यशैया २०:१-२ मा लेखिएको छ, “जुन साल अश्शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्च सेनापतिले अश्दोदमा आएर आक्रमण गरी त्यो कब्जा गरे, त्यस बेला परमप्रभुले आमोजका छोरा यशैयाद्वारा बोल्नुभयो । उहाँले तिनलाई यसो भन्नुभयो, ‘जा, तेरो शरीरबाट भाङ्ग्रा उतार् र तेरा खुट्टाबाट जुत्ता फुकाल् ।’ अनि तिनले त्यसै गरे, र तिनी नाङ्गै र खालि खुट्टा हिँड्न लागे ।”
पूरै बाइबलमा अश्शूरी राजा सर्गानको नाउँ यही खण्डमा मात्र एक पटक उल्लेख गरिएको छ । २ राजा १७:६ मा तिनलाई “अश्शूरका राजा” भनिएको छ । अन्य कुनै प्राचीन साहित्यमा सर्गानको नाउँ उल्लेख भएको पाईंदैन । अश्शूरी साम्राज्यबाट मनग्गे शिलालेखहरू र पुरातात्त्विक खोजहरू फेला पारिएका छन् तर ती खोजमा पनि यी राजाको नाउँ कतै पाइएको थिएन । त्यसैले विद्वान्हरूले निष्कर्ष निकाले कि सर्गानको नाउँ उल्लेख गरेकाले कि लेखक यशैया भुलमा हुनुपर्छ कि भने सर्गान अश्शूरी राजाको अर्को नाउँ हुनुपर्छ । बाइबलमा नै गल्ती छ भनी बाइबलका आलोचकहरूले निर्धक्कसँग निष्कर्ष निकालेका थिए ।
तर ख्रिस्टाब्द १८४३ को पुरातात्त्विक खोजले बाइबलका आलोचकहरूमाथि वज्रपात प्रहार गर्यो । पावल इमाइल बोट्टाले इराकको आधुनिक खोर्साबाद भन्ने ठाउँमा राजा सर्गानको दरबार नै फेला पारे । यस खोजसँगै एक पटक काल्पनिक ठानिएका राजा सर्गान आलोचकहरूको दृष्टिकोणमा पनि ऐतिहासिक भएको पुष्टि भएको छ । सर्गानले ७२२-७०५ ख्रिस्टपूर्वसम्म शासन गरेका थिए । अश्शूरको प्राचीन राजधानी निनवेमा तिनको बारेमा कुनै सङ्केत फेला नपारिनुको कारणचाहिँ यही हो कि तिनले आफ्नो महल निनवेमा नभई दुर सरुकिन (इराकको आधुनिक खोर्साबाद) मा ठड्याएका थिए । पुरातात्त्विक खोजले तिनको ऐतिहासिकलाई मात्र पुष्टि गरिदिएको छैन तर यशैया २०:१-२ मा उल्लेख भएझैँ अश्दोदमाथि तिनको कब्जालाई तिनले आफ्नो महलका भित्ताहरूमा कुँदेका पनि प्रमाणित गरिदिएको छ । फेला पारिएको एउटा शिलालेखमा यसरी लेखिएको छ, “अश्शूरका राजा सर्गान जसले सामरिया र इस्राएलको पूरै क्षेत्रमाथि कब्जा गरे, अश्दोदका मानिसहरूलाई निर्वासनमा लगे ।”
यसरी कैयौँ वर्षसम्म प्रश्न तेर्साइएको बाइबलको खण्डलाई उन्नाइसौँ शताब्दीको पुरातात्त्विक खोजले ऐतिहासिक प्रमाणित गरी बाइबलका आलोचकहरूको मुख बन्द गरिदिएको छ ।