अपहेलित अनाथबाट प्रेरणादायी व्यक्तित्व

आफ्ना पिता को हो भनी उनलाई थाहा छैन । उनी जन्मेको वास्तविक स्थल र मिति पनि उनलाई थाहा छैन । उनलाई आमाले कुनै नाउँ दिएकी थिइन् होला, तर त्यसबारे पनि उनी अनभिज्ञ थिइन् । उनकी आमाले उनलाई आफूसित हुर्काउन चाहिनन् । आमाले उनलाई रेलको प्लेटफर्ममा छाडिदिइन् जुन बेला उनी केवल चार या पाँच वर्षकि थिइन् ।

आफ्नो भन्ने कोही थिएन्, न आमा न बुबा न कुनै आफन्त । सानै उमेरदेखि उनले आफ्नो एकल जिन्दगीको आरम्भ गरिन्, रेलको प्लेटफर्मबाट ।

त्यस बेला कोरियाका सहरहरूमा अनाथ बाल बालिकाहरूको रेखदेख गर्ने संस्थाहरू नभएका होइनन्, तर उनी गाउँमा थिइन् । उनले खाने कुराहरू चोरेर पेट पाल्न थालिन् ।

उनकी आमा एसियाली थिइन् भने बुबा पश्चिमेली । उनी ठिमाहा थिइन् । त्यसैले अन्य केटाकेटीहरूले उनलाई अवहेलना गर्थे । किसानहरूका खानेकुरा चोरेकीले उनी तिनीहरूको गालीको सिकार बन्थिन् । हरेकको निम्ति उनी फोहोरीसाथै अपहेलित केटी थिइन् । उनी बेकम्मा थिइन्; उनी अशुद्ध थिइन्; उनको कुनै नाउँ थिएन; उनको कुनै पहिचान थिएन; उनको कुनै भविष्य थिएन, न त कुनै आशा थियो । समय बित्दै गएपछि उनले आफैलाई घृणा गर्न थालिन् ।

एक दिन उनले चोरी गर्दा कृषकहरूले उनलाई पक्रे र तिनीहरूले उनलाई प्रयोगमा नआएको इनारजस्तो पानीको तलाउमा फ्याँकिदिए । उनी मर्नेथिइन् भन्ने तिनीहरूले अपेक्षा गरेका थिए । उनी त्रसित भइन् किनकि उनलाई पौडन आउँदैनथ्यो । उनी गुहार माग्दै चिच्च्याइन् तर प्रतिध्वनिसिवाय केही फर्केर आएन । त्यो नै उनको अन्तिम दिन भन्ने लागेको थियो उनलाई । अन्तत: एउटी स्त्रीद्वारा उनको उद्धार गरियो ।

थुप्रै सङ्घर्षपश्चात् उनी कुनै एउटा अनाथलयमा आइपुगिन् । अमेरिकाबाट भर्खरै आएका मिसनरीहरू डेभिड र उनकी पत्नी जुडीले उनलाई धर्मपुत्रीको रूपमा पाल्न चाहे । तिनीहरूले उनलाई स्टिफाइन नाउँ दिए । उनी अमेरिका पुगिन् ।

स्टिफाइनका पिता डेभिड पास्टर थिए । अब उनले येशू ख्रीष्टको बारेमा सुन्ने मौका पाइन्; परमेश्वरको महान् अनुग्रहको बारेमा बुझ्ने मौका पाइन् । आफ्नो किशोर अवस्थामा उनी परमेश्वरको सन्तान बनिन् ।

आज स्टिफाइन फास्ट अनाथहरूको पक्षमा वकालत गर्ने प्रेरणादायी व्यक्तित्व बनेकी छन् । परमेश्वरले कसरी अनाथ केटाकेटीहरूको हेरचाह गर्नुहुन्छ भन्नाका लागि उनी जिउँदो साक्षी हुन् । उनले आफ्नो बारेमा एउटा पुस्तक प्रकाशित गरेकी छन् जसबाट हजारौँले उनको कथा पढ्न पाएका छन् । उनले आफ्नो कथालाई अमेरिकी राष्ट्रपतिसाथै अमेरिकी संसदसामु पनि प्रस्तुत गरिसकेकी छन् ।

Facebook Comments

Powered by Youth Circle