त (यूहन्ना ८:५९), सर्वव्यापी (मत्ती २८:२०), सर्वज्ञानी (यूहन्ना ४:२९), सर्वशक्तिमान् (यूहन्ना ११:३८-४४) हुनुहुन्थ्यो ।

२. उहाँले केवल परमेश्वरले गर्न सक्नुहुने कामहरू गर्नुभयो  

  • उहाँले पापको क्षमा दिनुभयो (मर्कूस २:१-१२) ।
  • उहाँले आराधनाको स्वीकार गर्नुभयो (यूहन्ना ९:३८) ।
  • उहाँले आश्चर्यकर्महरू गर्नुभयो (मत्ती ८:२७) ।
  • उहाँले अनन्त जीवन दिन सक्नुहुन्छ (यूहन्ना ५:२१) ।

३. उहाँलाई परमेश्वरका नाउँहरू दिइएका छन्  

  • उहाँलाई परमेश्वरका पुत्र भनिएको छ (यूहन्ना १०:३६) ।
  • उहाँलाई प्रभु/परमप्रभु भनिएको छ (मत्ती ७:२१) ।
  • उहाँलाई परमेश्वर भनिएको छ (यूहन्ना १:१)

यसरी, येशू ख्रीष्ट परमेश्वर र मानिस दुवै हुनुहुन्थ्यो भन्ने तथ्य बाइबलबाट काँचझैँ छर्लङ्ग छ । हामी मानव-जातिसित एउट मात्र स्वभाव (मानवीय) हुन्छ, तर उहाँमा मानवीय र ईश्वरीय दुवै स्वभाव थिए । येशू परमेश्वर-मानव हुनुहुन्छ ।

Facebook Comments

Powered by Youth Circle