दुई हजार वर्षअगि एउटा दुर्गम गाउँमा एउटा निम्न स्तरकी स्त्रीबाट अलौकिक ढङ्गमा एउटा बालकको जन्म भयो । उहाँ अर्को गाउँमा हुर्कनुभयो जहाँ उहाँले सिकर्मीको रूपमा काम गर्नुभयो । उहाँ गरिबीमा बाँच्नुभयो । आफू बाँचेको मुलुकको सिमाना उहाँले जीवनमा एक पटक मात्र पार गर्नुभयो । उहाँसँग न धन-सम्पत्ति थियो न त प्रभावशाली व्यक्तित्वहरूले गर्ने कार्यहरू नै गर्नुभयो उहाँले । उहाँका नातेदारहरू विशिष्ट थिएनन् । तथापि आफ्नो शिशुवस्थामा उहाँले राजालाई भयभीत पारिदिनुभयो; आफ्नो बाल्यावस्थामा डाक्टरहरूलाई दङ्ग पारिदिनुभयो; आफ्नो प्रौढावस्थामा प्राकृतिक नियममाथि शासन गर्नुभयो । उहाँले पानीलाई दाखमद्यमा परिणत गरिदिनुभयो । शैतानद्वारा परीक्षित हुनुभए तापनि उहाँले कहिल्यै पाप गर्नुभएन । चिकित्सशास्त्र अध्ययन नगरीकनै उहाँले बिरामीलाई निको पार्नुभयो; दृष्टिविहीनलाई दृष्टि दिनुभयो; बैरोलाई सुन्ने बनाउनुभयो; कुष्टरोगीलाई चङ्गाइ गर्नुभयो; लङ्गडोलाई हिँड्न सक्ने बनाउनुभयो तरै पनि त्यसको सट्टामा उहाँले एक पैसा कसैबाट लिनुभएन ।
उहाँले कहिल्यै विवाह गर्नुभएन । आफ्नो जन्मस्थलबाट उहाँले कहिल्यै २०० माइलभन्दा बढी यात्रा गर्नुभएन । करिब ३३ वर्षको मात्र पुग्नुहुँदा दुई जना डाँकुको बिचमा उहाँलाई क्रूसमा मृत्युदण्ड दिइयो । उहाँलाई मृत्युदण्ड दिनेहरूले उहाँको सम्पत्तिको नाउँमा रहेको एउटै मात्र टुक्रा अर्थात् वस्त्रको लागि गोला हाले । उहाँलाई जुन चिहानमा गाडियो त्यो उहाँको आफ्नो थिएन । तीन दिनपश्चात् उहाँ मृतकहरूबाट पुनरुत्थान हुनुभयो । यसरी मृतकहरूबाट फेरि उठी आफूले दाबी गर्नुभएजस्तै परमेश्वरले पठाउनुभएका मुक्तिदातासाथै परमेश्वरका अवतारी पुत्रको रूपमा आफैलाई प्रमाणित गर्नुभयो ।
उहाँले कहिल्यै एउटै पुस्तक लेख्नुभएन तथापि उहाँको विषयमा लेखिएका पुस्तकहरू यति धेरै छन् कि कुनै पनि देशको सम्पूर्ण पुस्तकालयहरूमा ती अटाउँदैनन् । उहाँले कहिल्यै गीतको रचना गर्नुभएन तरै पनि सारा गीतहरूको लागि चाहिने विषयवस्तुभन्दा बढी विषयवस्तु जुटाउनुभयो उहाँले । उहाँ कहिल्यै सेमिनारी वा कलेजमा जानुभएन न त उहाँले कुनै कलेजको स्थापना गर्नुभयो तथापि उहाँले यति धेरै विद्यार्थीहरूको उत्पादन गर्नुभयो कि अन्य सबै कलेजका विद्यार्थीहरू एकत्रित गर्दा पनि तिनीहरूले घमण्ड गर्न सक्दैनन् । उहाँले कुनै सेनालाई सैनिक तालिम दिनुभएन, न सिपाहीलाई भर्ना लिनुभयो, न त आफैले बन्दुक चलाउनुभयो तथापि उहाँको आज्ञामा जति विद्रोहीहरू स्वेच्छाले समर्पित भए त्यति अन्य कुनै अगुवाको आज्ञामा भएको छैन । उहाँले कहिल्यै मनचिकित्सको अभ्यास गर्नुभएन तथापि सबै डाक्टरहरूले भन्दा उहाँले टुटेको हृदयलाई बढी निको पार्नुभयो ।
ग्रिस र रोमका विगतका घमण्डी राजनीतिज्ञहरूका नामहरू आए र गए । विगतका वैज्ञानिक, दर्शनशास्त्री र ईश्वरशास्त्रीहरूका नामहरू आए र गए तर उहाँको नाम झन्झन् वृद्धि हुँदै गइरहेको छ । उहाँको क्रूसारोहणको दृश्य र आजको पुस्ताबिचमा दुई हजार वर्षको अन्तर भए तापनि उहाँ अझै जीवित हुनुहुन्छ । हेरोदले उहाँलाई मार्न सकेन न त चिहानले उहाँलाई रोक्न सक्यो ।
दुई सहस्राब्दी बितिसकेको छ । आज पुनरुत्थान हुनुभएका उहाँ मानव–जातिको मुख्य व्यक्तित्व हुनुहुन्छ । उहाँको जन्मले अङ्ग्रेजी पात्रोलाई इतिहासको दुई भागमा विभाजन गर्छ । विश्वका विकसित देशहरूमा प्रत्येक हप्ताको एक दिन उहाँको सम्झनाको निम्ति छुट्टयाइन्छ । संसारभरि नै प्रत्येक वर्ष उहाँको जन्म र पुनरुत्थानको उत्सव मनाइन्छ । इतिहासमा अन्य कुनै व्यक्तिको जीवनी वा घटनाले भन्दा उहाँको जीवनीले गीत, पुस्तक, कविता र चित्रहरूको विषयवस्तुको लागि बढी सामग्रीहरू उपलब्ध गराएको छ । हाम्रो लागि जीवन अर्पण गर्नुहुने यी मानिसको सम्झनामा हजारौँ क्याम्पस, अस्पताल, अनाथालयसाथै अन्य सङ्घ-संस्थाहरू स्थापित गरिएका छन् । उहाँको नाउँ हो— येशू अर्थात् जिजस क्राइस्ट ।