नाबोनिदस नवबेबिलोनी साम्राज्यका राजा थिए जसले ५५६-५३९ ख्रिस्टपूर्वसम्म शासन गरे । ५३९ ख्रिस्टपूर्वमा फारसका राजा कोरेसद्वारा तिनको पराजयसँगै नवबेबिलोनी साम्राज्य ढल्न पुग्यो । तसर्थ ख्रिस्टियानेतर इतिहासले तिनलाई नै नवबेबिलोनी साम्राज्यका अन्तिम राजाको रूपमा उल्लेख गर्दै आएको थियो । तर दानिएलको विवरणअनुसार बेलसजर अन्तिम राजा भएको जस्तो देखिन्छ, “बेलसजर राजाले आफ्ना एक हजार जना भारदारहरूलाई एक ठूलो भोज दिए र उनीहरूसित उनले दाखमद्य पिए” (दानिएल ५:१) ।
केही इतिहासकारहरूले बाइबलमा उल्लिखित राजा बेलसजरलाई काल्पनिक पात्र ठानेका थिए । बाइबलभन्दा बाहिरको कुनै पनि स्रोतले बेलसजरलाई बेबिलोनी राजाहरूको सूचीमा समावेश नगरेकोले र ख्रिस्टियानेतर इतिहासअनुसार नाबोनिदस नै नवबेबिलोनी साम्राज्यका आखिरी राजाको रूपमा देखिएकोले दानिएलको विवरणमा त्रुटि छ भनी बाइबलका आलोचकहरूले निष्कर्ष निकाल्दै आएका थिए ।
तर ख्रिस्टाब्द १८५४ को पुरातात्त्विक खोजले बाइबलका आलोचकहरूको त्यस निष्कर्षलाई गतिलो जवाफ दिएको छ । जे. ई. टेलरले ऊर भनिने बाइबलीय सहर (आधुनिक इराकमा पर्ने) को निरीक्षण गर्दा तिनले माटोले बनेका चारवटा सिलिन्डर फेला पारे । छैटौँ शताब्दी ख्रिस्टपूर्वमा नाबोनिदसद्वारा यी सिलिन्डरहरूमा लिखित कीलाक्षरी लेखनले भवनहरूको पुनर्निर्माणसाथै इतिहासबारे चर्चा गर्छन् । इतिहासकारहरूका लागि सबैभन्दा चकित पार्ने कुरो नाबोनिदसका जेठा छोरा बेलसजरको उल्लेख हो ।
बाइबलभन्दा बाहिर राजा बेलसजरको नाउँलाई उल्लेख गर्ने यो पहिलो सन्दर्भ हो । अहिले हामीलाई प्रस्ट रूपमा थाहा छ कि बेलसजर नाबोनिदसका जेठा छोरा थिए जसले आफ्ना पिता बेबिलोनभन्दा बाहिर छँदा प्रति-शासकको रूपमा राज्य चलाएका थिए । दानिएललाई राज्यको दोस्रो नभई किन “तेस्रो सर्वोच्च शासक” (दानिएल ५:२९) भनी घोषणा गरियो भनेर पनि यसले व्याख्या गर्दछ । यसरी बाइबलीय विवरण र पुरातात्त्विक खोजबाट हामी निष्कर्ष निकाल्न सक्छौँ कि नाबोनिदस र बेलसजर क्रमश: राजा र प्रति-शासक थिए । यस खोजले निर्वावाद रूपमा बाइबलको ऐतिहासिक सच्चाइलाई पुष्टि गरेको छ ।