ख्रीष्टियान बनेपछि मुखियाद्वारा आफ्नै पिताको हत्यारालाई क्षमा

उत्तर अमेरिकामा पर्ने एउटा देशको नाउँ हो, क्यानडा । यो राष्ट्रको पश्चिममा अल्बर्टा नाउँ गरेको प्रान्त पर्दछ । त्यहाँ क्रि नाउँ गरेका जातिका मुखिया बस्थे जसको नाउँ हो— मास्केपेटुन । तिनको जन्म करिब १८०७ मा भएको थियो । तिनी आफ्नो जातिका परिचित अगुवा मात्र नभएर योद्धा पनि थिए । तिनी रिसाहा प्रवृत्तिका थिए । भनिन्छ, तिनको युवा जोसमा तिनले आफ्नै पत्नी सुसेविस्कलाई जिउँदै काटेका थिए ।

ख्रिस्टाब्द १८४० को दसकमा मास्केपेटुन ख्रीष्टियान मिसनरी रोबर्ट तेरिल रन्डलको प्रभावमा परे । ती मिसनरीले क्रि जातिका मानिसहरूलाई पढ्न र लेख्न सिकाए । यो सम्बन्धको नतिजास्वरूप मास्केपेटुन शान्तिको पक्ष पोषक बने । मौका आउनेबित्तिकै तिनले आफ्ना शत्रुहरूसित शान्ति कायम राख्ने कोसिस गरे र आफ्ना युवाहरूलाई लडाइँ नगर्न सुझाव दिए ।

पहिलो पटक येशू ख्रीष्टको सुसमाचार लिएर मिसनरीहरू यस प्रान्तमा आइपुग्दा मास्केपेटुनले मिसनरीहरूलाई निर्दयतापूर्वक विरोध गरे तापनि परमेश्वरले तिनको हृदयमा बिस्तारै काम गरिरहनुभएको थियो । एउटा यस्तो समय आयो जुन बेला तिनले आफ्नो जीवन येशूमा अर्पण गरे । अब तिनी ख्रीष्टियान विरोधी रहेनन्, बरु ख्रीष्टियान मूल्य मान्यतालाई अङ्गाल्ने ख्रीष्टका सेवक बने ।

मास्केपेटुनले येशूमाथि विश्वास गरेको केही समय बितेपछि ब्ल्याकफुट नाउँ गरेको जातिको एक जना सदस्यले ती मुखियाको पिताको हत्या गरिदियो । मास्केपेटुन त्यस हत्याराको गाउँमा गए र उसलाई तिनको सामु हाजिर गराइयोस् भनी अनुरोध गरे । त्यस दोषी मानिसलाई मुखियाले भने, “तपाईंले मेरा पिताको हत्या गर्नुभएको छ । त्यसैले अब तपाईं नै मेरा पिता हुनुपर्छ । तपाईं मेरो सबैभन्दा उत्तम घोडामा सवार हुनुपर्छ र तपाईंले मेरो सबैभन्दा उत्तम वस्त्र धारण गर्नुपर्छ ।” तीन छक खाँदै पश्चात्तापले लज्जित भएर मुखियाका शत्रुले भन्यो, “मेरो छोरो, अब तपाईंले मलाई मार्नुभएको छ!” तिनको भनाइको अर्थ यही थियो कि तिनको हृदयमा भएको घृणा ती मुखियाको क्षमा र दयाको कारणले पूर्णत: हटेर गएको थियो ।

आफ्ना शत्रुलाई पनि क्षमा दिनुपर्छ भन्ने येशूको शिक्षालाई ती मुखियाले वास्तवमै आफ्नो जीवनमा उतारेका थिए । १८६९ मा तिनको निधन भएको थियो । विविध लेखहरूमा तिनी नायक भएका छन् । यिनै शान्तिका पक्ष पोषकको सम्झनामा १९५७ मा अल्बर्टामा मास्कपेटुन पार्कको स्थापना गरिएको थियो । येशूलाई अङ्गाल्नुअगि तिनी युद्धको पक्षमा खडा हुन्थे भने येशूलाई पाएपछि तिनी शान्तिको पक्षमा वकालत गर्ने नायक बनी यस धरतीबाट बिदा भए ।

Facebook Comments

Powered by Youth Circle