१२ जुन १९५० मा मार्भिन ओलास्कीको जन्म अमेरिकामा यहूदी परिवारमा भएको थियो । तर तिनी किशोर अवस्थामा नास्तिक बने । कलेजमा मार्क्सवादको शिष्य बनी ख्रिस्टाब्द १९७२ मा तिनी कम्युनिस्ट पार्टी युएसएमा लागे । त्यही समयतिर तिनले बिहे गरे; सम्बन्धविच्छेद गरे । तिनको आफ्नै स्वीकारमा तिनले दस आज्ञाको “हत्या नगर्नू” भन्ने आज्ञासिवाय हरेक आज्ञाको उल्लङ्घन गरे । अनैतिकताले भरिएको जीवन जिएका मार्भिन बिस्तारै मार्क्सवादबाट वाक्क हुन थाले । तिनलाई मार्क्सवादी अवधारणाहरू चरम लाग्न थाले । त्यहाँ जे पनि गर्न मिल्ने भो भन्ने तिनको बुझाइ थियो । तसर्थ जीवनको उद्देश्य तिनले त्यस वादमा भेट्टाउन सकेनन् । अन्तत: तिनले कम्युनिस्ट पार्टीलाई त्यागिदिए ।
जीवनमा उद्देश्य खोजी हिँडेका मार्भिनले बाइबलको नयाँ करारका अतिरिक्त ख्रीष्टियानहरूले लेखेका अन्य मनग्गे पुस्तकहरू पढे । तिनले खोजेका शान्ति र उद्देश्य तिनले बाइबलका पानाहरूमा फेला पारे र ख्रिस्टाब्द १९७६ मा तिनी ख्रीष्टियान बने ।
मिचिगन विश्वविद्यालबाट १९७६ मा अमेरिकी संस्कृतिबारे विद्यावारिधि गरेका ओलास्की १९९० मा अमेरिकामा प्रकाशित हुने वर्ल्ड नामक परिचित पत्रिकामा काम गर्न थाले र २००१ मा यसको प्रधान सम्पादक बने । यो पत्रिका ख्रीष्टियान विश्वासको फैलावटमा समर्पित छ । १९९६ देखि तिनी मण्डलीको एल्डर पनि भएका छन् । तिनी बिसवटाभन्दा बेसी कृतिका लेखक हुन् ।
प्रेस स्वतन्त्रता ख्रीष्टियान उदय हो भनी जोड दिने मार्भिनको सबैभन्दा प्रसिद्ध पुस्तकको नाउँ होः द ट्र्याजिडी अफ अमेरिकन कम्प्यासन । गरिबहरूको हेरचाह गर्नु व्यक्तिहरूसाथै सङ्घ-संस्थाहरू र खास गरी ख्रीष्टियान मण्डलीहरूको जिम्मेवारी हो भनी लेखकले यस पुस्तकमा व्यक्त गरेका छन् । गरिबहरूलाई सहायता पुर्याउन सरकारका कार्यक्रमहरू पनि चालु छन् तर ती अप्रभावकारी छन् किनकि ती गरिबहरूसित जोडिएका हुँदैनन्, जब कि निजी सहायता व्यक्तिसित सम्बन्धित हुने भएकोले यसमा जीवन परिवर्तन गर्ने शक्ति हुन्छ भनी तिनी तर्क गर्छन् ।
नास्तिकवादसाथै मार्क्सवादलाई त्यागी ख्रीष्टियान विश्वासलाई अङ्गालेका मार्भिनले के हात पारे ? मनग्गे प्राप्तिहरूका अतिरिक्त एउटा सफल जीवन जुन तिनले कहिल्यै प्राप्त गर्न सक्दैनथ्ये ।
Reasons to Believe KamalAdhikari.com.np 


