बालक येशूलाई भेट्न आउने ज्योतिषीहरू को थिए ?

यो सालको ख्रिस्टमस नजिकिँदै छ । हिजो हामीले यस साइटमा ख्रिस्टमसको तारा (जसलाई बेथलेहेमको तारा पनि भनिन्छ) को पहिचानको सम्बन्धमा अध्ययन गर्‍यौँ । ख्रिस्टमसको मौसममा ताराको विषयमा मात्र नभएर बालक येशूलाई भेट गर्न आउने ज्योतिषीहरूको पनि चर्चा हुने गर्दछ । यो रचना ती ज्योतिषीहरूको पहिचान, तिनीहरूको स्थान र प्राचीन प्यालेस्टाइनमा तिनीहरूको आगमनको समयसित सम्बन्धित छ ।

बाइबलीय विवरणले के भन्छ ?

ज्योतिषीहरू बालक येशूलाई भेट्न आए भन्ने तथ्यलाई केवल मत्तीको सुसमाचारले बताउँछ (मत्ती २:१–१२) । मत्तीको सुसमाचारअनुसार येशूको जन्मपश्चात् पूर्वका केही ज्योतिषीहरू यरूशलेम आए । बालकको जन्म बेथलेहममा भएको छ भन्ने जानेर तिनीहरू त्यतै लागे । उहाँको आराधना गरी तिनीहरूले आफूसित ल्याएका सुन, धूप र मूर्रका भेटी चढाए (पद ११) ।

तिनीहरू को थिए ?

नेपाली पवित्र बाइबलमा उल्लिखित शब्द “ज्योतिषीहरू” (पद १) अङ्ग्रेजी wise men (ग्रिकमा मागोई) को अनुवाद हो जसको अर्थ हुन्छ, “बुद्धिमान् मानिसहरू ।” तिनीहरूको पहिचानको सम्बन्धमा मध्यकालमा विभिन्न किँवदन्तीहरूको उदय भएका छन् । तिनीहरू राजाहरू थिए; तिनीहरूको सङ्ख्या तीन थियो र तिनीहरूका नाउँ कास्पर, बल्थासर र मेल्कोर थिए भनी परम्पराले बताउँछ । तर मत्ती २ अध्यायले तिनीहरूको सङ्ख्या, नाउँ र यात्राको निम्ति तिनीहरूले प्रयोग गरेका साधनको विषयमा केही बताएको छैन । तिनीहरू बुद्धिमान् मानिसहरू थिए जसले विशेष चिन्हहरूको अर्थ खोल्ने गर्थे । तिनीहरू हात हेरेर भविष्य बताउने सडकका ज्योतिषीहरू थिएनन् । तिनीहरू कुलीन घरानाका, शिक्षित, धनी र प्रभावशाली व्यक्तिहरू थिए । तिनीहरू दार्शनिकहरू थिए जसले शासकहरूलाई सरसल्लाह दिन्थे । निश्चय नै बालक येशूलाई भेट्न आउने यी मानिसहरू मूर्तिपूजकहरू थिएनन् बरु इज्जतदार मानिसहरू थिए ।

तिनीहरू कहाँबाट आए ?

पद २ ले भन्छ, “हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरूशलेममा आइपुगे ।” बाइबलले तिनीहरू पूर्वबाट आएका थिए भनेर मात्र बताउँछ । सम्भवतः तिनीहरू फारस (आधुनिक इरान) बाट आएका थिए । यसको अर्थ हुन्छ कि तिनीहरूले मुक्तिदातालाई हेर्न झन्डै ८०० माइलको यात्रा गरे । तिनीहरूले दानिएलको पुस्तकको बारेमा जानेका हुनुपर्छ जहाँ मसीहको जन्मको समयबारे भविष्यवाणी गरिएको छ (दानिएल ९:२४–२७) । वा यो पनि सम्भव छ कि तिनीहरू बालामको भविष्यवाणीबारे सचेत थिए जो फारस नजिकै पर्ने युफ्रेटिस नदीनेर अवस्थित पतोरका बासिन्दा थिए जसले प्रस्ट रूपमा ताराको उदयबारे भविष्यवाणी गरेका थिए, “याकूबबाट एउटा तारा आउनेछ” (गन्ती २४:१७) ।

तिनीहरू कहिले आइपुगे ?

येशू जन्मनुभएको साँझमा नै ज्योतिषीहरूले बालक येशूलाई डुँडमा भेटे भन्ने परम्परागत बुझाइमा खोट छ । ज्योतिषीहरूले बालकलाई डुँडमा भेटेका छैनन् तर घरमा (पद ११) । येशूलाई बालक भनिएको छ (ग्रिकमा पाइदिओन, पदहरू ९ र ११), भर्खरै जन्मेको शिशु (ग्रिकमा ब्रेफोस, लूका २:१२) होइन । [नोटः नेपाली भाषामा उपलब्ध पवित्र बाइबलमा लूका २:१२ मा पनि बालक नै भनी अनुवाद गरिएको छ । तर ग्रिकमा बालकको लागि मत्ती र लूकामा प्रयोग गरिएका शब्दहरू बेग्ला–बेग्लै छन्] । ज्योतिषीहरूले छकाएको ठानी हेरोद राजा रिसले चुर भए र तिनले “बेथलेहेम र त्यस इलाका भित्रका दुई वर्ष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए” (मत्ती २:१६) । ज्योतिषीहरू आइपुग्दा येशू भर्खरै जन्मनुभएको शिशु हुनुहुन्थेन भनी हेरोदको यस कदमबाट अनुमान लगाउन सकिँदैन र ? तब हामी भन्न सक्छौँ कि येशूको जन्म हुँदा त्यो तारा देखिएको हुनुपर्छ र ८०० माइलको यात्रा गरी यरूशलेमसम्म आइपुग्न तिनीहरूलाई महिनौँ (सायद वर्ष) लागेको हुनुपर्छ ।

बाइबलको वचनप्रति गम्भीर हुने विद्यार्थीले यसो भनी निष्कर्ष निकाल्नु मुनासिब हुन्छः येशूको जन्म हुँदा पूर्वका केही बुद्धिमान् मानिसहरूले आकाशमा अनौठो ज्योति देखे; महिनौँ लगाएर सयौँ माइलको यात्रा गरी तिनीहरू बालक येशूको दर्शन गर्न आए र तिनीहरूले आफूसित ल्याएका भेटीहरू संसारका मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई चढाए ।

Facebook Comments

Powered by Youth Circle