आदम र हव्वा पापमा फसेपछि परमेश्वरले सर्पलाई भन्नुभयो, “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्” (उत्पत्ति ३:१५) । यो मसीहको बारेमा भएको पहिलो भविष्यवाणी हो । यहाँ मसीहलाई “स्त्रीको सन्तान” भनिएको छ । मसीह कन्याबाट आउनुहुनेथियो भनी यस खण्डमा सङ्केत गरिएको छ ।
मसीह कन्याबाट जन्मनुहुनेथियो भनी यशैया अगमवक्ताले प्रस्ट रूपमा भविष्यवाणी गरे, “यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्या गर्भवती हुनेछ, र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इम्मानुएल राखिनेछ ।” यशैया आठौँ शताब्दी ख्रिस्टपूर्वका अगमवक्ता थिए जसले ७३४ ख्रिस्टपूर्वमा यो भविष्यवाणी बोलेका थिए । यस पदमा उल्लिखित शब्द ‘कन्या’ अङ्ग्रेजी ‘भर्जिन’ को अनुवाद हो जसलाई हिब्रू भाषामा ‘अल्माह’ भनिन्छ । अल्माहको अर्थ हुन्छ— विवाहको निम्ति ठिक पारिएकी केटी । बाइबलीय प्रयोगमा यो शब्दले कहिल्यै पनि ‘विवाहित स्त्री’ लाई जनाउँदैनथ्यो; यसले सधैँ ‘अविवाहित स्त्री’ लाई जनाउँथ्यो ।
इतिहासकार लूकाको विवरणअनुसार जकरियाकी पत्नी एलीशिबाले गर्भधारण गरेकी छैटौँ महिनामा गब्रिएल स्वर्गदूत मरियमकहाँ देखा परे । यस बेला योसेफसित मरियमको मगनी मात्र भएको थियो, विवाह भइसकेको थिएन । मरियम कन्या नै थिइन् । स्वर्गदूतले उनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ । अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ । उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन” (लूका १:३०-३३) । आफू कन्या (ग्रिकमा पार्थेनोस) छँदा नै यस्तो असाधारण कुरो कसरी हुन सक्थ्यो भनी मरियमले बुझ्न नसक्नु अस्वाभाविक थिएन । त्यसैले “कसरी” भन्ने उनको जिज्ञासाको जवाफ दिँदै स्वर्गदूतले भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ । यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ” (लूका १:३५) ।
येशू कन्या मरियमबाट जन्मनुहुँदा यशैयाको भविष्यवाणी पूरा भयो भनी मत्तीले सफासँग लेखेका छन्, “अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्: ‘हेर, एउटा कन्याले गर्भधारण गर्नेछिन्, र त्यसले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,’ जसको अर्थ हो, ‘परमेश्वर हामीहरूसँग'” (मत्ती १:२२-२३) ।
आफू कन्या छँदै जनगणनाको लागि योसेफसँगै बेथलेहेम गएकी मरियमले येशूलाई जन्म दिइन्, “तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेह्रेर डूँडमा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन” (लूका २:७) ।
पावलले पनि यसको आशय व्यक्त गरेका छन्, “तर समयको पूर्णतामा परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो । उहाँ एउटी स्त्रीबाट जन्मनुभयो, तथा व्यवस्थाको अधीनमा जन्मनुभयो” (गलाती ४:४) ।
यसरी, पतित मानव-जातिको लागि निष्पाप थुमाको खाँचो पर्ने भएकोले मसीह कन्याबाट जन्मनैपर्थ्यो र येशू कन्या मरियमबाट जन्मनुहुँदा उहाँको जन्मभन्दा ७०० वर्षअगि यशैया अगमवक्ताद्वारा बोलिएको वचन पूरा भयो ।