मृत सागरका मुट्ठाहरू— बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज

ख्रिस्टाब्द १९४७-१९५६ सम्ममा मृत सागरको उत्तर-पश्चिमपट्टि अवस्थित एघार ओटा गुफामा पत्ता लगाइएका झन्डै ९८१ ओटा पाण्डुलिपिका टुक्राको सङ्ग्रहलाई मृत सागरका मुट्ठाहरू भनेर चिनिन्छ । कुमरान भनेर चिनिने यो क्षेत्र यरूशलेमदेखि १३ माइल पूर्वमा र समुद्री सतहदेखि १,३०० फिट तल पर्छ ।

धेरैले यसलाई बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज भनेका छन् । यी पाण्डुलिपिहरूको ऐतिहासिक, धार्मिक र भाषिक महत्त्व रहेका छन् । यहूदी धर्म र ख्रिस्टियमतबारे भएको हाम्रो ज्ञानलाई यस आविष्कारले औधी वृद्धि गरेको छ । एस्तरको पुस्तकबाहेक पुरानो करारको प्रत्येक पुस्तकको टुक्रा फेला पारिएको छ । गुफा नम्बर १ मा त यशैयाको पूरै पुस्तक फेला पारिएको थियो । मृत सागरका मुट्ठाहरूको खोजसँगै हामीसँग भएका पाण्डुलिपिहरूभन्दा झन्डै एक हजार वर्षअगि पुग्न सफल भएका छौँ हामी ।

पत्ता लगाइएका अधिकांश पाण्डुलिपिहरू हिब्रू भाषामा लेखिएका छन् भने ग्रिक र आरमेइक भाषामा लेखिएका केही प्रतिलिपिहरू पनि फेला पारिएका छन् ।

यी सामग्रीहरू तेस्रो शताब्दी ख्रिस्टपूर्वको आरम्भ र ख्रिस्टाब्द पहिलो शताब्दीको उत्तरार्द्धको बिचमा तयार पारिएका थिए भनी विद्वान्‌हरू सहमत छन् । यसको अर्थ हुन्छ कि यी पाण्डुलिपिहरू झन्डै २००० वर्षसम्म ती गुफाहरूमा सुरक्षित रहे । एसिएनहरू भनेर चिनिने यहूदी सम्प्रदायले यी मुट्ठाहरूलाई तयार पारेर त्यहाँ राखेका थिए ।

वास्तवमा यी मुट्ठाहरू पत्ता लगाइएका पुरानो करारका सर्वाधिक प्राचीन पाण्डुलिपिहरू हुन् । हाल विद्यमान पुरानो करारको पाठयपुस्तक सही तरिकाले प्रतिलिपि हुँदै हामीकहाँ आइपुगेको रहेछ भनी यस खोजले उदाङ्गो पारेको छ । पुरानो करारको विश्वसनियतामाथि आशङ्का गर्नेहरूलाई यस उदेकको खोजले लज्जित तुल्याइदिएको छ ।

पुरातत्त्वविद् डा. ब्रायन्ट वूडले भनेका छन्, “सम्भवत: मृत सागरका मुट्ठाहरूको सर्वाधिक बाइबलीय प्रभाव छ । हाम्रो पहिलेको प्राचीनतम पाण्डुलिपिभन्दा तिनले झन्डै १,००० वर्ष प्राचीन पुरानो करारका पाण्डुलिपिहरू जुटाएका छन् । यो अन्तरालमा पुरानो करार ठिक प्रकारले सम्प्रेषण गरिएको रहेछ भनी मृत सागरका मुट्ठाहरूले पुष्टि गरेका छन् । यसका अतिरिक्त, ख्रीष्टको जीवनको समय र त्यस अगिको पृष्ठभूमिबारे तिनले प्रचुर जानकारी उपलब्ध गराउँछन् ।”

Facebook Comments

Powered by Youth Circle