कसले बनायो परमेश्वरलाई ?

यदि यो सम्पूर्ण विश्वलाई परमेश्वरले रचना गर्नुभयो भने परमेश्वरलाई चाहिँ कसले बनायो ? सुरुमा यो प्रश्न निकै आकर्षक र स्वाभाविक देखिए तापनि यस आलेखको अन्त्यतिर तपाईंले पत्ता लगाउनुहुनेछ कि यो तर्कसङ्गत छैन ।

यसरी सुरु गरौँ । यो सारा विश्व (अर्थात् युनिभर्स) कि अनन्त छ कि यसको आरम्भ भएको छ । अनन्त भन्नुको अर्थ हुन्छ कि यो विश्व सधैँभरि अस्तित्वमा रहिआएको छ र यसको सुरु पनि छैन र अन्त्य पनि छैन । लामो समयसम्म विश्व अनन्त छ भन्ने अवधारणालाई स्वीकार गरिएको भए तापनि अहिले प्रायः सबै वैज्ञानिकले यस अवधारणालाई इन्कार गर्छन् । किन ? यहाँ तीनवटा वैज्ञानिक कारण पेस गरिएका छन्ः

(क) ख्रिस्टाब्द १९१५ मा प्रतिपादित अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षवादको सिद्धान्तले भन्छ कि सम्पूर्ण समय, सम्पूर्ण अन्तरिक्ष र सम्पूर्ण पदार्थको आरम्भ छ ।

(ख) क्यालिफोर्नियाको पासाडेनास्थित माउन्ट विलसन वेधशालामा गएर हेर्ने हो भनी हामी देख्छौँ कि यो सारा विश्व चारैतिर भकुण्डोझैँ फैलिरहेको छ । यदि यो अहिले फैलिरहेको छ भने तर्कशास्त्र र गणितअनुसार हामी जति विगततर्फ जान्छौँ त्यति नै यसको खुम्चाइतर्फ पछाडि सर्छौं अनि यसको प्रारम्भिक चरण अर्थात् शून्यतामा पुग्छौँ ।

(ग) यदि महाविस्फोट घटेको थियो भने त्यसको विकिरण फेला पारिनुपर्छ भनी वैज्ञानिकहरूले अपेक्षा गरेका थिए । ख्रिस्टाब्द १९६५ मा वैज्ञानिकद्वय अर्नो पेन्जिस र रोबर्ट विलसनले उक्त विकिरणलाई अनपेक्षित रूपमा पत्ता लगाए ।

तब यी तीनवटा वैज्ञानिक साक्षीले यो विश्व अनन्त छैन तर यसको आरम्भ भएको थियो भनी पुष्टि गर्छन् । यसलाई वैज्ञानिक भाषामा महाविस्फोट भनिन्छ ।

शून्यताबाट कुनै पनि वस्तुको स्वतः उदय हुन नसक्ने भएकोले यो विश्वको उत्पत्तिको लागि कारण हुनैपर्छ र त्यो कारण अनन्त हुनैपर्छ । उक्त कारणलाई हामी परमेश्वर भन्छौँ ।

अब प्रश्नमा जाऔँ: कसले बनायो परमेश्वरलाई ? उहाँलाई कसैले बनाएन । उहाँ असृजित हुनुहुन्छ । उहाँ सधैँभरि अस्तित्वमा हुनुहुन्छ । उहाँको कुनै आदि छैन न त अन्त्य नै । उहाँलाई बनाइनु आवश्यक छैन । उहाँ स्वअस्तित्ववान् हुनुहुन्छ ।

अनन्त अस्तित्वलाई “कसले बनायो ?” भनेर सोध्नु अर्थहीन हुन्छ । यो भनेको अविवाहित केटोकी श्रीमती को हो ? वा रातो रङको स्वाद कस्तो हुन्छ ? वा कानले कहाँ हेरेको ? भनेजस्तै हो । निष्कर्षमा, यो विश्व अनन्त नभएकोले परमेश्वर अनन्त हुनुहुन्छ र अनन्त अस्तित्वलाई कसले बनायो भनेर प्रश्न गर्नु तर्कसङ्गत हुँदैन ।

Facebook Comments

Powered by Youth Circle