येशू अलौकिक नियमद्वारा यस पृथ्वीबाट बिदा हुनुभयो

पुनरुत्थानपश्चात् ४० दिन यस धरतीमा बिताउनुभएपछि येशू स्वर्ग प्रस्थान गर्नुभयो जसलाई स्वर्गारोहण भनिन्छ । बाइबलमा अभिलिखित येशूको जीवनीलाई केलाउँदा उहाँको स्वर्गारोहणमा पनि येशू अद्वितीय हुनुहुन्छ ।

मर्कूसको पुस्तकमा लेखिएको छ, “तब यसरी तिनीहरूसँग बोलिसक्‍नुभएपछि प्रभु येशू स्‍वर्गारोहण हुनुभयो, र परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो” (मर्कूस १६:१९) ।

लूकाले व्यक्त गरेका छन्, “त्‍यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्‍म लैजानुभयो, र आफ्‍नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्‍वर्गमा लगिनुभयो” (लूका २४:५०-५१) ।

येशूको स्वर्गारोहणबारे यूहन्नाको सुसमाचारमा तीनवटा सन्दर्भ पाइन्छन् । “स्‍वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्‍वर्गमा उक्‍लेको छैन” (यूहन्ना ३:१३) । “तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ अघि थियो त्‍यहाँ उक्‍लँदैगरेको देख्‍यौ भने नि कसो ?” (यूहन्ना ६:६२) । पुनरुत्थानपश्चात् येशूले मरियम मग्दलिनीलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्‍म पिताकहाँ गएको छैनँ । तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ गइरहेछु'” (यूहन्ना २०:१७) ।

येशू कहाँबाट र कसरी स्वर्गारोहण हुनुभयो भनी प्रेरितको पुस्तकमा प्रस्टसँग उल्लेख गरिएको छ । पुनरुत्थानपश्चात् येशूले चेलाहरूलाई आज्ञा दिनुभएपछि, “तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो । जब तिनीहरूले उहाँ जाँदै गर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेता पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजीक खडा भए” (प्रेरित १:९-१०) । यो कुनै दृष्टान्त होइन, यो स्वर्गतर्फ उहाँको शारीरिक स्वर्गारोहण हो जहाँबाट उहाँ यस धरतीमा शासन गर्नको लागि आउनुहुनेछ, “… यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ” (प्रेरित १:११) ।

पत्रहरूमा विभिन्न खण्डहरूले पनि येशूको स्वर्गारोहणको चर्चा गर्छन् (रोमी ८:३४; एफिसी १:१९-२०; कलस्सी ३:१; फिलिप्पी २:९-११) ।

ख्रीष्टियान विश्वासको सारले ख्रीष्टको आश्चार्यमय शारीरिक स्वर्गारोहणलाई स्पष्टत: जोड दिएको छ ।

ख्रीष्टियान ईश्वरशास्त्रमा येशूको मृत्यु, पुनरुत्थान र स्वर्गारोहणलाई उहाँको जीवनका सर्वाधिक महत्त्वपूर्ण घटनाहरूको रूपमा हेरिन्छ । तसर्थ यी ख्रीष्टियान विश्वासका जग हुन् । जसरी येशू अलौकिक नियमद्वारा पृथ्वीमा आउनुभयो, त्यसै गरी उहाँ अलौकिक नियमद्वारा यस पृथ्वीबाट बिदा हुनुभयो । संसारमा येशूको प्रवेश जसरी आश्चार्यमय थियो, त्यसै गरी संसारबाट उहाँको प्रस्थान पनि आश्चर्यमय छ ।

Facebook Comments

Powered by Youth Circle