याकूबको अस्थि-बाकस— नयाँ करारको पुरातात्त्विक इतिहासमा सर्वाधिक महत्त्वपूर्ण खोज

ख्रिस्टाब्द २००२ मा संसारलाई तीन छक पार्ने चुन ढुङ्गाबाट निर्मित एउटा अस्थि-बाकस फेला पारिएको उद्घोष गरियो । इस्राएलको यरूशलेममा फेला पारिएको उक्त अस्थि-बाकसमा प्राचीन आरमेइक भाषामा प्रस्ट रूपमा लेखिएको थियो— “याकूब, योसेफका पुत्र, येशूका भाइ ।” यो यति महत्त्वपूर्ण खोज थियो कि अङ्ग्रेजी पत्रिका टाइमले यसलाई “नयाँ करारको पुरातात्त्विक इतिहासमा सर्वाधिक महत्त्वपूर्ण खोज” भनेको छ । पुरातत्त्वविद्हरू विश्वास गर्छन् कि यो खोज “ख्रिस्टियमतको इतिहासमा तीन जना महत्त्वपूर्ण पात्र अर्थात् येशू, याकूब र योसेफको विषयमा बताउने सबैभन्दा अगिल्लो पुरातात्त्विक प्रमाण” हो । यो अस्थि-बाकसमा कुनै समयमा येशूका भाइ याकूबका हड्डीहरू हुन सक्ने अनुमान तर्कसङ्गत नै छ ।

चुन ढुङ्गाबाट निर्मित यो अस्थि-बाकसको लमाइ २० इन्च छ भने उचाइ लगभग १२ इन्च । मासु सडेपछि हड्डीहरू जम्मा गर्न यो आकारको बाकस पर्याप्त थियो । यहूदीहरूले लाशलाई गुफामा गाड्ने गर्थे अनि एक वर्ष बितेपछि हड्डीहरूलाई यस्तै किसिमको चुन ढुङ्गाबाट बनेको बाकसभित्र राख्थे । बाकसको बाहिरपट्टि मृतक र उसको बुबाको नाउँ लेख्ने चलन थियो । तर यो बाकसमा किन दाजु (येशू) को नाउँ पनि लेखिएको छ त ? किनकि येशू पहिलो शताब्दीको प्रसिद्ध व्यक्ति हुनुहुन्थ्यो । २० ख्रिस्टपूर्वदेखि ख्रिस्टाब्द ७० सम्म यहूदीहरूले यस्ता अस्थि-बाकसहरूको प्रयोग गरेका थिए । स्मरण रहोस्, ख्रिस्टाब्द ७० मा रोमीहरूले यरूशलेमको मन्दिरलाई नष्ट पारेका थिए ।

यहूदी इतिहासकार योसिफसअनुसार ख्रिस्टाब्द ६२ मा याकूब यरूशलेममा सहिद भए । यस चुन ढुङ्गाको बाकसबारे गरिएको जाँच, शिलालेखमाथिको गतिलो अध्ययन र लेखन शैली सबैले नै यो बाकस येशूका भाइ याकूबको निधन भएको समयतिरको हो भनी समर्थन गर्छन् ।

यो विस्मयकारी आविष्कारसँगै एउटा महत्त्वपूर्ण प्रश्नको उदय हुन्छ— के यस शिलालेखमा उल्लिखित येशू ख्रिस्टियमतका संस्थापक येशू नै हुनुहुन्छ त ? बाइबलको समयमा येशू, याकूब र योसेफजस्ता नाउँहरू सामान्य भए तापनि विद्वान्‌हरूको भनाइअनुसार यी तीन जनाको नाउँ जुन सम्बन्धमा लेखिएको छ त्यसलाई अध्ययन गर्दा यी बाइबलीय पात्रहरू नै हुन् भनी आशङ्का गर्नुपर्दैन । बाइबलले चित्रण गरेजस्तै यो अस्थि-बाकसको शिलालेखले याकूब, योसेफ र येशूको पारिवारिक सम्बन्धलाई सटिक ढङ्गमा प्रस्तुत गरेको छ ।

Facebook Comments

Powered by Youth Circle