के मानवीय दिमागले बुद्धिमान् रचनाकारलाई अङ्कित गर्दैन र ?

मानवीय दिमाग पृथ्वीमा मात्र नभई सम्भवत: विश्वमा नै विद्यमान सबैभन्दा जटिल संरचना हो । यो खप्परभित्र भएको भौतिक संरचना हो । यो रासायनिक पदार्थ, एन्जाइम र हर्मोनहरूद्वारा बनेको हुन्छ जसलाई नाप्न र विश्लेषण गर्न सकिन्छ ।

जम्मा तीन पाउन्ड तौल भएको यो मानवीय दिमाग यति सानो ठाउँ भए तापनि यसमा नै हाम्रो सम्पूर्ण शिक्षा, स्मरण शक्ति, सञ्चारको क्षमता, भावना, मन पर्ने कुराहरूसाथै मन नपर्ने कुराहरू छुट्ट्याउन सक्ने क्षमता अटेको हुन्छ । यसका अतिरिक्त त्यही तीन पाउन्डको पदार्थले हाम्रो मुटुको ढुकढुकीलाई चालू राख्छ, अनि हाम्रो फोक्सोलाई सास फेर्न लगाउँछ ।

दिमागमा जोडिएका न्युरोनहरूलाई हाम्रो आकाशगङ्गामा भएका ताराहरूसँग तुलना गर्न सकिन्छ । तपाईंको दिमागमा एक खरबभन्दा बढी मस्तिष्क कोष न्युरोनहरू छन् र एक-एक न्युरोनको क्षमता सामान्य एउटा कम्प्युटरको जतिकै हुन्छ । मानवीय दिमागमा एक खरबभन्दा बढी विद्युतीय जोर्नीहरू हुन्छन् अनि यो भनेको संसारमा भएका सम्पूर्ण विद्युतीय उपकरणहरूमा उपलब्ध विद्युतीय जोर्नीहरूभन्दा बढी हो । सानो स्थानमा भएको ज्यादै ठुलो क्षेत्र हो, मानवीय दिमाग ।

मानवीय दिमागलाई कम्प्युटरसित तुलना गर्नु ठिकै होला तर हालसम्म कुनै पनि मानवनिर्मित कम्प्युटर न क्षमतामा न संरचनामा मानवीय दिमागसित तुलना गर्न सकिन्छ । के कम्प्युटरले सोच्न सक्छ ? के कम्प्युटर दिमागको तहसम्म पुग्न सक्छ ? कम्प्युटरहरू निर्माण गरिनुका कारणहरू छन् र तिनीहरूको गति र क्षमतामा निरन्तर वृद्धि गरिंदै छन् । तर मानवीय दिमागको तुलनामा कम्प्युटर ज्यादै तल्लो स्तरको उपकरण हो ।

तपाईं कुनै पनि विकसित सहरको कार्यालय, अस्पताल, स्कुलमा जानुस् । तपाईंले मानिसहरूलाई कम्प्युटरमा बसिरहेको भेट्टाउनुहुन्छ । कम्प्युटर दैनिक जीवनको अभिन्न अङ्ग बनेको छ । यो लेख तपाईंकहाँ आइपुग्नमा यसले ठुलो भूमिका खेलेको छ । सबै विवेकशील मानिसहरू सहमत छन् कि यी कम्प्युटरहरू हाम्रो यस पृथ्वीरुपी ग्रहमा समय, प्राकृतिक नियम र संयोगद्वारा आइपुगेको होइन ।

यसबाहेक हामीलाई थाहा छ कि मानवीय दिमागले तर्क गर्न सक्छ र सोच्न सक्छ अर्थात् यसमा आत्मजागरुकता छ । कम्प्युटरले दर्जनौं कार्यहरू गर्न सक्छ र जटिल कार्यहरू गर्न त्यो सक्षम छ तर मानिसबाट निर्देशित नभइकन होइन । कम्प्युटरमा तर्क गर्ने क्षमता हुँदैन जस्तो मानवीय दिमागमा हुन्छ ।

यदि कम्ती जटिल कम्प्युटरको लागि निर्माणकर्ताको आवश्यकता पर्छ भने अपरिमित रूपमा जटिल मानवीय दिमागको लागि के रचनाकारको आवश्यकता पर्दैन र ? हाम्रो दिमागको अचूकपना र जटिलता अनि हाम्रो समझसित अन्तरक्रिया गर्न सक्ने यसको क्षमताले स्पष्टत: बुद्धिमान् रचनाकारलाई देखाउँछ ।

निष्कर्षमा, हालसम्म निर्मित कुनै पनि कम्प्युटरभन्दा दिमाग अकल्पनीय रूपमा जटिल भएकोले र यो आफै उत्पन्न हुन नसक्ने भएकोले यसको पछाडि बुद्धिमान रचनाकारको हात हुनैपर्छ जसलाई हामी परमेश्वर भन्छौँ ।

Facebook Comments

Powered by Youth Circle