एब्ला आलेखहरू— बाइबलसित सम्बन्धित ४,५०० वर्ष पुराना साक्षीहरू

बाइबलीय पुरातत्त्वविद्याको क्षेत्रमा एब्ला लेखहरूको उल्लेखनीय महत्त्व रहेको छ । यस खोजले बाइबलीय ज्ञानमा थप प्रकाश छर्ने काम गरेको छ ।

माटोले बनेका १,८०० ओटा पत्रहरू, ४,७०० टुक्राहरू र अन्य हजारौँ ससाना चोइटाहरूको सङ्ग्रहलाई दिइएको नाउँ हो, एब्ला आलेखहरू । सिरियाको एब्ला नाउँ गरेको प्राचीन सहरमा यो खोज पत्ता लागेको थियो । उत्खननको क्रममा इटालीका पुरातत्त्वविद् पावलो मत्तिया र उनको दलले ख्रिस्टाब्द १९७४-१९७५ मा यी शिलालखेहरू फेला पारेका हुन् । यी सबै माटोका पत्रहरू २,५००-२,२५० ख्रिस्टपूर्वको बिचमा रचना गरिएका थिए । यी शिलालेखहरूलाई हाल सिरियाका विभिन्न सङ्ग्रहालयहरूमा राखिएका छन् ।

बाइबलसित यस महत्त्वपूर्ण खोजको के सम्बन्ध रहेको छ त ? दस्तावेजी सिद्धान्तका प्रतिपादकहरूले विगतमा सिकाउँदै आएका थिए कि मोशाको समय (१,४०० ख्रिस्टपूर्व) मा लेख्ने चलनको विकास भइसकेको थिएन । त्यसैले बाइबलका ती अगिल्ला पाँचवटा पुस्तक १,४०० ख्रिस्टपूर्वतिर मोशाले नभई धेरै शताब्दीपछि अरूहरूले तयार पारेका हुन् भनी तिनीहरूले दाबी गर्दै आएका थिए । तर एब्ला आविष्कारले छर्लङ्ग पारेको छ कि मोशाभन्दा हजार वर्षअगि नै व्यवस्था, रीतिरिवाज र घटनाहरूलाई लेखेर राखिँदोरहेछ ।

एब्ला आविष्कारको अर्को महत्त्वपूर्ण योगदान उत्पत्ति १४ अध्यायसित जोडिएको छ जुन अध्यायलाई वर्षौंसम्म ऐतिहासिक ठानिएको थिएन । यस अध्यायले एलामका राजा कदोर्लाओमेरसाथै मेसोपोटामियाका अन्य राजाहरूमाथि अब्राहामको विजयलाई उल्लेख गर्दछ । यी राजाहरूलाई काल्पनिकसाथै सदोम, गमोरा, अदमा, सबोयीम र सोअरजस्ता बेँसीका पाँचवटा सहरलाई मिथ्या ठानिएको थियो । उत्पत्ति १४ अध्यायमा लेखिएको छ, “तब सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका (अर्थात् सोअरका) राजाहरू निस्केर सिद्दीमको बेँसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्मा भए । एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योकसित, यी पाँच राजाहरूका विरुद्धमा चार राजाहरू” (उत्पत्ति १४:८-९) । तर एब्ला पत्रहरूले बेँसीका यी पाँचवटै सहरको नाउँ उल्लेख गरेका छन्, त्यो पनि उत्पत्ति १४ अध्यायले जस्तै उही क्रममा ।

इतिहाससित जोडिएका बाइबलका कतिपय विवरणहरूलाई बाइबलका आलोचकहरूले विश्वसनीय ऐतिहासिक अभिलेखको रूपमा इन्कार गर्दै आएको भए तापनि एकातिर पुरातात्त्विक खोज बाइबलीय विवरणसित मेल खाएको छ भने अर्कोतिर यसले बाइबलका ती विवरणहरूलाई ऐतिहासिक अभिलेखको रूपमा पुष्टि गरिदिएको छ ।

Facebook Comments

Powered by Youth Circle